काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहाले जानकारी दिए।
मंगलबार बसेको स्थायी कमिटीको बैठक बुधवार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको थियो। मंगलबारको बैठकले नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक दलसँग तिव्र रुपमा वार्ता गर्ने निर्णय गरेको थियो।
माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आन्तरिक रुपमा छलफल गरिरहेको भए पनि हालसम्म समर्थन भने फिर्ता लिएको छैन। नयाँ सरकार गठन हुने निश्चित नभएसम्म सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नहुने माओवादी केन्द्रका नेताहरुले बताउँदै आएका छन्।
आज बस्न लागेको बैठकमा पार्टी संगठन, विधान संसोधन, केन्द्रीय समितिको बैठक आह्वान लगायतका प्रस्ताव बैठकमा पेश भएका थिए। हिजो पेश भएका प्रस्तावमाथि छलफल गरेर निर्णय गर्ने माओवादी केन्द्रको तयारी छ।