PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गण्डकीमा कांग्रेसको नेतृत्वमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास दर्ता, विशेष अधिवेशन माग



गण्डकीमा कांग्रेसको नेतृत्वमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास दर्ता, विशेष अधिवेशन माग

काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसदले प्रस्ताव दर्ता गरेका हुन्। नेपाली कांग्रेसका सांसद कुमार खड्काले तीन दलको तर्फबाट अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको जानकारी दिए। आजै माओवादी केन्द्रले गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। बिहीवार दिउँसो १ बजेर २५ मिनेटमा माओवादीले समर्थन फिर्ता लिएको हो। एक बजेर ३५ मिनेटमा अविश्वासको प्रस्ताव दर्ता भएको कांग्रेस सांसद खड्काले जानकारी दिए।

गुरुङले आजै प्रदेश सभाको अधिवेशन अन्त्य गरेपछि अब तीन दलले विशेष अधिवेशनको आह्वान गरेका छन्। 'पद जाने स्थितिमा हठात अन्त्य भएको छ। हामी अधिवेशनको आह्वान गर्छौ,' खड्काले भने।

यसैबीच, विपक्षि दलका एक चौथाइ सांसदले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचन समक्ष माग गरेका छन्। 'अधिवेशनको माग गरेका छौ। हस्ताक्षर सहितको पत्र बुझाउन जादै छौ,' उनले भने

अविश्वासको प्रस्तावमा जनमोर्चाले सहयोग गर्ने बताएको छ। जनमोर्चाको सहित ४ दलको मोर्चाका तर्फबाट नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ।

राजनीतिक स्थायित्व कायम गर्न मुख्यमन्त्री गुरुङलाई म्याण्डेड दिएको भए पनि पूरा नभएकाले अविश्वासको प्रस्ताव ल्याएको नेपालीले बताए। उनले केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गरेको र त्यसलाई साथ दिनेलाई आफ्नो साथ नहुने बताए।

'आफ्नै हातले विघटन गरेको संसद अदालतले पुनर्स्थापना गरेपछि ओली एक मिनेट पनि बस्नुहुन्न होला भन्ने लागेको थियो। प्रतिगमनका विरुद्ध हामी जो एक ठाउँमा थियौं फेरि पनि एकै ठाउँमा बस्नुपर्छ। प्रतिगमन गर्नेलाई सरकारमा बस्ने नैतिक अधिकार छैन भनेर अघि बढेका छौ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell