
काठमाडौं : नेकपा माओवादी केन्द्रले विपक्षी दलसँगको सहकार्यका बारेमा छलफल सुरु गरेको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने/ नलिने र अबको रणनीति लगायतका विषयमा पार्टी कार्यालय परिसडाँडामा छलफल भएको हो। कार्यालयमा भएको जारी स्थायी कमिटी बैठकमा उक्त विषयले प्रवेश पाएको सहभागी एक नेताले जानकारी दिए।
फागुन २३ गते एमाले माओवादी ब्युँतिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मोर्चा बनाउन व्यस्त छन्। उनले ओलीलाई सत्ताबाट हटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत संवाद अघि बढाएका थिए।
माओवादीले कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलसँग सहकार्यका लागि पहल भइरहेको भए पनि निष्कर्शमा भने पुगेको छैन।
माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा लागेका गृहमन्त्री बादल सहितका ४ जना नेतालाई माओवादीले कारवाही गरिसकेको भए पनि सरकारलाई दिएको समर्थन भने हालसम्म फिर्ता लिएको छैन।