नेपाली मुलका दिवेश पोखरेल उर्फ अर्थर गनले अमेरिकन आइडलमा फेरि प्रतिस्पर्धा गर्ने भएका छन्।
बिलबोर्डले लेखेको समाचारअनुसार अर्थर गन ‘अमेरिकन आइडल’ को १९ औं संस्करणका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्। यसअघि उनी अमेरिकन आइडलको १८ औँ सिजनमा रनरअप भएका थिए।
सिजन १८ का १० प्रतियोगीले आउँदो संस्करणमा गायन प्रतिस्पर्धामा भाग लिने मौका पाएका हुन्। जसमा अर्थर गनसँगै फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस समेत छनोटमा परेका छन्।
अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कारण देखाउँदै गत सिजनका १० जनालाई मौका दिने निर्णय गरेको हो। १० जनाले अप्रिल १९ मा हुने एपिसोडका लागि प्रतिस्पर्धा गर्नेछन्।
अमेरिकाको बसाइँ सर्नुअघि दिवेशले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम समेत निकालिसकेका छन्।