पोखरा, सराङकोट। पालैपालो डाँडा छाडेर उडिरहेका थिए प्याराग्लाइडरहरू। उडेको केहीबेरमा आउने आवाज उल्लासमय सुनिएको थियो। सबैको ध्यान खिच्ने। साहस र रोमाञ्चको त्यो माहोललाई मुन्टो केही माथि उठाएर हेरिरहेकी थिइन्, इल्या भट्टराई। आँखामा परेको घाम छेक्न देब्रे हत्केलालाई थाप्लोमा राखेकी थिइन् उनले। ओठको हाँसो भने केहीले छेकेको थिएन, दङ्ग देखिन्थिन् उनी।
'चराहरू पनि स्वतन्त्र हुनुको खुशी यसरी नै मनाउँछन् होला है?,' उनले आकस्मात् राखेको प्रश्नको जवाफ थिएन, नजिकै उभिएको कोहीसँग पनि। उनले पनि कोही बोल्लान् भन्ने नपर्खिइ वाक्य पूरा गरिन्,'यस पटक म पनि त्यस्तै स्वतन्त्रताको अनुभूति बटुल्न आएकी हुँ।'
उनी यतिबेला तिनै महिला पात्र जस्तै लाग्छिन् जसलाई उनले आफ्नो कथामा स्थापित गरेकी छिन्। उनी ती पात्र जस्तै देखिइन् जो एकदिनको लागि आफ्नो उन्मुक्तिको उत्सव मनाउँछिन्। उनको सराङकोटको उपस्थितिले त्यही कथाको ब्याख्या गरे झै देखियो -
'मैले कसैको आदेश पालना गर्नुपर्ने छैन। आज म आफ्नो निम्ति बाँच्नका लागि मुक्त छु। अब यहाँ लन्च खाएर दिनभरि म यहीँ दरबार मार्गका पसलहरू चहार्छु। मलाई आइसक्रिम साह्रै मीठो लाग्छ तर घरमा मेरो इच्छाको कसलाई वास्ता र! त्यही भएर एकछिनपछि म त्यो पार्लरमा बसेर एक्लै भए पनि र आइसक्रिम खान्छु। सके कुनै मलमा गएर एक्लै सिनेमा पनि हेर्छु।'
कथा 'आज म उन्मुक्त छु'को केन्द्रीय पात्र। कथाकार इल्या स्वयं। उनले आफू उन्मुक्ति खोज्दै पोखरा आएको सुनाइरहँदा लाग्छ – ती कथाकी पात्र उनको मनोविज्ञानको उपज हो।
तर, कस्तो उन्मुक्तिको खोजी गरिरहेकी छिन् उनी? केले बाँधेको होला र असमानता,शोषण, अन्याय, अत्याचारविरुद्ध लेख्ने एक स्वतन्त्र लेखकलाई?
प्रश्नको फुर्का लामो बन्दै थियो। उल्झन शुरु हुनुअघि इल्याको हाँसोले संकेत गर्यो- उनी केही भन्न आतुर छिन्।
'म केही दिन पोखरा नै बस्छु, डुल्छु। एक्लै,' उनले भनिन्, 'म यस पटक उन्मुक्तिको खोजी गर्दै आएकी हुँ। घण्टौं ताल बाराहीलाई फन्को लगाउँदै डुङ्गा चढ्छु। लेकडाइडमा निस्फिक्री डुलिरहेका उर्जावान युवतीहरूलाई हेर्छु। स्वतन्त्र उनीहरूलाई देख्दा मलाई निकै आनन्द आउँछ।'
इल्या, शिक्षित परिवारकी छोरी। स्वयं अध्यापन र साहित्य लेखनमा वर्षौ बिताएकी। उनी कस्तो स्वतन्त्रताको खोजी गर्दै पोखरा पुगेकी हुन्? सामाजिक बन्धनबाट उन्मुक्त हुन चाहने उनको कथाकी पात्र र उनले चाहेको उन्मुक्ति एकै त होइन?
प्रश्न स्वभाविक थियो।
'म मानसिक बन्धनबाट मुक्त हुन चाहन्छु। नैराश्यता र तनावबाट मुक्त।'
+++
पर्खालभित्र र बाहिरका दृश्य उस्तै हुँदैनन्।
पद्मकन्या क्याम्पसको विद्यार्थी संघकी महासचिव थिइन् इल्या। स्वभावले क्रान्तिकारी। आफ्नो आवाज बुलन्द राख्ने उनी मनोविज्ञानमा स्नातक गर्दै थिइन्।
राजनीतिमा लागेकी उनी कहिलेकाहीँ क्याम्पसमै अल्मलिन्थिन्। अनि सुरु हुन्थ्यो पर्खाल पछाडिको दृश्य। उनलाई खोज्दै बाटोसम्मै धाउथिन् उनकी आमा। गाली गर्थिन्। प्रतिवाद गर्यो भने 'कुरो' बुबासम्म पुर्याउने धम्की। किन हो, बुबासँग डर लाग्थ्यो उनलाई। समाजले सिकाएकै डराउन थियो। यस्तै स-साना नियमहरू समाजले थोपरेको थियो जसलाई पालन गर्नुपर्दा उनीभित्र लोभ जाग्थ्यो – स्वतन्त्रताको।
आफूभन्दा ३ वर्ष जेठो दाइ उनको रुचीको काम गर्थे, भविष्यको योजना बनाउँथे। तर उनी? बाँधिएको महसुस गर्थिन्। मनमौजी हुन त टाढाको कुरा किशोरावस्थामा लेखेका प्रेम कविता र कथा समेत बुबाआमालाई देखाउने हिम्मत थिएन।
आफ्ना रहरहरू दबाउनु पर्दा हुने छट्पटाहटको गुनासो कोसँग गर्नु? आमालाई सधैं छोरीको बिहे गरेर पठाउने हतारो। बुबा मदनमणि लेखनमा 'मणि' नै भइसकेका तर परिवारका लागि त्यत्तिकै दुर्लभ। त्यसैले मदनमणिका नजिक केही थियो भने – साहित्य, पत्रकारिता, फोटोग्राफी र राजनीतिमात्र। आफ्नो क्षेत्रका ज्ञाता ठहरिएका उनलाई छोराछोरी कति कक्षामा पढ्छन्? भन्ने समेत थाहा हुँदैन थियो किनकि उनी थिए मनमौजी।
'मनभरी आगो बोकेर ओकल्न नसक्नुले उकुसमुकुस गराउथ्यो। त्यो मेरोमात्र समस्या थिएन। त्यस समयको सामाजिक संरचनाको दोष थियो, 'इल्या सुनाउँछिन्, 'रहरहरू दबाउनु पर्दा लाग्थ्यो उड्न खोज्दाखोज्दै कसैले पखेटा काटिदियो।'
उमेरले २२ टेक्दा उनको विवाह भयो। सोचेकी थिइन् - विवाहपछि पढाई, लेखाइ र कलेज जाँदा अङ्कुराएका क्रान्तिका धारलाई बिट मार्नुपर्छ। घर गृहस्थी सुरु हुन्छ, जिम्मेवारीले थिच्छ। दबेका रहर र इच्छाहरूले टाउको उठाउन पाउँदैनन्।
समाजले छोरी मान्छेका लागि बनाएको नियमलाई स्वीकारेरै, श्रीमानले डोहोर्याएको बाटोमा उनी हिँडिन्। उनलाई पत्तो थिएन, त्यो बाटोले उनलाई लेखक बनाउँछ, उनीभित्रको साहित्यकारलाई जगाउँछ।
+++
जिम्मेवारी वा बाध्यताका पैतालाले रहरहरू दबिन सक्छन्। तर, तिनलाई मार्न कठिन हुन्छ भन्ने बुझेकी थिइन् इल्याले। लेखन उनका लागि संजिवनी हुन्थ्यो। त्यसैले लेख्न छाडिनन् अनि देखाउने हिम्मत पनि जुटाउन सकिनन्।
२०४४ सालमा पश्चिमाञ्चल क्याम्पस निर्माण योजनाका प्रमुख थिए, इन्जिनियर दीपक भट्टराई। अर्थात्, इल्याका श्रीमान्। उनीहरू पोखरा नै बस्थे। उतै हुँदा हो, एकदिन साहित्यिक पत्रिका गरिमा इल्याको हात लाग्यो। नयाँ अङ्क पढ्न पाउनु कम्ता खुशीको विषय थिएन उनका लागि। पाना पल्टाउँदै जाँदा आँखा टक्क अडियो – कथा ‘उसको पुतली’मा। कुनै समय लेखेर थन्क्याएको आफ्नै कथाको शीर्षक अप्रत्यासित त्यहाँ देख्दा छक्क परिन्। आँखा दौडिए लेखकको नाममा। लेखिएको थियो - इल्या भट्टराई।
सबैका आँखा छल्दै इल्याले लेख्ने गरेको दीपकले चाल पाएछन्। त्यसपछि सुटुक्क उनले लेखेको कथा गरिमामा पुर्याएछन्। अनि त्यो नयाँ अङ्क पनि त्यसैगरी घरमा भित्रिएको रहेछ। इल्याको जीवन यात्राको यो महत्वपूर्ण घुम्ती बन्यो। त्यसपछि उनले आफ्ना रचनाहरू लुकाउनु परेन। लेख्दालेख्दै कुनै कथा अपूरो छाड्नु परेन। श्रीमानले सधैं प्रोत्साहित गरे। कहिले इन्जिनियरहरूको जर्नलका लागि ‘हेलिपुच्छ्रे तारा’का बारेमा लेख्न लगाए त कहिले इन्जिनियरकी श्रीमती हुँदा भोग्नु परेका अप्ठ्याराहरू समेटेर निबन्ध।
विवाहपछि आफूभित्रको 'मान्छे' चिनिन् इल्याले। त्यसअघि उनी छोरी बाहेक केही थिइनन्। जो दाजुहरूको तुलनामा बाँधिएको समय बाँच्न बाध्य थिइन्।
घरमा भन्दा ठीक विपरीत जीवनको सुरुवात भइसकेको थियो उनको। श्रीमानले उनलाई महत्वपूर्ण बैठकहरूमा साथै लैजान थालेका थिए। जिल्ला वाअञ्चलका प्रमुखहरू, इन्जिनियरहरूसँग भेट हुन्थ्यो। त्यहाँ विभिन्न पद र तप्काका मानिसले इल्यालाई ‘दिदी’, ‘भाउजु’ वा ‘म्याडम’ सम्बोधन गर्थे। नमस्कार पनि।
‘कसैले नमस्कार गर्नु अविश्वसनीय थियो मेरा लागि। माइतीमा त आफू कान्छी छोरी। कहाँ त्यो सम्मान पाउनु?,’ सराङकोटमा सुस्तरी उनले अनुभव साटिन्, 'जे होस्, मलाई आफू पनि केही रहेछु भन्ने महसुस हुन थाल्यो।'
सम्मानसहितको जिम्मेवारी काँधमा थपिएको महसुस गर्न थालिन्। त्यसपछिको यात्रा अझै फराकिलो हुन्छ भन्ने बुझिन्।
लेखन उनको दैनिकीमा समेटिँदै गयो। प्रतिक्रियाले प्रोत्साहित गर्दै लग्यो। ‘लेख्दै लुकाउने गरेकाले होला आत्मविश्वास थिएन। जति बाहिर देखाउँदै गएँ त्यति आफ्नो लेखनमा सुधार्नु पर्ने विषयहरूबारे सुझाव पाएँ। बाहिर निस्किएपछि रहेछ हुर्कने। जीवनमा पनि लेखनमा पनि,’ उनको जीवन दर्शन बदलियो।
त्यसपछि उनका कथा, कविता फाट्टफुट्ट पत्रपत्रिकामा प्रकाशित भइरहेका थिए। दीपककै हौसलाले अध्यापनलाई पेशाका रुपमा अंगालेकी थिइन् उनले।
२०५२ सालताका काठमाडौंकै एक स्कूलमा पढाउथिन् इल्या। एकदिन स्कूलमा आएका एक व्यक्तिले उनी मदनमणि दीक्षितकी छोरी हुन् भन्ने थाहा पाएछन्। मदनमणिकी छोरीसँग भेट हुँदा हर्षित थिए उनी। इल्या पनि दङ्ग।
घर फर्कँदा गाडीमै त्यस भेटबारे दीपकलाई त्यो घटना सुनाइन् इल्याले। भनिन् – मदनमणिकी छोरी भएर चिनिन पाउँदा गर्व महसुस हुन्छ।
उनको त्यो उत्साहमा घ्याच्चै ब्रेक लाग्ने गरी दीपकले सोधे – तिमीलाई आफ्नै नामले चिनिने इच्छा छैन?
इल्या नाजवाफ!
पहिलो पटक आफूभित्रको लेखकसँग अन्तर संवाद गर्न बाध्य भइन् त्यस प्रश्नले। अनि उनले भेउ पाइन् – त्यो लेखकले संसारको अझै फराकिलो आयाम देख्नु छ। अझै लेख्नु छ।
+++
दुध्वा राष्ट्रिय निकुञ्ज हुँदै नेपाल र भारतको सीमासम्म पुग्नु थियो उनीहरूलाई। लामो दूरी पार गरेपछि जंगलको बिचमा भेटे एउटा ढावा। चर्चित डाँकु फूलनदेवीको दबदबा रहेको भनिएको ठाउँ थियो त्यो। त्यहीँ खाने कि नखाने? द्वविधाबिच निख्खर सेता कुर्ता लगाएको र लामो मैन लगाएर घुमाएको जुङ्गा व्यक्तिसँग भेट भयो।
सवाल- जवाफका क्रममा दीपकले आफूहरू सडक सर्वेक्षणका लागि निस्किएको बताए। केहीबेरको केरकारपछि ती मानिसले उनीहरूको खानासहित सत्कार गरे। यात्राका लागि शुभकामना दिए। त्यतिमात्र होइन फूलनदेवीले २२ जना ठाकुरहरूलाई मारेको ठाउँसमेत देखाए।
अन्त्यमा थाहा भयो, जुङ्गा पालेका मानिस त डाँकु नै रहेछन्। फुलनदेवीलेजस्तै त्रास फैलाएर बसेको डाँकु।
२०३७ सालको त्यस घटनाबारे संस्मरण लेखिन् इल्याले। त्यो संस्मरण उनले बुबा मदनमणिलाई देखाएको पहिलो लेख थियो। प्रतिक्रियामा दीक्षितले भनेका थिए – तँ त राम्रो लेख्दी रहेछस्।
त्यसपछि हो इल्याले आफूभित्रको लेखकका लागि समय छुट्याएको, १४ वर्ष लामो पढाउने पेशामा बिट मारेरै। उनीसँग बेलायतका ६ वटा शहर एक्लै घुमेका अनुभूति थिए। घुम्दाघुम्दै समयको ख्याल नहुनु र रातको ११ बजे घर फर्किएको प्रसङ्ग अनि भोगाइ, देखाइ र बुझाइले दिएका प्लटहरू थिए। उनले ती संस्मरणलाई शब्दमा उतार्न थालिन्।
२०६० सालमा उनको पहिलो कथा संग्रह 'मनमनै' प्रकाशित भयो। हालसम्म ६ वटा कथा संग्रह र ४ वटा नियात्रा सार्वजनिक भइसकेका छन् उनका।
बेलायतमा बसेर फर्किएको १६ वर्षपछि, २०६१ सालमा छापियो नियात्रा 'लफवराको वरिपरी।' भूमिका लेख्नका लागि दिइन् प्राध्यापक गोविन्द भट्टराईलाई। थोरै डर अनि आलोचनात्मक प्रतिक्रियाको आशासहित पुर्याएकी थिइन् त्यो नियात्रा। केही दिन पछि गोविन्द भट्टराई त घरमै पो आइपुगे!
'यति राम्रो लेख्ने मान्छे को हो?,' भट्टराईको प्रश्न थियो।
लेख्दै जाँदा हौसलाहरूको पनि चाङ लाग्दै गयो। लेखन निखारिँदै गएको प्रमाण थिए प्रतिक्रियाहरू। कहिले मनुजबाबु मिश्रले फोन गरेरै संस्मरणको तारिफ गरिदिन्थे। कहिले रमेश विकल सन्देश पठाउँथे – बाल साहित्यलाई निरन्तरता दिनु है।
'तर योजना अनुरुप के नै चल्दो रहेछ र?'
योजना र कल्पना बाहिरका घटनाहरूलाई इंगित गर्छिन् उनी जसले उनको लेखन यात्राको रफ्तारलाई फेरि एकाएक धिमा गराइदियो।
+++
२०७३ को साउन महिनातिर दीपक भट्टराईको स्वास्थ्य बिग्रियो। उपचारका लागि भारत लिएर गइन्। उपचार गरेर फर्कने योजना बनाएका थिए। तर, उपचार गरे पनि ठीक नहुने समस्या छ भन्ने कहाँ पत्तो हुनु?
थाहा पाएको क्षण इल्या एक्लै थिइन्, श्रीमानको भरोसा। त्यो परिस्थितिमा एक्लो हुनुको अर्थ बलियो उभिनु रहेछ। उनी कमजोर हुन्थिन् वा उनलाई आँशुले गलाउथ्यो भने प्रत्यक्ष असर पर्थ्यो दीपकलाई।
पतिले लत्तो नछाडुन् भन्नका लागि पनि इल्याले आफैलाई सम्हालिन्। नत्र खबर कहाँ सह्य थियो र? दीपकलाई फोक्सोको क्यान्सर भइसकेको रहेछ।
'साह्रै पीडादायी अवस्था थियो त्यो। तर, मैले आँशु झार्नु भनेको आफूसँगै मेरा श्रीमानलाई कमजोर बनाउनु थियो,' दिल्लीमा उपचार गराउँदाको समय सम्झिइन्, 'सधैं आफूलाई प्रेरित गरेको मान्छेलाई मैले सम्झाइ रहेकी थिएँ। अब के होला? भन्ने अन्यौलता बिच 'सबैकुरा ठीक हुन्छ' भनिरहेको थिएँ। समयले गरेको त्यो प्रहार एक्लै सहनु पर्यो।'
आशा बोकेर गएका उनीहरू केही थान ओखती लिएर फर्किए। त्यसपछि उनीहरूको दैनिकी फेरियो। अस्पताल, डाक्टर, परीक्षण, रिपोर्ट र औषधीहरू – यतै कतै अल्झियो इल्याको कलम पनि।
संयोगबस् डाक्टरले तोकिदिएको २ महिने म्याद गुज्रियो। तर, त्यो कहाली लाग्दो क्षण आएन। एक कुशल इन्जिनियरको क्यान्सरसँगको लडाइँ लम्बियो। त्यसरी समय लम्बिनु परिवार, आफन्त अनि साथीभाइका लागि सुखद् विषय थियो। सबैभन्दा खुशी इल्या थिइन्। किनकि उनीसँग साट्न बाँकी खुशी, गर्न बाँकी गुनासा, दिन बाँकी प्रेम र जताउन बाँकी सम्मानको पोको अझै भरी थियो।
दीपक सासलाई बन्दुकबाट छुटेको गोलीको संज्ञा दिन्थे। जुन छुट्ने बेलै कहाँ लाग्छ निश्चित हुन्छ। मान्छेको जीवन पनि त्यस्तै हो, मृत्युमै पुगेर टुंगिन्छ भन्ने उनको तर्क हुने गर्थ्यो।
'हामी अक्सर जीवन र मृत्युकाबारे कुरा गर्थ्यौं। उहाँ सधैं आफूले सार्थक जीवन बाँचेको र मृत्युको भय नरहेको सुनाउनु हुन्थ्यो। तर, मलाई भने उहाँले यस्तो कुरा गर्दा साह्रै डर लाग्थ्यो। लाग्थ्यो – मैले बाँच्नुको कारण गुमाउँदैछु, बिस्तारै,' इल्या सम्झन्छिन्।
सम्बन्धहरूले कति बलियो आड दिँदो रहेछ भन्ने बुझेको क्षण थियो त्यो।
आफ्नै फोक्सोसँगको संघर्षमा दीपकका थुप्रै स्वास्थ्य परीक्षण भए। हरेक पटक रिपोर्टको पर्खाइ। केही घण्टा पनि वर्षौ जसरी बित्यो उनीहरूको। त्यो लम्बेतान पर्खाइपछिको नतिजा भने सधैं निराशाजनक।
'पर्खनु सबैभन्दा कठिन काम रहेछ। अनि आफूले नचाहेको सत्य स्वीकार्नु त्यसभन्दा कठिन,' यति बोल्दै गर्दा उनको बोली केही मलिन सुनियो।
जसको जति निकट भएपनि पीडा र मृत्यु एकलेअर्कासँग साट्न मिल्दैन।
गत वर्ष, साउन ३० गते। वरिष्ठ साहित्यकार मदनमणि दीक्षित बिते। ९८ वर्षीय उनको मृत्युको खबरले 'माधवी'का पाठकहरूलाई स्तब्ध तुल्यायो। इल्याका लागि भने जीवनले लिएको अर्को एउटा परीक्षा थियो। उनले न जीवन र मरण बिच अल्झिएका श्रीमानलाई छाडेर हिँड्न सकिन् न पिताको देहावसान अघि उनको साथै रहन।
आफ्नाको पीडामा पूर्ण उपस्थित हुन नसक्नुको वोध थियो उनमा। त्यो स्वीकारोक्तिसँगै कमजोर बन्दै गयो उनको मानसिक स्थिति। एकातिर उनले जीवनमा सबैभन्दा बढी सम्मान गरेका पुरुषले सास छाडेका थिए। जसले किताब पढ्ने र लेख्ने वातावरण दिए। उनकै प्रभावमा इल्याभित्र जाग्यो लेखक। अर्कातिर उनलाई जीवन बाँच्न सिकाउने पुरुषलाई सास फेर्न हम्मेहम्मे भइरहेको थियो।
जीवन र जगतबारे विमर्श गर्दागर्दै मृत्युलाई पनि उन्मुक्ति हो भन्ने भएकी थिइन् इल्या। तर, दीक्षितको मृत्युको अढाइ महिनापछि ६९ वर्षको उमेरमा दीपकले पनि प्राण त्यागे। त्यो मृत्यु इल्याका लागि आफू हुनुको कारक गुम्नु थियो।
'उहाँसँगको साथले म म भएकी थिएँ।थाहा थियो त्यो साथ धेरैका समयका लागि बाँकी छैन। तर, उहाँ नहुनुलाई कसरी सहजै लिन सक्थेंँ र?,' उनले भनिन्।
आँशु त महिनौं अघिदेखि बगेकै थिए। पतिको मृत्युले उनलाई थप विचलित बनायो। जीवनमा उनले हृदयको नजिक राखेका दुई पुरुषको एकपछि अर्को मृत्यु। उनी केही विचलित भइन्। मानसिक अनि शारीरिक रुपमा गल्दै पनि गइन्।
बेफिक्री डुल्दै हिँड्ने अनि यात्रा संस्मरण लेखनमा रमाउने उनको दैनिकी श्रीमान बिरामी भएदेखि नै टक्क अडिएको थियो। अब झन् कहाँ निस्कनु? कोसँग रमाउनु? पहिलो अनि दोस्रो पाठक, श्रीमान र बुबा नै नरहेपछि लेख्ने उर्जा फर्कने कुरै भएन। उनलाई नैराश्यताले छोप्यो।
इल्या आफू जिवित रहनुको उद्देश्य र सार्थकताबारे गम्थिन्। रोक्ने, छेक्ने कोही थिएनन् तर पनि बाँधिएको महसुस गर्थिन्। केही गर्नै नसक्ने गरी। बाहिर निस्कँदा उज्यालोले लखेटे सरह महसुस हुन्थ्यो उनलाई।
दीपकको मृत्युको करिब ४ महिना नबित्दै कोरोना भाइरसको महामारीले लकडाउन भयो। त्यसपछि झन् कहाँ निस्कनु? के लेख्नु? उनीकहाँ घरायसी कामका लागि आउने सहयोगीहरू पनि आउन छाडे। एक्लो हुँदा घरधन्दा उनकै जिम्मेवारी बन्यो। दिनभर एउटा कुनामा सोचेर बस्ने उनी घरधन्दामा व्यस्त हुन थालिन्। व्यस्त हुँदा तनाव केही कम हुँदो रहेछ भन्ने त्यतिखेरै बुझिन् पनि। त्यसपछि त सकेसम्म आफैलाई व्यस्त राख्ने उपायहरूको खोजी गर्न थालिन्। लकडाउन अवधिमै हो उनले आफ्नो इजिप्टको नियात्रा 'मिसर' सक्काएको।
अनि उनले योजनाहरू बुन्दै गइन्। मानसिक उन्मुक्तिको खोजी गरिन्। त्यसैको एक परिणाम हो, पोखरामा उनको उपस्थिति। त्यो उपस्थिति जहाँ उनले बोध गरिरहेकी थिइन् – अरु कोही बिना पनि 'इल्या'को अस्तित्व रहोस्।
यस पटक फेवातालको छेउमा घण्टौं बसेर पुस्तक पढिन् उनले। एक्लै डुङ्गा सयर गरेर एक किनाराबाट अर्कोतिर पनि पुगिन्। समयको डुङ्गाले कहाँबाट कहाँ पुर्यायो मनन् गरिन्। फूलेका कपाल हेर्दै ऐनासँग भनिन् – उमेर त अङ्कमात्रै हो, अहिले म तिनै युवतीहरू जस्तै भएकी छु जो निर्वाध स्वतन्त्रता भोगिरहेका छन्।
पोखरा त्यही ठाउँ हो जहाँ उनले पहिलो पटक आफ्नै कथाको प्रकाशित स्वरुप देखेकी थिइन्। त्यहीँबाट उनले कसैसँग नलुकाइ लेख्न थालिन् पनि। त्यहाँको तीन दिने उन्मुक्त बसाईपछि काठमाडौं फिर्नु थियो। फर्कँदाफर्कँदै इल्याले संकल्प गरिन् – अब मेरो कलम रोकिने छैन।