PahiloPost

May 7, 2021 | २४ बैशाख २०७८

हातैले बनेका सामान र उनीहरूसँग जोडिएका कथा : एउटा फरक प्ल्याटफर्म अरनिगो



स्वेच्छा राउत

हातैले बनेका सामान र उनीहरूसँग जोडिएका कथा : एउटा फरक प्ल्याटफर्म अरनिगो

गत भदौमा सोह्र श्राद्ध हुँदा देश ठप्प थियो। कोरोना भाइरसका कारण लकडाउन हुँदा परम्परा धान्ने चिन्ता धेरैलाई थियो। सरकारले रोक लगाए पनि गोकर्णमा श्राद्ध गर्न पुगेकालाई प्रहरीले लखेटेको थियो। त्यस्तो परिस्थितिमा कसरी दिने त तर्पण? 

यहीँ प्रश्नले उपाय सोच्न बाध्य बनायो एस्ट्रोवेदाका संचालकहरूलाई। उनीहरू नेपालमा बसेर विदेशमा रहेका नेपालीलाई वैदिक परम्परासँग जोडिरहेका थिए एपमार्फत्। आप्रवासी नेपालीलाई ज्योतिषी परामर्श दिने, अनलाइन पूजा लगाउने वा सम्बन्धित सेवाग्राहीको नाममा नेपालमै पूजा लगाउनेदेखि प्रसाद कुरियरसम्मको सेवा उनीहरुले चलाइरहेका थिए।

लकडाउनले त नेपालमै रहेकालाई पनि श्राद्ध गर्नबाट बञ्चित गर्दै थियो। त्यही क्रममा अनलाइन श्राद्ध सेवाको अवधारणा अघि सारिएको थियो। परिस्थिति अनुरुप प्रविधिको प्रयोग गरेका थिए उनीहरूले -अनलाइनबाटै सोह्रश्राद्ध, गुरुलाई अनलाइन पेमेन्ट अनि सिधा लकडाउन प्रभावित दीन दु:खीलाई दान।

यतिखेर कोरोनाको त्रासले फेरि टाउको उठाएको छ तर लकडाउनको कुनै संकेत छैन। जनजीवन सामान्य छ। त्यसैले लकडाउन केन्द्रित सेवा दिएका एस्ट्रोवेदाका ती संचालक कहाँ के गरिरहेका छन् त? 

उनीहरूले सुरु गरेपछि हाम्रो पात्रोलगायत धेरैले अनलाइन श्राद्धसेवा अगाडि बढाए। एस्ट्रोवेदाका संचालकहरूले भने त्यो नयाँ प्रयोग बिच पहिल्याउन थाले अभाव र खोज्न थाले अवसर। 

श्राद्ध त अनलाइनमार्फत् हुने भयो। तर, श्राद्धका लागि आवश्यक सामाग्री दुना, टपरी, बत्ती आदि कहाँबाट ल्याउनु? 

खाद्यान्नदेखि अन्य उपभोग्य बस्तुको खरिद् इन्टरनेट केन्द्रित हुँदै थियो। घरमा हातले सजिलै बन्ने ती सामानहरू चाहिँ अनलाइनमा उपलब्ध थिएनन्। सबैमा सीप हुने पनि भएन त्यसको। भएकासँग समय नहुने सम्भावना उत्तिकै। त्यही अवस्थामा अवसर मिल्दै थियो। त्यसखाले अभावलाई एक क्लिकमा उपलब्ध गराउने उपाय सुल्झाउन थाले। 

'हातबाट बन्ने सामानहरूको आवश्यकताबारे सोच्यौं। कसरी ती सामानलाई पनि बजार दिन सक्छौं भन्नेबारे छलफल गर्‍यौं,' एस्ट्रोवेदाका सह सञ्चालक परिवेश कोइरालाले भने, 'दुना, टपरी त मौलिक हस्तकला हुन्। हस्तकला सम्बन्धी अनलाइन मार्केट कस्तो होला? अध्ययन गर्‍यो।' 

छलफल र बजार अध्ययन गर्दै जाँदा उनीहरूले सोचेको कलात्मक अनलाइन बजारको दायरा फराकिलो बन्दै थियो। हत्केलाको स्पर्श, सोच र समय लगानी गरेको हरेक कलात्मक वस्तुलाई समेट्न सके आफूहरूको योजना टपरी वा काँतेको बत्तीमा सीमित नहुनेमा ढुक्क भए। 

किनकि लकडाउनले आम मानिसको रहर र आवश्यकता बुझाइसकेको थियो। मानिसहरुले लकडाउनमा खाना बनाएर त्यसको फोटो फेसबुकमा अपलोडमात्र गरेनन्, घरमा बुनेका गलबन्दीका तस्बिर पनि त्यसैगरी सार्वजनिक गरे। साना नानीहरूले उनेको माला देखाउँदै गर्व गर्नेहरु पनि थिए। साना तर सुन्दर यस्ता सामाग्री कतिलाई मनपर्ला? मन पराउने जति सबैले खोजे के गर्ने? बनाउने सक्ने क्षमता भएकाहरू छन् भने उनीहरूलाई बेच्ने प्ल्याटफर्म किन नदिने? 

प्रश्नहरूको श्रृङ्खला थपिँदै गयो। समाधानको उपाय खोज्दै गए। त्यतिन्जेल फुर्सदमा मानिसहरूको सिर्जना सामाजिक सञ्जालमार्फत् प्रस्फुटन हुँदैथियो। इन्स्टाग्राम वा फेसबुक पेजमार्फत् आफूले घरमै बनाएका झुम्का वा माला, बुनेको स्वेटर वा मोजा, किरिङदेखि ड्रिम क्याचरसम्म, झोला, चित्र, मैनबत्तीलगायत हस्तकलाहरू बेच्ने ट्रेन्ड बढ्दै गयो।

महामारीले बुझाएको अभाव बिच युवापुस्ता आत्मनिर्भर बन्न प्रेरित भएका थिए। त्यसरी व्यवसायको सानो पाइला उचाल्नेहरूलाई पनि समेट्ने हेतुले सञ्चालनमा ल्याइयो 'अरनिगो।'

अरनिगो अर्थात् कलात्मक सामाग्रीका लागि अनलाइन बजार। त्यो बजार जहाँ हस्तकला बेच्ने र किन्नेहरूलाई जोड्नु चाहिँ मुख्य उद्देश्य। सिर्जनात्मक, आत्मनिर्भर र स्थानीय बिक्रेताहरूको सामाग्रीका लागि बनाइएको यस अनलाइन प्ल्याटफर्मको नारा बन्यो - 'यहाँ तपाईँले आफ्नो भन्न सक्ने र प्रेम गर्न सक्ने सामान पाउनु हुनेछ।'

'हस्तकलामा मेहनत त लाग्छ नै। तर, त्यसमा कला र प्रेम पनि मिसिएको हुन्छ। हातबाट बनेका सामानसँग बढी अपनत्व महसुस हुन्छ। त्यसैले त आफ्नालाई उपहार दिन कलात्मक सामाग्री खोजिन्छ,' परिवेशले भने, 'खोज्ने र उपलब्ध गराउन सक्ने बिचको पुल बन्ने प्रयास गरेका हौं।' 

व्यवसायी भन्दा बढी कलाकारका लागि बनाएको प्ल्याटफर्म भन्न रुचाउँछन् परिवेश। जसका लागि उनको समूहले सामाजिक सञ्जालहरूमा व्यक्तिगत् तबरमा अनलाइन व्यापार सुरु गरिरहेका व्यवसायी खोजे। उनीहरूलाई आफूले बनाएको बजार देखाए। त्यसमा स्वतन्त्र ढङ्गले आफ्नो सामान राख्न र बेच्न सकिनेबारे बुझाए। 

हालसम्म ५० जना अरनिगोसँग जोडिएका छन्। उनीहरूले आफ्नो सिर्जनाको मोल आफै तोक्न पाउँछन्। किन्नेले बेच्नेसँग प्रत्यक्ष छलफल गर्न पाउँछन्। साइटमा राखिएको नमूना सामाग्रीलाई आफूले चाहेजस्तो बनाउन लगाउन सक्छन्।

‘कुनै सामान मनपर्नु र त्योसँग अपनत्व महसुस हुनु दुई फरक कुरा हुन्। मन परेको नमूनामा आफ्नोपन महसुस हुनेगरी थपघट गराउने स्वतन्त्रता ग्राहकसँग हुन्छ। बेच्नेले मागअनुसार सामान तयार गरिदिनुहुन्छ,’ परिवेशले प्रष्ट्याए। 

अरनिगोमा रजिस्टर भएका बिक्रेता वा कलाकारले सामान डेलिभरीसमेत आफै गर्नुपर्नेछ। यसरी सामानबारे छलफल र बिक्रेताले नै ग्राहकसम्म सामान पुर्‍याउनु पछाडिको कारण चाहिँ – सम्बन्ध स्थापना। सामान आँखाले हेर्दादेखि हातमा पर्दासम्म दुवै पक्ष बिच कुराकानी होस्।

व्यवसायिक मात्र नभइ सद्भावको सम्बन्ध पनि कायम होस्। महामारीले मानिसलाई भावनात्मक सम्बन्ध कति आवश्यक छ भन्ने बुझाएका कारण यसमा उनले जोड दिएको सुनाए। 

अरनिगो नाम दिएर आजका ‘अरनिको’ अर्थात् कलाकारहरूका लागि प्ल्याटफर्म दुई वर्षअघि नै बनेको हो। तर, अनलाइन बजार कहाँ त्यति फराकिलो भएको थियो र? त्यसमाथि कलात्मक सामाग्रीमात्र खोज्ने कति नै होलान् र भन्ने प्रश्न थियो। एस्ट्रोवेदा समूह भने आम नेपालीले दैनिकीमा सिर्जनात्मक पाटोलाई समय दिने सही समय पर्खिरहेका थिए। लकडाउनले जुराइदियो मौका। 

त्यसैले आफूहरू अन्य अनलाइन प्ल्याटफर्मको प्रतिस्पर्धीका रुपमा उदाएको स्वीकार्दैनन् परिवेश। 

‘सिर्जनामात्र राखेर अन्य प्ल्याटफर्म सरह हुन्छौं भन्ने सोच पनि छैन र त्यो हुँदैन पनि। तर, हस्तकलाका सामाग्री बिक्री वितरणका लागि चाहिँ समुदाय नै बनाउन चाहन्छौं,’ उनले सुनाए। 

कस्तो समुदाय? 

मौलिक नेपाली बजारजस्तो जहाँ लुगा सिलाउने, नुन बेच्ने, भाडा बेच्ने सीमित मानिस हुन्थे। सबै एउटै चोकको फरक कुनामा बसेर आफ्नो काम गर्थे। कुन ग्राहकको साहु को? निश्चित हुन्थ्यो। उनीहरू बिच कसलाई कस्तो र कति सामान चाहिन्छ भन्ने बुझाइ पनि स्थापित हुन्थ्यो र उधारो पनि चल्थ्यो। 

‘हरेकको विशेषता स्थापित होस्। रहरै रहरमा बनाइएका सामाग्रीहरूको पनि मोल रहोस् भन्ने चाहन्छौं,’ परिवेशले सुनाए। 

पुल बनिदिए बापत् प्ल्याटफर्मले ७ प्रतिशत कमिसन लिने उनले बताए। त्यस्तै ३ प्रतिशत कमिसन बैंकिङ कारोबारका लागि। उनीहरूले कारोबारलाई शत प्रतिशत इ-सेवाजस्ता पेमेन्ट गेटवेमार्फत् गराउँदैछन्।

अरनिगो कलात्मक चेत भएकाहरूलाई चिनाउने ठाउँ बनोस् भन्ने उनीहरुको चाहना। त्यसैका लागि आफ्ना बिक्रेताहरूको परिचय र कथालाई बराबर ठाउँ दिँदैछन् त्यहाँ। ती कथा जुन अमूल्य हुन्छन्। एक अपाङ्ग छोरीले बनाएको मैनबत्ती ग्राहकसम्म पुर्‍याउने उनकी आमाको कथा । प्लस टु पढ्दै गरेका किशोरले गाडी भाडा जुटाउन घण्टौं हिँडेर सामान डेलिभरी गर्नपुग्नु पनि त कथा हो। यस्तै कथा र कलाले पहिचान देओस्, अरनिगोको एक उद्देश्य। 

कलाकारहरूका लागि व्यवसायिक प्रयोगशाला बन्दैछ अरनिगो। जहाँ घरको ढलान गरेपछि बाँकी रहेका बाँसको गमलादेखि साबुन, बुकमार्कदेखि चित्रकला, घरायसी चकलेटदेखि अचार, हातले बुनेको टोपीदेखि झुम्का, स्क्रन्चिज धेरैथोक पाइन्छ।

६ जनाको समूहले चलाइरहेको एस्ट्रोवेदा बजारभन्दा पर रहेर अर्को एउटा बजार बनाउँदैछ जहाँ सिर्जनात्मक सामाग्री रुचाउनेहरूको भेट होस्। कला र कला पछाडिको कथाले पहिचान पाओस्। पहिचानसँगै आम्दानी होस्। 

‘आज फेसबुक वा इन्स्टामार्फत् सामान बेचिरहेकाहरूका लागि उद्यमीका रुपमा उदाउने ठाउँ बन्नसक्छ यो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell