
जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता नगराएका बाँकी दलहरुले प्रस्ताव दर्ता गराउने तयारी थालेका छन्। प्रस्ताव दर्ता गराउन बाँकी रहेको नेकपा एमाले र नेपाली कांग्रेसले अलग अलग प्रस्ताव दर्ता गराउने तयारी गरेका हुन्।
प्रदेशसभा सचिवालयले दिएको समयसीमा भित्रै प्रस्ताव दर्ता गराउनका लागि दुवै दल आन्तरिक छलफलमा जुटेका छन्। बुधवार दलको बैठक बसेर प्रस्ताव दर्ता गराउने आफूहरुको तयारी रहेको नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए। उनले बैठकबाट निश्कर्ष निस्किए भोलि नै वा ९ गते प्रदेश सभामा प्रस्ताव दर्ता गराउने जानकारी दिए।
उनले भने, ‘अघिल्लो वर्ष पनि हामी प्रदेशको नामांकनको लागि मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएका थियौँ। हामीहरुको अहिले पनि पुरानो स्ट्याण्ड कायमै छ, प्रदेशको नाम ‘मिथिला भोजपुरा’ र प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै प्रस्तावमा दर्ता गराउने हाम्रो तयारी छ।’
यता नेकपा एमाले केपी ओली समूहका नेता सत्यनारायण मण्डलले अहिलेसम्म प्रदेशको नामांकनका लागि प्रदेशसभामा कुन नाम दर्ता गराउने भन्ने विषयमा केही निर्क्यौल लाग्न नसकेको जानकारी दिए। यद्यपि स्थायी राजधानीका लागि जनकपुरधाम नै प्रस्तावमा दर्ता गराउने तयारी रहेको मण्डल बताउँछन्।
मण्डलले भने, ‘पछिल्लो समय पार्टी भित्र बढेको अराजकताका कारण यस विषयमा निर्णय लिन कठिनाई भइरहेको छ। बुधवार बैठक बसेर कुनै ठोस निर्णय लिएर प्रस्ताव लाने हाम्रो तयारी छ।’
यसैगरी, नेकपा एमाले माधव नेपाल समूहका नेता शत्रुधन महतोले प्रदेशको नामाकरणका लागि ३ नाममाथि छलफल चलिरहेको बताए। उनका अनुसार जानकी, जनक र मिथिला भोजपुरा मधेसमध्ये कुनै एक नाम दर्ता गराउने तयारी रहेको छ। यद्यपि स्थायी राजधानी भने जनकपुरधाम नै दर्ता गराइने उनले बताए।
महतोले भने, ‘यसअघि हामीले ‘जानकी’ नाम दर्ता नै गराएका थियौँ तर यस पटक जनक वा मिथिला भोजपुरा मधेसमाथि समेत छलफल चलिरहेको छ। सबैको साझा मतसहित ठोस निर्णय निस्किए लगत्तै हामीले प्रस्ताव दर्ता गराउने छौँ।’
यसअघि गत ५ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले प्रस्ताव दर्ता गराएका थिए। दुवै दलले प्रदेशको नाम ‘मधेस’ प्रदेश प्रस्ताव दर्ता गराएका थिए।
स्थायी राजधानीमा सत्तारुढ जसपाले जनकपुरधामसहित उत्तर तर्फ पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपाल भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा मार्ग भित्रको क्षेत्रलाई प्रस्ताव दर्ता गराएको थियो।
माओवादी केन्द्रले जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रुपमा प्रस्ताव गरेको थियो।
प्रदेश २ को प्रदेशसभामा १ सय ७ जना सांसद रहेकोमा ४ जना कारबाहीमा परेका छन्। हाल सतारुढ दल जसपासँग ५६ जना प्रदेशसभा सदस्य रहेका छन्। त्यस्तै, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र नेकपा माओवादी केन्द्रसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन्।
प्रदेशको स्थायी राजधानी र नामको लागि दुई तिहाइ बहुमतको आवश्यकता रहेकोमा कुनै पार्टीसँग पनि दुई तिहाई बहुमत छैन।