PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

विराटनगरको नोबेल मेडिकल कलेजले सुरु गर्‍यो आइभीएफ सेवा



विराटनगरको नोबेल मेडिकल कलेजले सुरु गर्‍यो आइभीएफ सेवा

विराटनगर : विराटनगरको नोबेल मेडिकल कलेजले निःसन्तान दम्पतीलाई कृत्रिम गर्भाधान गराउन आइभीएफ सेवा सुरु गरेको छ।

अस्पतालभित्रको स्त्री तथा प्रसूति विभागमा ४ करोडको लगानीमा कलेजले आइभीएफ सेवा सञ्चालनमा ल्याएको हो।

कलेजका संचालक डाक्टर सुनिल शर्माकी आमा भूमादेवी न्यौपानेले आइभीएफको उद्घाटन गरिन्।

कलेजका आईभीएफ प्रमुख डाक्टर शान्ति सुवेदीका अनुसार आईभीएफ प्रणालीमा पुरुषको शुक्रकीट र महिलाको डिम्ब निकालेर त्यसलाई प्रोसेस गरेर भ्रूण बनाइन्छ। यसरी प्रोसेस गर्दा शुक्रकीट र डिम्बलाई ८ दिनसम्म विशेष प्रकारको प्रयोगशालामा राखिन्छ। प्रोसेसिङ पूरा भएर भ्रूण तयार भएपछि उक्त भ्रूणलाई महिलाको पाठेघरमा लगेर राखिन्छ।

विराटनगरमा हाल विराट अस्पतालमा र काठमाडौंका केही स्वास्थ्य संस्थामा यो सेवा उपलब्ध भएको बताइएको छ।

डाक्टर सुवेदीले महिनामा ४० जोडी सम्मलाई कलेजले आइभीएफ सेवा दिन सक्ने जानकारी दिइन्।

कलेजले आईभीएफको प्रशिक्षण विभाग पनि सुरु गरेको छ। यहाँ सर्वप्रथम अस्पतालकै स्वास्थ्यकर्मी, डाक्टर र विद्यार्थीलाई आइभीएफको तालिम दिइन्छ। यसबाहेक  बाहिरका इच्छुक प्रशिक्षार्थीलाई पनि निश्चित शुल्क लिएर तालिम उपलब्ध गराउने सुवेदीले बताइन्।

आइभीएफको उपचार गराउन एक दम्पतीलाई काठमाडौंमा ३ देखि ४ लाख रुपैयाँ लाग्दै आएको छ । उनले नोबेलमा सकेसम्म कम खर्चमा सेवा दिने प्रयास भइरहेको दाबी गरिन् ।

नोबेल अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमा दैनिक १५० को हाराहारीमा महिला बिरामीहरू आउँछन् । यस विभागका लागि अस्पतालले इनडोरमा १४० शय्या छुट्याएको छ ।

कलेजका निर्देशक एवम् मुटुरोग विशेषज्ञ डाक्टर राजेश नेपालले आइभीएफ सेवाका लागि अमेरिका, डेनमार्क र जापानबाट अत्याधुनिक उपकरणहरू ल्याइएको जानकारी दिए। डाक्टर शर्माले भारतका विशेषज्ञले प्राविधिक सहयोग गरिरहेको उल्लेख गरे।

कलेजका सञ्चालक डाक्टर शर्माले कलेजले २५० करोडको लगानीमा अङ्कोलोजी सेन्टर (क्यान्सर उपचार केन्द्र) को निर्माण भइरहेको बताए। कलेजमा अङ्कोलोजी सेन्टरको सञ्चालनको आरम्भ आगामी वर्ष गरिने योजना छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell