PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न दुई/दुई वटा प्रस्ताव दर्ता



सुमित मिश्र

प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न दुई/दुई वटा प्रस्ताव दर्ता

जनकपुरधाम : प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि प्रदेशसभा सचिवालयमा दुई/दुई वटा प्रस्ताव दर्ता भएको छ। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुई/दुई वटा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

नामाकरणका लागि जसपाका प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साह तथा राजधानीका लागि जसपाका प्रदेशसभा सदस्य परमेश्वर साह तथा माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको सचिव यादवले बताए। दुवै दलका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘मधेस’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएको सचिव यादवले बताए।

जसपाको तर्फबाट राजधानी ‘जनकपुरधाम’को सवालमा परमेश्वर साहको प्रस्तावमा प्रदेशसभा सदस्यहरु चमेली देवी दास, सञ्चमाया मोक्तान र मिरा कुमारी साहले समर्थन जनाएका छन् भने नामाकरण ‘मधेस’ प्रदेशको सवालमा शैलेन्द्र कुमार यादवको प्रस्तावमा प्रदेशसभा सदस्यहरु रानी कुमारी तिवारी र बबिता कुमारीले समर्थन जनाएका छन्।

त्यस्तै, माओवादी केन्द्रको तर्फबाट राजधानी ‘जनकपुरधाम’ र नामकरण ‘मधेस’ प्रदेशको सवालमा संसदीय दलका नेता भरत प्रसाद साहले दर्ता गराएको प्रस्तावमा प्रदेशसभा सदस्यहरु जगत प्रसाद यादव र दिलीप कुमार साहले समर्थन जनाएका छन्।

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको समयमा प्रदेश सभाले बैशाख २ गते प्रदेशको नाम र राजधानीका लागि बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेका हुन्।

यसअघि २०७६ चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो। प्रदेश सभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो। तर, नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरूमध्ये कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत आउन सकेको थिएन।

यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले  प्रदेशको नाम मधेस प्रस्ताव गरेका थिए। नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए। तत्कालीन नेकपाले प्रदेशको नाम जानकी प्रस्ताव गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell