PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

कोरोना बढिसक्यो, विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड नगर : नेविसंघ



कोरोना बढिसक्यो, विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड नगर : नेविसंघ

काठमाडौं : नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्यमाथिको खेलवाड बन्द गर्न सरकारसँग माग गरेको छ।

प्रत्येक दिन देशभर संक्रमित संख्या बढिरहँदासमेत त्यसप्रति सरकारको अकर्मण्यता र लाचारीपूर्ण व्यवहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथि खेलवाड भइरहेको भन्दै संघका अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्तीमार्फत सरकारको लाचारीप्रति रोष प्रकट गरेका छन्।

'हाल विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुमा समूहगत रुपमा संक्रमण देखा पर्न थालेको घट्टनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकारलाई विद्यार्थृको स्वास्थ्य माथि खेलवाड नगर्न र विद्यार्थीहरुमा संक्रमण फैलिन नदिन विशेष पूर्व तयारी गर्न जोडदार माग गर्दछौं। शैक्षिक संस्थाहरुलाई सबै खाले स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बन गर्नको निम्ति खबरदारी गर्न चाहन्छौं,' विज्ञप्तिमा अध्यक्ष ढुंगानाले भनेका छन्। जनताको जीउधन रक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै नेविसंघले विद्यार्थीको स्वास्थ्यमा खेलवाड गर्ने काम साह्य नहुने चेतावनी दिएको छ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरु संक्रमित र संक्रमणकै कारण मृत्यु भइसक्दा समेत सरकार गम्भीर नहुनुले यो सरकार रहुन्जेलसम्म नेपाली नागरिकको बाँच्ने हक सुरक्षित हुन नसक्ने र यो सरकार जनतालाई राहत होइन आहत दिन उद्दत छ भन्ने कुराको स्वयं सरकारको प्रत्येक गतिविधिले पुष्टि गरिरहेको दाबी गरे।

संक्रमण बढिरहेमा जोखिममा रहेका स्थानका शिक्षण संस्थाहरुमा  केही समयका निम्ति प्रत्यक्ष भौतिक उपस्तिथिमा गरिने पठनपाठनलाई वैकल्पिक पद्धतिमार्फत सिकाइ प्रक्रिया निरन्तर गरिनुपर्ने उनको सुझाव छ।

अर्का महामन्त्री दीपक भट्टराईले कोरोना संक्रमणको उच्च जोखिममा रहेका र दिन प्रतिदिन संक्रमण बढिरहेको शिक्षण संस्थाहरूमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल विशेष सुरक्षा व्यवस्था लागू गर्न माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell