PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश २ मा नेपाल समूहले संसदीय दलको नेतामा शत्रुधन महतोलाई गर्‍यो चयन



सुमित मिश्र

प्रदेश २ मा नेपाल समूहले संसदीय दलको नेतामा शत्रुधन महतोलाई गर्‍यो चयन

जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेको माधव नेपाल समूहले छुट्टै संसदीय दलको नेता चयन गरेको छ। नेपाल पक्षको आइतवार बसेको बैठकले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको हो।

आइतवार जनकपुरधामस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले महतोलाई दलको नेतामा चयन गरेका हुन्। सत्यनारायण मण्डल एमालेको केपी ओली पक्षधर हुन्। बैठकबाट प्रदेशसभा सदस्य रवीन्द्र बैठालाई उपनेतामा, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतकमा र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरिएको छ।

६ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको पूर्व सन्ध्यामा नेपाल समूहले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो।

प्रदेश २ को प्रदेशसभामा नेकपा एमालेबाट २१ जना प्रदेससभा सदस्यहरुले प्रतिनिधित्व गर्दै आइरहेका छन्। २१ मध्ये १३ जना सदस्यहरु नेपाल समूहतर्फ छन् भने ८ जना ओलीतर्फ लागेका छन्।

यता, महतोलाई संसदीय दलका नेतामा चयन गरिएको पत्र प्रदेश २ को प्रदेशसभाका सभामुख सरोज कुमार यादवलाई बुझाइएको छ। यसअघि नेकपाको विवाद चर्किदा समेत मण्डललाई हटाएर महतोलाई संसदीय दलको नेतामा चयन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell