PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भित्र प्रदेश सरकारको भोज, बाहिर शहीद परिवारको आन्दोलन



सुमित मिश्र

भित्र प्रदेश सरकारको भोज, बाहिर शहीद परिवारको आन्दोलन

जनकपुरधाम : प्रदेश सरकारले आयोजना गरेको शुभकामना अदान प्रदान तथा चियापान समारोहमा जसपाका शिर्ष नेतादेखि प्रदेशका मन्त्रीहरु भोजभतेरमा व्यस्त रहेको समयमा मधेस आन्दोलनका शहीद परिवारहरु आन्दोलन उत्रेका छन्।

नव वर्ष २०७८, पूर्व जुडशीतल तथा सिरुवा पर्वको अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान समारोहमा सहभागीहरु भोज खाइरहँदा शहीद परिवारहरुले आफूहरुलाई प्रदेश सरकारले झुक्याएको भन्दै विरोध तथा धर्नामा उत्रेका हुन्।

शहीद परिवारहरुले प्रदेश सरकारले आफूहरुलाई दिएको आश्वासन विपरित बेवास्ता गर्दै आएको आरोप लगाएका छन्। प्रदेश सरकारले शहीद परिवारलाई रोजगारी दिने प्रलोभन दिएपनि ठग्दै आएको आरोप शहीद परिवार तथा घाइते हकहित संघर्ष समितिका प्रदेश नम्बर २ का अध्यक्ष रामनरेश रायले बताए। मधेसलाई अधिकार सम्पन्न बनाउनका लागि दर्जनौँले शहादत प्राप्त गरेपनि प्रदेश सरकारले शहीदको नाम भजाउने काम मात्र गरेको रामनरेश रायले आरोप लगाए।

अध्यक्ष रायले भने, ‘हामी ५३ जना शहीद परिवारलाई गत वर्ष जेठ महिनामा नै प्रदेश सरकारले नियुक्ति पत्र दियो, तर त्यसमध्ये अहिलेसम्म २८ जनालाई मात्रै जागिर दिएर अन्यलाई ठगेका छन्।’

उनले शहीद परिवारसँग प्रदेश सरकारका मन्त्रीहरुले मिठो कुराकानी गर्दा पनि व्यवहारमा नउतारेको र आफूलाई पटक पटक आश्वासन दिने कार्य गरेकाले बाध्यतावश आन्दोलित हुन पुगेको बताए।

मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवारहरुले नियुक्ति पत्र पाएकाहरु सबैलाई जागिर, शहीद तथा घाइते परिवारलाई राष्ट्रिय परिचय पत्रको व्यवस्था, तिनीहरुका बालबालिकाहरुलाई उच्च शिक्षासम्म निःशुल्क रुपमा व्यवस्था, आवास कार्यक्रम अन्तर्गत सुकुम्बासी शहीद परिवारलाई घरको व्यवस्था र आन्दोलनको क्रममा शिर्षनेताले ५० लाख रुपैयाँ दिने घोषणाको कार्यान्वयन लगायतका १४ बुँदे माग रहेको अध्यक्ष रायले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell