PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ओलीलाई अपदस्थ गराउनै पर्नै शशांकको सुझावमा देउवाको जवाफ, 'हटाउन चाहेकै हो, तर सियोर सट हुनुपर्‍यो नि'



ओलीलाई अपदस्थ गराउनै पर्नै शशांकको सुझावमा देउवाको जवाफ, 'हटाउन चाहेकै हो, तर सियोर सट हुनुपर्‍यो नि'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई वर्तमान सरकारबाट अपदस्त गराउनैपर्ने बताएका छन्।

नेविसंघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंको वाल्मीकि क्याम्पसमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले सभापति शेरबहादुर देउवालाई उक्त माग राखेका हुन्।

'देउवालाई मेरो आग्रह छ। हामी संकल्प गरौं। अहिलेको सरकार अपदस्त गर्नैपर्छ,' कोइरालाले भने। ओलीको नेतृत्वमा सरकारमा गएमा कांग्रेस समाप्त भएर जाने ठोकुवासमेत उनले गरे। 'यो सरकारले निर्वाचन गरेमा हामी फेरि समाप्त भएर जान्छौं। सभापति देउवालाई मेरो अनुरोध छ,' कोइरालाले भने।

कार्यक्रममा उनले आफ्ना पिता वीपी कोइरालाको एक प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीको दिमागमाथिसमेत प्रश्न गरे।

'बीपी पहिले कम्युनिस्ट थिए। पछि काँग्रेस भएपछि भन्नुभएको थियो - १६ वर्षको छौं, तर कम्युनिस्ट छैनौ भने तिम्रो हृदय छैन। तर २४ वर्षको हुँदा कम्युनिस्ट छ त्यसको दिमाग छैन। हाम्रो प्रधानमन्त्रीले कति वर्ष पुग्यो कुन्नि? मलाई थाहा भएन,' कोइरालाले प्रश्न गरे।

देउवाको जवाफ : ओलीलाई हटाउन सियोर सट हुनुपर्छ

सभापति देउवाले आफूले ओली सरकारलाई हटाउन चाहेको दाबी गर्दै तर सरकार बहुमतमा भएको बताए। ओली सरकार अनेक हत्कण्ड अपनाएर अघि बढ्न खोजेको उल्लेख गर्दै उनले नेकपा माओवादी केन्द्रकै कारण सत्तामा बहुमतमा रहेको उल्लेख गरे।

'ओलीलाई हटाउन चाहेकै छ नि। किन चाहदैन मैले। तर सियोर सट हुनुपर्छ है। त्यसको सन्दर्भमा सल्लाह हुँदैछ। मैले झुट बोलेर हुँदैन,' प्रचण्डले फिर्ता लिएको छैन। त्यहाँ बहुमतको सरकार छ। प्रचण्डले फिर्ता लिए पनि मधेशको पार्टीले समर्थन गर्न लागेको छ। भित्रभित्रै मिटिङ भइरहेको छ। के भइरहेको छ थाहा छैन।'

देउवाले ओली अवसरवादी भएको आरोपसमेत लगाए। 'राष्ट्रवादले चुनाव जितेका उनी अहिले भारतको त्वमशरणममा लागेको छ। हिजो भारतको विरोध गर्ने ओली भारतको टाङमुनि छिरिसके। अपर्चुनिस्ट हुन् यिनीहरु। राष्ट्रवाद खै?'

देउवाले सम्भावनाको खेल अझै बाँकी रहेकोले धैर्य हुनसमेत महामन्त्रीलाई आग्रह गरे। उनले भने, 'हेर्दै जाउ परिस्थिति। सम्भावना पनि छ। राजनीति भनेको सम्भावनाको खेल पनि हो। पार्टीको अधिवेशन आएको छ। पार्टीको अधिवेशन भइसकेपछि अरु काममा लाग्नेछौ। अहिले पार्टीका सबै एक भएर कोरोनाबाट बच्न लागौं। ओलीको कुशासनबाट मुक्त हुनुछ नै।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell