यतिखेर मनलाल विकसँग आफ्नो घरबाट बाहिर निस्किने हिम्मत छैन। २०७७ साल उनी र उनको परिवारका लागि ठूलो बज्रपातसहित भित्रियो। उनका छोरा मारिए। छोराको हत्याको विषयलाई लिएर लड्दै गरेका उनी आफैँ मानसिक रुपमा बिचलित भइसकेका छन्। न्यायको आशा निभ्ने डरकै कारण उनी घरबाट बाहिरिन आत्तिन्छन्।
मनलाल अर्थात् रुकुम पश्चिममा मारिएका नवराज विकका बाबु।
'त्यतिखेर त सबै बोलिदिएका थिए। उनीहरू सबै आफ्ना हुन् जस्तो लाग्थ्यो तर अहिले त घटना सबैले बिर्से झै भइसक्यो,' मनलालले भने, 'न्यायको आशामा एक वर्ष बित्न लाग्यो। कहिलेसम्म कुरिरहनुपर्ने हो थाहा छैन।'
२०७७ सालको दोस्रो महिना अर्थात् जेठ १० गते। नवराज र उनका अन्य ५ जना साथीलाई कुटीकुटी भेरीमा बगाइयो। अन्तर्जातीय 'प्रेम'कै कारण भएको त्यो हत्याकाण्डले नेपालमा दलितको हैसियत नाङ्गियो। वर्ष सकिँदासम्म नाङ्गिएको त्यो हैसियतमा न्यायको पछ्यौरा कसैले ओडाउन सकेनन्।
मार्नेहरू त छाडौं, साथ दिनेहरू पनि यतिखेर उनीभन्दा टाढा पुगिसकेका छन्। मारिएका त उनका मात्र छोरा थिएनन्। उनका छोराका मिल्ने ५ जना साथीहरू पनि त्यही मेसोमा भेरीमा हेलिए। सबैका लागि न्याय खोजिरहँदा मारिने अरुका परिवारले समेत नवराजकै बुबातर्फ औंला तेर्स्याइरहेका छन्। त्यसैले पिरोल्छ उनलाई।
+++
रुकुम पश्चिमको सोती गाउँका ठकुरी परिवारकी एक किशोरीसँग प्रेममा थिए जाजरकोट राना गाउँका नवराज विक। भेरी नदीले छुट्याएको दुई जिल्लाका गाउँहरूको दुरी ३५ किलोमिटरमात्रै। बिचमा भेरीको भेल। त्योभन्दा डरलाग्दो गरि उभिएको सामाजिक विभेदको पर्खाल। त्यही पर्खाल भत्काउने क्रमले लियो डरलाग्दो मोड।
प्रेमिकालाई विवाहका लागि भगाउन सोती पुगेका थिए नवराज। आफ्ना १८ जना साथीसहित भेरी तरेका नवराज ‘बेहुली’ लिएर फर्कन भने सकेनन्। उनीसहित अन्य ५ युवाको शव भेरी नदीमा भेटियो। गएका अन्य सबै शरीरभर चोट लिएर फर्किए।
जेठ १० गते नवराज आफ्नी प्रेमिकासँग विवाह गर्ने योजनासहित सोती गाउँ पुगेका थिए, साथीहरू लिएर। उनीहरूको समूहलाई देखेपछि किशोरीकी आमा जोडजोडले कराएकी थिइन्। उनले प्रश्न गरेकी थिइन् ‘फेरि आइस् डुम?’
त्यहाँ वादविवाद नगरी जाजरकोट फर्कँन ओरालो लागे केटाहरू। ओर्लँदा ओर्लँदै अनायासै वरपरबाट ढुंगामुडा हुन थाल्यो।
किशोरीको परिवार, चौरजहारी वडा नम्बर ८ का अध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँका अन्य मानिसले उनीहरूलाई लखेट्दै भेरी नदीसम्मै झरे। लखेटिएकामध्ये केहीले पौडिएरै नदी तरे। पौडन नसक्नेहरूलाई गाउँलेले ढुंगामुडा गर्न छाडेनन्। अनि घट्यो त्यो विभत्स घटना।
+++
राना गाउँ र सोतीलाई जसरी भेरीले छुट्याएको छ त्यसैगरी यस घटनामाथिको बुझाई पनि नदीका दुई किनारा झै छन्। अनौठो यही छ, सत्य पनि दुई वटा सुनिन्छ। भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले यस घटनालाई शान्ति प्रक्रियापछिकै ठूलो हत्याकाण्डका रूपमा व्याख्या गर्छन्।
रुकुम पश्चिमको कथन भने फरक छ। घटनालाई भवितव्यका रूपमा व्याख्या गर्छन् त्यहाँका मानिस।
प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस गरेको अनुसन्धान प्रतिवेदनमा किशोरीकी आमाले योजनाबद्ध रूपमा हत्या गरिएको स्वीकारेको उल्लेख छ। साथै जातीय विभेद हुनेगरी बोलेको स्वीकारोक्ति पनि छ। प्रहरी अनुसन्धानले अन्तरजातीय प्रेमकै कारण घटना भएको संकेत गर्यो।
‘छोरीकी प्रेमीको जात छुत कि अछुत?’ भन्नेमा चर्कै बहस थियो किशोरीको परिवारमा। त्यसैले त केही महिना अघिदेखि नै सोतीका ठकुरी समुदायका लागि तारो बनेका थिए नवराज।
जाजरकोटमा रहेर व्यवसाय गर्ने किशोरीका काका इन्द्रबहादुर मल्लले नवराजका बुबालाई पटक-पटक ‘जात र स्तर नमिल्ने बुहारी नआँट्न’ चेतावनी दिएका थिए।
परिवारलाई समस्या युवकको जातसँग थियो। त्यसपछि यस विषयमा राजनीति घुस्यो, व्यक्तिगत रिसिइबी र स्वार्थ जोडियो, वैचारिक मतभेद जोडियो। समस्याको जड रहेको जातीय व्यवस्था चाहिँ जहीँको तहीँ रह्यो। यदि नवराज पनि किशोरीकै परिवारको जस्तै समुदायका ठकुरी हुन्थे भने के यो घटना घट्थ्यो?
मर्नेहरू गैरदलित पनि थिए। तर, जात व्यवस्थाले मानिसमा सिञ्चित गरेको अहम् र अहंकारको सिकार दलितमात्र हुन्छन् वा हुनुपर्छ भन्ने होइन भन्ने घटनाले देखायो।
छ जनाको मृत्युको घटना देशव्यापी मुद्दा बन्यो। घटनाविरुद्ध राजधानीमा पनि सडकदेखि सदनसम्म तात्यो। न्यायको माग गर्दै भएका प्रदर्शनहरूमा सहभागी बने मनलाल पनि। छोरा र उनका साथीहरूका लागि धर्ना बसे।
एकदिन आन्दोलनकै क्रममा सँगै थिए सबै पीडित परिवार। कानुनी प्रक्रिया सुस्त चल्दा छट्पटी छाएको थियो सबैमा। छेउमै धर्ना दिइरहेकी थिइन् मारिएकामध्ये टीकाराम नेपालीकी काकी।
'उनले मतिर हेर्दै बोलिन् - अब राज्यले न्याय नदिए आफै खोज्ने हो। नवराजको घरमा बम पड्काउने हो। उसको बाआमा मरेपछि बल्ल हामीलाई न्याय हुन्छ,' मनलालले सुनाए, 'त्यसैले मारिन्छु कि भन्ने डरले पनि बाहिर निस्किन अत्याउँछ।'
अभियुक्त पक्षले साँधेको प्रतिसोध त छँदैछ। सँगै साथ दिनेहरू पनि टुट्दै गइरहेका छन्। जनप्रतिनिधिहरूले मनलालको फोनसमेत उठाउन छाडेका छन्। उनलाई थाहा छैन कहाँ गए ती अभियान्त जसले नवराजको न्यायका लागि केही समय आवाज उठाएका थिए।
'यो विषय अदालतको क्षेत्राधिकारभित्र परिसकेको छ। त्यसैले न्यायिक प्रणालीलाई प्रभावित पार्नेगरी गतिविधि गर्न हुँदैन भनेर बसेका हौं,' अभियन्ता तथा पूर्व सभासद विनोद पहाडीले भने,'न्यायका लागि स्थानीय तबरमा खबरदारी जारी राखेका छौं।'
पहाडीका अनुसार नेपालको न्यायिक इतिहासमा जातीय मुद्दामा एकसाथ दर्जनौं मानिस पुर्पक्षमा थुनिएका यो पहिलो घटना हो। यसले पनि न्याय पाउनेमा आशावादी सुनिए उनी।
'तर न्याय दिने प्रक्रिया लम्बिँदा सामाजिक मेलमिलाप खलल हुने। प्रतिसोधपूर्ण गतिविधि बढ्ने त्रास छ', उनले भने, 'जसका कारण पीडित परिवारलाई मानसिक रुपमा विक्षिप्त बनाएको छ।'
+++
घटनामा ३४ जनालाई विपक्षी बनाइयो। रुकुम जिल्ला अदालतले सुरुमा २३ जनालाई पुर्पक्षका लागि थुनामा पठायो। चार जनालाई धरौटीमा रिहा गर्यो। उच्च अदालतले थुनछेकउपरको निवेदनमा थप ५ जनालाई धरौटीमा रिहाको आदेश गर्यो।
उच्च अदालत सुर्खेतको थुनछेकउपर १७ जनाले सर्वोच्चमा हाल निवेदन दिएका छन्। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पुस ५ गते कफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो। आरोपित सर्वोच्चको निर्णयको प्रतीक्षामा छन्। निवेदक पक्षमा फैसला भए, उनीहरू धरौटीमा छुट्ने छन्।
आउँदो शुक्रवारका लागि पेसी तोकिएको छ। तर, त्यो अन्तिम फैसला भने हुने छैन। थुनामा रहने वा नरहने मात्र उक्त आदेशले निर्क्यौल गर्नेछ।
+++
दलित आन्दोलनसँग जोडिने यस्ता मुद्दाहरू खहरे झै उर्लने र एकाएक सुस्ताउँदै आएका छन्। नवराजको निम्ती न्यायको विषय पनि त्यस्तै बन्यो।
निचोडमा नपुगी किन सेलाउँछ त आन्दोलन?
'यस्ता आन्दोलनहरूमा सहभागी हुने व्यक्तिले त्यो घटना आफूसँग सम्बन्धित हो कि होइन? भनेर हेर्छ। आफूसँग सम्बन्धित समस्या हो भने न निरन्तर लागि पर्छन्,' मानवशास्त्री डाक्टर डम्बर चेम्जोङले भने। उनका अनुसार यस्ता विषय मानसिकतासँग जोडिएको हुन्छ। साथै प्रत्यक्ष प्रभाव पार्छ सामाजिक संरचनाले पनि। भने,'व्यक्तिगत तहमा त समता र समानताको कुरा हुन्छ। तर जातीय विभेद त रगरगमा गडेर रहेको समस्या हो।'
चेम्जोङले सामाजिक संरचनासँगै न्याय निरुपण गर्ने निकाय, कार्य सम्पादन गर्ने लगायत निकायहरूबिच संगती नमिल्दा पनि रुकुम घटनाजस्ता विषय सतहमा छाएर छोटो समयमै ओझेल पर्ने तर्क राखे। आम मानिसले यस्ता गम्भीर घटनालाई सामाजिक, कानुनी एवं कानुनी कोणबाट हेर्नुपर्ने बताए। भने, 'घटनाको वास्तविकताबारे नखोजेसम्म यस्ता अभियान र आन्दोलनहरूलाई एकपछि अर्कोले विस्थापित गर्छ।'
जातीय विभेदले निम्त्याएको हत्या र निरुपण हुन नसकेको न्यायले २०७७ साललाई धुमिल बनाएको छ। अझै पनि मृतकका आफन्त न्यायको पर्खाइमा छन्। तर, अझै पनि मुद्दाले किनारा पाउन सकेको छैन।
सर्वमान्य एउटा उक्ति छ - 'ढिलो न्याय अन्याय सरह हो'।