काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन्।
नेपाली कांग्रेस चितवन खैरहनि नगर समितिले आज चितवमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागी अब नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन्।
‘देशमा सरकार छ कि छैन, भनेर खोज्नु पर्ने अवस्था छ। यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। ओलीले नैतिक, राजनैतिक तरवरले प्रधानमन्त्री हुने बैधानिकता गुमाए। ओलीले तत्काल राजीनामा दिनुपर्छ’ सिंहले भने।
नेपालमा लोकतन्त्र जोगाउनको लागी कांग्रेस बलियो हुनुपर्ने भन्दै उनले आगामी महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए।
समृद्ध नेपाल सुखी नेपाली सरकारको नारामा मात्र सिमित भएको भन्दै उनले केन्द्र सरकारले प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको दाबी समेत गरे।
लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्ने हुदाँ अहिले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेसले बाध्य भएर सरकार निमार्णमा अग्रसरता लिएको उनले बताए।