PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

अनि एक्लिए देउता…



स्वेच्छा राउत

अनि एक्लिए देउता…

भुईँबाट पुगनपुग दुई फुट अग्लो कान्लो। त्यहीँ जस्ताको पाता अड्याएर बनाएको छाप्रो। छाप्रोबाट घिस्रिँदै बाहिर निस्कियो एउटा आकृति। वरपर घेरा हालेर बसेकाहरूलाई हेर्दै फिस्स हाँस्यो अनि बोल्यो – 'सामान धेरै भयो, ठाउँ साँघुरो। अब आगुम चाहिँ एउटा घर बनाउँछु।'

धुम्म आकाश। मानिसहरूको भिड। त्यही भिडमा एक्लो आकृति अर्थात् विकास। चाँगुनारायण, बाँसबारीस्थित च्वथा: गणेश मन्दिरको छेउ। त्यो ओत लाग्ने 'घर' मन्दिर छेवैमा थियो किनकि उनलाई सधैँ लाग्यो – देउताले रक्षा गर्छन्।२०७७ साल वैशाख ४ गते। उनी त्यहाँबाट बाहिरिँदै थिए। त्यो दिन चर्को हुरी चल्यो। असिना पानी झर्‍यो, अप्रत्याशित।

स्मृति र विस्मृतिको बिच उभिएका उनी


समयको चाल प्रत्याशित होवस् कसरी? हल्ला नगरी बहिरहन्छ, वेगको पर्वाह नै नगरी। विकासको उमेरसँगै कतै छुट्यो उनका स्मृतिहरू। यतिसम्म कि घर फर्किँने बाटो नै पो भुलेछन्। आफन्तको अनुहारसमेत यादमा अटाएनन्। अब त उनलाई खोज्दै यदि कोही आउँथ्यो भने उनीहरू पनि छुट्दै थिए। आधा जीवन ठेगान बिहिनै बितिसकेको थियो उनको।

ठेगान नहुनुको अर्थ छत नचाहिनु कहाँ हो र?

त्यस दिन कुहिनो टक्टकाउँदै जुरुक्क उठे उनी। बाङ्गिएको क्याप सोझ्याए। चामल अनि दालको पोको छाप्रोभित्र हुले। चियापत्ती, नुन, तेल, बेसारहरू बट्टामा थिए। चिनी झोलामा। चुल्होमाथि भात कट्कटिएको प्रेसरकुकर खुल्लै देखिन्थ्यो। त्यसमा पानी खन्याउँदै बोले – 'हामी टाढै पुग्ने हो र? यसलाई अहिले ढड्याउँछु। आएर माझ्न सजिलो हुन्छ।'

उनको वर्षौदेखि कट्कटिएको घाउ पनि त्यसैगरी सफा हुँदै थियो।

निकैबेर यताउता सामसुम गरिरहे उनी। एउटा छेउमा थुपारेको फलाम, प्लास्टिक र कागजको माया लाग्यो क्यारे! एकटक हेरेपछि मुन्टो ठाडो बनाएर धुम्मिएको आकाशतिर हेरे।

जहाँ ओत लाग्थे उनी।


'पानी पर्छजस्तो छ। बित्यास पार्ने भयो। भिज्यो भने बिक्दैन नि,' चिन्तित सुनिए उनी। तर, अल्झिएनन्।

समयको भेउ नभए पनि ढिलो र चाँडोको हिसाब भने राख्दा रहेछन् उनी। ढिलो निस्किए पुग्न पनि ढिला हुन्छ। ढिला पुगे फर्कन पनि ढिला। फर्किँन्छु भन्ने आशाले नै त उनलाई पस्केको भात छोड्न लगाएको थियो।

निस्कनुअघि उनले आफूसँग भएका जम्मै थोत्रा लुगा लगाउन खोजे। कसैले उनलाई ज्याकेट थमाउन खोज्दा उनी तर्किए–'मेरै छ नि ज्याकेट। त्यो तपाईं नै लगाउनु। हुरी चल्न लाग्या छ। जाडो हुन्छ फेरि।'

सामान थन्क्याएर उनी अघि लाग्दा नलाग्दै हुरीको बेग बढ्यो। पानीका मोटा थोपा छिटपुट हुँदै बेस्मारी दर्किन थाल्यो। दर्के पानीले उनले केहीबेर अघि उनले भिजाएको कुकरको बाहिरी सतहमा पोतिएको डढेको माटोसमेत मेटाउँदै थियो। माटोको चुल्हो पनि अब सायदै आगो नबल्ने गरी गल्दै थियो। उनलाई बिदा गर्न आएका गाउँलेको आँशुसमेत मेटिदियो झरीले। त्यो संकेत थियो – यो बिदाइ दु:खद् पक्कै होइन।

झरीले रुझायो सबै।


त्यो पानी र हुरी बोकेर आएको वैशाखले विकासलाई उनको देउताबाट टाढा बनाउँदै थियो। अनि, मान्छेसँग नजिक।

+++

त्यसको ठीक एक वर्षपछि भने देखियो फरक दृश्य अनि लेखियो नयाँ कथा। उही पात्रको  फेरिएको दैनिकीसँग जोडिएको कथा। उसले बिर्सन नसकेको तिनै चामलका पोका अनि धुमिल नै सही तर फर्किँदै आएको स्मृतिको कथा।

उनले भिजाएको प्रेसर कुकर।


चाँगुनारायण बाँसबारी वरपरका गाउँमा पुराना फलाम, प्लास्टिक र कागजका टुक्रा खोज्दै हिँड्थे उनी। बेच्थे अनि चलाउथे जीविका। गाउँलेले खेतमा गोड्मेल गर्नुपर्दा, भारी बोक्नुपर्दा, बारी खन्नुपर्दा डाक्थे। कामको साटो पाउने पैसा, चामल, लत्ता कपडा र भाडाकुँडा उनका लागि राहत थियो। कसैको घरमा पूजा लाग्दा प्रसाद खान पाउँथे। बिहे ब्रतवन्धमा त छाक नै टर्थ्यो पनि।

एक्लो भएर पनि एक्लो त थिएनन्। तर, मान्छेको वरपर हुनु कहाँ आफ्नासँग हुनु रहेछ र? दयाले दिलाउने चिनीमा कहाँ मायाको मिठास मिल्थ्यो र?

माया पाएनन् र त उपचार भएन। उपचार नभएरै हो उनको मानसिक स्वास्थ्य बिग्रिँदै गएको। त्यसपछि विकासले बिर्सिँदै गए, आफैले बाँचेको समय।

बिर्सनुको अर्थ मेटिनु भने होइन रहेछ। किनकि यतिबेला उनी बिगत सम्झन सक्ने र अर्ध होसमै सही ती घटना अरुलाई सुनाउन सक्ने भएका छन्।

'बाँसबारीबाट हिँड्या दिन खुब पानी पर्‍याथ्यो नि। चामल नि भिज्यो होला। केटाकेटी खेलेर धुस्नो बनाए होलान् सामान,' उनले एकोहोरो सुनाए।

आश्रममा उनी।


लामो सास तान्दै जुरुक्क उठे उनी। छेउको जुठो थाल उठाएर सरासर धारातिर सोझिए। केही पाइला अघि बढेपछि फनक्क फर्किएर प्रश्न गरे, 'दु:ख गरेर जम्मा गरेको फलाम के भयो होला है? पेटमा देउता भएकाले भेटेको भए त राख्देका होलान्। साँच्ची, किलोको कति दिन्छन् अहिले?'

जवाफ नकुरी अघि बढे र मस्काउन थाले भाडा। मानव सेवा आश्रममा आफूजस्तै सडकबाट ल्याइएकाहरूको सेवामा खट्न सक्ने भएका रहेछन् उनी।

एक वर्षअघि उद्दारपछि आश्रमको स्क्रिनिङ सेन्टरमा पुर्‍याइएको थियो उनलाई। सरसफाइ, कोरोना भाइरस संक्रमणको परीक्षण अनि अरु शारीरिक र मानसिक जाँच।

सेन्टरमा पुगेको भोलिपल्ट उनी केही न्यास्रिएजस्तो देखिन्थे। ऐनामा भर्खरै खौरिएको तालु हेर्दै बोलेका थिए – 'बरु मेरो क्याप दिए हुन्थ्यो नि। यत्तिकै जान त लाज हुन्छ। ह्वाँ असिना पानीले चामल जम्मै भिजाइद्यो होला। सुकाउन ढिला भयो।'

उपचार गरेर फर्किने भनेकाले तरकारी किन्न साँचेको ४८ रुपैयाँ पनि छाप्रोमै छाडेका रहेछन्। त्यसैले उनको मन घरिघरि बाँसबारी नै पुगिरहेको थियो।

मिल्यो सहारा


तर, त्यहाँका स्थानीयले उनको बिग्रदो स्वास्थ्य, महामारीको त्रास र लकडाउनले निम्त्याएको अभावबाट विकासले दु:ख केही भोग्न नपरोस् भनेर उद्दारको आग्रह गरेका थिए। उनी त्यहाँ पुगेका थिए जहाँबाट उनले फर्कने बाटो बिर्सनु थियो।

'स्याहार्ने मान्छे भएन। मीठो मसिनो कहाँ पाउनु? हामीले कहिले काहीँ दिने पैसा र चामलले त गुजारा चलाउँथ्यो। हेर्दाहेर्दै गल्दै गयो बरा,' बाँसबारीका स्थानीय गोपालप्रसाद तिमिल्सिनाले भने।

सेन्टरमा कोरोना परीक्षणको नतिजा नेगेटिभ आयो। तर, मनोविद्ले भनिदिए – 'नियमित औषधी खुवाउनु पर्छ'। उनलाई पोस्ट ट्रमाटिक स्ट्रेस रहेछ।

होसको कुरा नगर्ने, एउटै कुरा दोहोर्‍याइ रहने र विगत सम्झन नसक्ने कारण खुल्यो ।

स्क्रिनिङ सेन्टरमा १५ दिनको बसाइपछि उनलाई भक्तपुर सारियो। आफूजस्तै धेरै मानिस भेटे उनले। प्राय सबै मनोसामाजिक समस्या भोगिरहेकाहरू। अभाव वा परिवारको तिरस्कार भोगेकाहरु।

सबै चोट ठीक हुँदैनन्। तर, खबर सोधिदिने, सुनिदिने कोही हुनुले चोटले पारेको आघात पक्कै भुलाउँछ। त्यस्तै भयो विकासलाई। औषधीसँगै स्नेही हात पाए। सँगै हाँसिदिनेहरू वरपर भए। उनी केही तङ्ग्रिँदै गए। छोटो समयमै आश्रमको सेवक सरह खटिन थाले।

'उहाँ आश्रित कम सेवकको रुपमा बढी सक्रिय हुनुन्छ। औषधीको प्रभाव राम्रो देखिएको छ। अरुको जस्तो आक्रामक स्वभाव नभएकाले पनि सकारात्मक परिवर्तनहरू चाँडै देखियो,' मानव सेवा आश्रम भक्तपुर शाखाका सेवक एवं स्वास्थ्यकर्मी उर्बिन सापकोटाले सुनाए।

ऐनामा आफ्नै प्रतिविम्व हेर्दै।


कहिलेकाहीँ भने पुराना कुरा बर्बराइ रहेका भेटिन्टन् उनी। भयावह विगत सम्झिँदा उनमा छाउने नैराश्यताले माझ्दामाझ्दैको गिलास फुट्छ। शौचालय पुग्दा नपुग्दै लुगा भिज्छ। अनि टिलपिलाउँदा आँखाहरूमा त्यसको प्रतिविम्ब झल्किन्छ।

+++

मच्छेगाउँका अधिकारीका छोरा रहेछन् विकास। आमा गर्भवती भएदेखि सेनामा भर्ती भएका बुबा घर फर्किएनन्। पर्खाइ कतिसम्म लामो हुन्छ थाहा छैन। जे होस् श्रीमानको बाटो हेरिरहेकी विकासकी सुत्केरी आमालाई परिवारको खटनपटन गाह्रो भयो। श्रीमान आउने छाँट नदेखेपछि १० महिने छोरो च्यापेर निस्किइन् उनी।

आमाले अरुको खेतमा काम गरेर हुर्काएको सम्म बताउन सक्ने भएका छन् विकास। घरका कोही आफूलाई खोज्दै आएकी? भन्ने आशा पनि रहेछ। त्यसभन्दा बढी हरेक प्रश्नमा फिस्स हाँस्छन् मात्र। वा, सोधेको प्रश्न दोहोर्‍याउँछन्। आमासँग उनी कसरी टाढा भए उनैलाई थाहा छैन। अथवा सम्झिन सकेका छैनन्।  

२०३७ सालदेखि उनलाई चाँगुनारायणको बाँसबारी आसपास देखेका रहेछन् केशवप्रसाद अधिकारीले। उनका अनुसार विकासलाई एक वृद्धाले आफूसँगै राखेकी थिइन्। उनीहरू दुवै ज्यालादारी मजदुरी गरेर खान्थे। विकासले तिनैलाई 'आमा' भनेर सम्बोधन गर्थे। तिनले विकासको संरक्षण गर्थिन्।

एउटा अञ्जान यात्रा।


२०४७ सालमा तिनी पनि बितिन्। विकास एक्लिए। खेतको बिचमा नेवारहरूले बाली जोगाउन बनाएको कच्ची घरमा बस्थे उनीहरू। बिस्तारै त्यो पनि भत्किँदै गयो। विकास पनि टुट्दै गए। दश वर्षअघि दुर्घटना परेपछि त काम गर्नै नसक्ने भए।

आफूलाई स्कूलको पहेँलो बसले ठक्कर दिएको सम्झना छ विकासलाई। प्रहरीले अस्पताल पुर्‍याएको, नर्सले पट्टी बाँधिदिएको पनि बताउन सक्छन्। त्यो दुर्घटनाले दिएको चोट कति गहिरो र दिगो बन्यो, त्यो बताउने होस् भने फर्किएको छैन।

२०७२ सालसम्म एकापट्टि गारो नभएको पाटीमा बसे उनी। भूकम्पले पूरै भत्काएपछि हो घाम, हावाहुरी अनि शीतसँगै उनको दैनिकी अघि बढेको। खुला चौरमै आगो दन्काएर भोको पेटलाई शीतल पार्थे उनी।

शरीरको ताकत कम हुँदै जाँदा मजदुरी गर्न सकेनन्। दिनभर बटुलेको कवाडी बेचेरै गुजारा चलाए।

'माया लाग्‍न रगतको नाता हुनै पर्दैन। उसलाई बच्चैदेखि यतै देखेर होला साह्रै माया लाग्ने,' केशवप्रसादले भने, 'तर महामारी फैलिँदा उ कवाडी बटुल्न यताउता डुल्ने भएकाले उसलाई सधैँ आएर खुवाउन अप्ठ्यारो भयो। त्यसैले उद्धार गरायौं।'

आश्रममा खाना, नाना र छानाको टुङ्गो लाग्यो। ‍औषधी उपचार पाए। स्नेह र खुशी पाए। त्यहीँ भेट्न पुगेका थिए केशवप्रसाद। उनीहरू आउँदा विकासले आफूले बेच्न बाँकी फलामको खबर सोधे रे। त्यतिखेर भने, 'अब म केही समय यतै बस्छु। म गएँ भने कसले भाडा माझ्छ? उ तिनीहरूलाई माझ् भन्दा जम्मै जुठै छोड्छन्।'

होसको कुरा गर्न थालेपछि उनले औषधी छाडेको सुन्दा दङ्ग परेर फर्किए भेट्न जानेहरू।

+++

एकवर्ष बित्यो। महामारी फैलियो। मान्छे रोग र भोकसँग लडे। कति मरे। यस अवधिमा कति हुरी चल्यो, कति पानी पर्‍यो। विकासको कल्पनामा भने उस्तै छ उनले खात लाएर राखेको कवाडी सामान, अनि बाल्न ठिक्क छन् सुकाएको दाउरा। चामल, दाल र चिनीमा पनि सायद स्वाद कल्पँदा हुन् उनी।एक्लिएका देवता


तर, उनको छाप्रो भएको ठाउँ भने अहिले रित्तो छ। उनका देउता एक्लिएका छन्। जसरी एक वर्षअघि असरल्ल थिए विकासका लुगा र जुठा भाडा, त्यहीँ ठाउँमा असरल्ल छन् मान्छेले देउतालाई चढाएका नैवेद्य।

अघिल्लो साता विकासको स्वास्थ्य एकाएक बिग्रियो। उनलाई झाडापखला लाग्यो। उनका खुट्टाहरू सुन्निएर। आँखा रसिला भए। एक रात त पानी चलाएरै बिताएछन्। एकदुई पटक लुगामै दिसा गरेपछि डाक्टर बोलाए। परीक्षण भयो। मनोरोगको ‍औषधी फेरि सुरु गर्न सुझाए।

'ठीक भएको थियो। सेवा गर्ने। कुराकानी गर्ने हुनुभएको थियो। फेरि सञ्चो भएन,' सेवक विक्रम सापकोटाले भने, 'औषधी सुरु गरेका छौं। अहिले केही दिनअघि भन्दा सुधार भएको पनि छ।'

डाक्टरले कुनै घटनाका कारण परेको आघातले पछिसम्म पिरोल्ने बताएका रहेछन्। विकासले भोगेका घटना, दुर्घटनाको श्रृङ्खला झन् कहाँ सहजै भुल्न सक्ने हुनु? फर्किँदै आयो स्मृति तर सम्झन सुखद् कुरा भने भएनन्। अनि फेरि एक पटक बल्झियो घाउ।

हाल बाँसबारी, छाप्रो, गाउँले अनि चामल आदि सम्झाउँदा विकास हाँस्छन् मात्र।उद्धार गरिँदाको क्षण


'ओखती गरिसकेर मात्र फर्किन्छु। यता त स्याहर्ने मान्छे छन् नि। त्यता कोही छैन मेरो,' उनी एकोहोरो बोलिरहन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell