PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

प्रदेश २ को नामाकरणका लागि ६ र स्थायी राजधानीका लागि ७ सांसदले गराए प्रस्ताव दर्ता



सुमित मिश्र

प्रदेश २ को नामाकरणका लागि ६ र स्थायी राजधानीका लागि ७ सांसदले गराए प्रस्ताव दर्ता

जनकपुरधाम : प्रदेश २ को नामाकरणका लागि ६ र स्थायी राजधानीका लागि ७ वटा प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएका छन्। आज दिउँसो ३ बजेसम्म निर्धारण गरिएको समयसीमाभित्र प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए।

प्रदेशसभा सचिवालयमा प्रदेशको नामाकरणका लागि मधेस, जानकी, मिथिला भोजपुरा र मध्य मधेस प्रदेश नाम दर्ता गराइएको छ। त्यस्तै, स्थायी राजधानीका लागि जनकपुरधामको पक्षमा ५ र वीरगंजको पक्षमा २ वटा प्रस्ताव दर्ता भएको सचिव यादवले बताए।

सत्तारुढ दल जनता सामाजवादी पार्टी (जसपा)को तर्फबाट पार्टीका सचेतक शैलेन्द्र यादव र नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेशको नाम मधेस प्रदेश दर्ता गराएका छन्। त्यस्तै, नेकपा एमालेका प्रमोद कुमार यादवले जानकी, एमालेकै शारदा देवी थापाले जनक र नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएका हुन्।

त्यसैगरी, नेपाली कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले मध्य मधेस प्रदेश नाम तोक्न प्रस्ताव दर्ता गराएको सचिव यादवले बताए। मध्य मधेस प्रदेश प्रस्तावको समर्थन सांसदहरु शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशिया देवी थरुनीले गरेका छन्।

त्यस्तै, राजधानीमा ७ वटा प्रस्ताव दर्ता भएका छन्। प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साह र सिंगासन साह कलवारले वीरगंजलाई प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने माग गर्दै प्रस्ताव दर्ता गराएका छन् भने बाँकी सबैले जनकपुरधामलाई स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गराएका हुन्।

सचिव यादवले प्रस्ताव दर्ता भएपनि निर्वाचनको समय अहिले नतोकिएको जानकारी दिएका छन्। प्रदेशसभाको बैठक शुक्रवार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell