PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'श्वास' सकिएको राजधानी दिल्ली



'श्वास' सकिएको राजधानी दिल्ली
दिल्लीको लोक नायक जयप्रकाश अस्पतालमा एउटा बेडमा दुई कोभिड १९ संक्रमित राखेर उपचार गरिँदै  Photo : REUTERS/Danish Siddiqui

अस्पतालभित्र बिरामीको चाप, बाहिर पनि बिरामीको भीड उस्तै। केही समयको अन्तरालमै एम्बुलेन्सको साइरन बज्दै अस्पताल पुग्छ, बिरामी ओराल्छ र फेरि अर्को बिरामी लिन जान्छ। तर ती बिरामीले अस्पतालभित्र प्रवेश पाउँदैनन्। भारतको विभिन्न राज्यका अस्पतालको अवस्था यस्तै छ। अझै राजधानी नयाँ दिल्लीको 'हेल्थ सिस्टम' पूरै अस्तव्यस्त भइसकेको छ। कारण - कोभिड १९।

अस्पतालमा एउटा बेडमा दुई तीन जना कोरोना संक्रमित बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था छ। अस्पताल बाहिर कुर्दाकुर्दै बिरामीहरुको मृत्यु भइरहेको छ।  

करिब दुई महिनायता कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। बिहीबार भारतमा एकैदिन ३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भयो। यो विश्वमै हालसम्म एकैदिन देखिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो। यस्तै, दैनिक २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।

यसरी मृत्यु हुनेहरुमा धेरै जनाले अक्सिजन पाउन सकेका थिएनन्। राजधानी नयाँ दिल्लीका प्रायः सबै अस्पतालहरुमा अक्सिजनको अभाव छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यमा केहीदिनदेखि अक्सिजनको संकट रहेको स्वीकार गरिसकेका छन्। स्थानीय मिडियाहरुले राजधानी नयाँ दिल्लीमा 'श्वास' सकिएको र अक्सिजनको आपूर्ति नभए उपचार नपाउँदै धेरैको मृत्यु हुने सम्भावना रहेको उल्लेख गरेका छन्।  एक अध्ययनका अनुसार दिल्लीमा प्रत्येक ३ जनामध्ये १ जनामा कोभिड १९ संक्रमण भएको देखिएको छ।

दिल्लीमा रहेका सरकारी होस् या निजी अस्पताल, यी सबै अस्पतालमा अक्सिजनको उपलब्धता अहिले निकै न्यून छ। म्याक्स, फोर्टिस, एपोलो लगायत दिल्लीका महंगा र ठूलो अस्पतालहरुले अक्सिजन उपलब्ध गराउन दिल्ली सरकारलाई आग्रह गरेका छन्। केही अस्पतालहरुले अक्सिजनको माग गर्दै सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन्। 

अक्सिजन कमी हुँदा दिल्लीका अस्पतालमा संक्रमितको उपचार रोकिने छ। दिल्लीका धेरै अस्पतालहरुमा बिहीबार बेलुकीसम्म पुग्ने अक्सिजन रहेको छ। कोभिड १९ संक्रमितका आफन्त लाइनमा बसेर अक्सिजनको प्रतीक्षामा छन्।

दिल्लीका सरोज अस्पतालका निर्देशक पीके भर्दवाजले करिब ६ दिनदेखि अक्सिजन उपलब्ध नभएको बताउँदै आफूहरुसँग करिब १ घण्टाको लागि मात्रै अक्सिजन बाँकी रहेको बताए। उनले यस्तै अवस्था रहे दिल्लीको अवस्था गम्भीर हुनसक्ने बताए। अन्य अस्पतालहरुले पनि आफूसँग केही घण्टाको लागि मात्रै अक्सिजन रहेको जनाएको छ। हाल अस्पतालमा रहेका ७५ प्रतिशत बिरामीको जीवन अक्सिजनमा निर्भर रहेको अस्पतालहरुले जनाएका छन्। दिल्ली सरकार अक्सिजन उपलब्ध गराउन आफूहरु प्रयासरत् रहेको दाबी गर्दै आएको छ।

किन बढ्यो अभाव ?

हरियाणाबाट अक्सिजन नआएकाले दिल्लीमा अक्सिजनको कमी भएको बताइन्छ। हरियाणामा रहेको लिन्दे इन्डिया लिमिटेडले दिल्लीका अस्पतालहरुमा अक्सिजन सप्लाई गर्दै आएको थियो। तर हरियाणा सरकारले राज्य बाहिर अक्सिजन पठाउन रोक लगाएपछि दिल्लीमा संकट बढेको हो।

हरियाणाका स्वास्थ्य मन्त्री अनि बिजले दिल्ली सरकारले आफ्नो राज्यको अक्सिजन लुटेको आरोप समेत लगाउन भ्याए। दिल्लीलाई अक्सिन दिन आफूहरुमाथि दबाब रहेको भन्दै उनले पहिला हरियाणा सरकारले आफ्नो आवश्यकता पूरा गर्ने बताएका छन्।

हरियाणाका मन्त्रीको आरोपपछि दिल्ली सरकारले यो महामारीसँग सबै राज्यले मिलेर लड्नुपर्ने प्रतिक्रिया दिएको छ।

दिल्ली सरकारका उपमुख्य मन्त्री मनीष सिसोडियाले केन्द्र सरकारले दिल्लीका लागि निर्धारण गरेको अक्सिजन कोटा पाउनु दिल्लीको अधिकार भएको बताएका छन्। उनले केन्द्रसँग अक्सिजन सप्लाईलाई लिएर हस्तक्षेप गर्न आग्रह समेत गरेका छन्।

'राज्य सरकारहरुबीच कुनै विवाद हुनुहुन्न। राज्यलाई कति कोटा छुट्याइएको त्यो पाउनुपर्छ। केन्द्र सरकारले यो विषयमा हस्तक्षेप गर्नुपर्छ र अवस्था मिलाउनुपर्छ' उनले भने।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि महामारीको अवस्थामा देश राज्यको नाममा विभाजित भए भारत नै नरहने प्रतिक्रिया दिएका छन्।

आज सम्बोधन गर्दै उनले भने, 'यो ठूलो महामारी हो। यो समयमा हामी हरियाणा, पंजाब, तमिलनाडु,बंगा भनेर विभाजित भयौं भने भारत नै नरहन सक्छ। यो समयमा हामीले एकअर्काको सहयोग गर्नुपर्छ।'

केजरीवालले दिल्लीसँग धेरै मात्रामा अक्सिजन भए अन्य राज्यलाई दिने समेत घोषणा गरे। हाल हरियाणाले दिल्लीलाई केही संख्यामा अक्सिजन उपलब्ध गराउने भएको छ।

केजरीवालले अक्सिजनको अभाव भएपछि हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरलाई फोन गरी अवस्थाको गम्भीरताबारे जानकारी समेत गराएका थिए। त्यसपछि हरियाणाले १४० एमटी अक्सिजन उपलब्ध गराउने भएको छ। 

दिल्लीमा हाल कोरोना संक्रमण बढेका कारण लकडाउन लागू गरिएको छ। धेरै मानिस अस्पताल पुगिरहेको तर औषधि उपलब्ध नहुँदा समस्या थपिएको छ। औषधि माग गर्दै सर्वसाधरण सांसदहरुको कार्यालय पुगिरहेका छन्।  औषधि पसल बन्द रहँदा र औषधिको स्टक सकिँदा मानिसहरु धेरै स्थानमा औषधि खोज्दै पुग्न बाध्य भएका छन्। 

दैनिक लाखौं मानिसमा कोभिड १९ संक्रमण देखिनुले भारत सरकार महामारीको यो चरणको लागि तयार नरहेको प्रस्ट हुन्छ। संक्रमण घटेपछि स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन सरकार चुकेको देखिन्छ। त्यसैले त अहिले दैनिक सयौं मानिस अक्सिजन नपाउँदा श्वास फेर्न नपाएर ज्यान गुमाउन बाध्य भएका छन्, त्यो पनि राजधानी नयाँ दिल्लीमा। 

अस्पताल बाहिर र मसानघाटमा मानिसहरुको भीड दिनप्रतिदिन बढ्दै गइरहेको छ। यस्तो अवस्थामा दिल्लीमा थप त्रास फैलिएको छ।   

'मेरो आमाले भर्खरै अवकाश पाउनुभएको थियो। उनी ५९ वर्षकी थिइन्। हामीसँग उनी थप समय बिताउन चाहन्थिन्। तर उनले हामीलाई छाडेर जानुपर्‍यो' आफ्नी आमाको दहासंस्कार गर्दै भने एक युवकले भने, 'देशको रुपमा हामी यो महामारी नियन्त्रण गर्नका लागि तयार नै थिएनौं।'

यसबीच दिल्लीको उच्च अदालतले केन्द्र सरकारलाई अक्सिजन अभावमा नागरिकहरुको ज्यान जानबाट रोक्न निर्देशन दिएको छ। बुधबार रेखा पलि र विपिन संघीको इजलासले जसरी भए पनि अक्सिजनको व्यवस्था गर्न केन्द्र सरकारलाई निर्देशन दिएको हो। 

'माग, किन वा चोर। यो राष्ट्रिय आपतकाल हो। तिम्रो काम अक्सिजन उपलब्ध गराउनु हो' अदालतले केन्द्र र राज्य सरकारलाई निर्देशन दिँदै भनेको छ।

देशभर अक्सिजन अभाव हुन सक्ने देखेर सर्वोच्च अदालतले समेत केन्द्रमा रहेको नरेन्द्र मोदी सरकारलाई अक्सिजन र भ्याक्सिन अभियानको बारेमा अदालतलाई जानकारी गराउन भनेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले समेत अक्सिजनको वितरणलाई व्यवस्थित गर्न आकस्मिक बैठक बोलाएका थिए। साथै शुक्रबार उनले कोभिड १९ को अवस्थाबारे बुझ्न बैठक समेत बोलाएका छन्। जसकारण उनी चुनाव प्रचारका लागि पश्चिम बंगाल जाने कार्यक्रम रद्द गरिएको छ। भारतमा एकातिर संक्रमण फैलिरहेको र अर्को तिर निर्वाचन र निर्वाचन र्‍याली र सभाहरु पनि सँगसँगै भइरहेकोले मोदी सरकारको आलोचना भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell