PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तुलसी दिवस र मन्जुललाई देवकुमारी थापा स्मृति सम्मान प्रदान



तुलसी दिवस र मन्जुललाई देवकुमारी थापा स्मृति सम्मान प्रदान

विराटनगर : वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवस र वरिष्ठ कवि एवं जनगायक मन्जुल आज यहाँ आयोजित एक कार्यक्रममा देवकुमारी थापा स्मृति सम्मानबाट सम्मानित भएका छन्। दिवसलाई २०७६ र मन्जुललाई २०७७ सालको  देवकुमारी थापा सम्मान प्रदान गरिएको हो। सम्मानअन्तर्गत ५१ हजाररुपैयाँ सम्मानपत्र प्रदान गरियो। यसैगरी सोही कार्यक्रममा कलाकार विक्रमश्रीलाई २०७६ सालको र कथाकार शरण राईलाई २०७७ सालको बबरसिंह थापा स्मृति सम्मान प्रदान गरियो। सम्मानअन्तर्गत २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। सोही कार्यक्रममा देवकुमारी थापाको कथामा बालजीवनका सन्दर्भ शीर्षकमा सिक्किम विश्वविद्यालयबाट पीएचडी गर्ने भारत, दार्जिलिङका दीपेन तामाङलाई सम्मान गरिएको थियो।

कार्यक्रममा कवि तुलसी दिवसले स्रष्टा भनेका जीवित सम्पदा भएको हुनाले उनीहरूको सम्मान हुनुपर्ने बताए। सरकारले आफूसँग असहमत विचार भएका स्रष्टालाई पनि पुरस्कार र सम्मान गर्नुपर्ने धारणा राख्दै उहाँले अहिले त्यस्तो हुन नसकेको उल्लेख गरे। अर्का सम्मानित स्रष्टा कवि मन्जुलले स्रष्टा देवकुमारी थापासँगको सान्निध्यबारे चर्चा गर्दै उनको नामको पुरस्कार पाउँदा गौरवान्वित भएको बताए।

देवकुमारी थापाका कथाबारे पीएचडी गरेका दीपेन तामाङले आफ्नो शोधका विषयमा जानकारी दिँदै देवकुमारी थापाले पूर्वार्द्धमा भारतमा र उत्तरार्द्धमा नेपालमा रहेर कथाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए। सो अवसरमा संस्थाका सदस्य प्रमोद प्रधानले कविद्वय तुलसी दिवस र मन्जुल तथा दीपेन तामाङको योगदानबारे र अर्का सदस्य शोभन नेपालले विक्रमश्री र शरण राईको योगदानबारे चर्चा गरेका थिए।

संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बबरसिंह थापा पुरस्कार प्राप्त गर्नुहुने विक्रमश्री र शरण राई, संस्थाका सहसचिव विवश पोखरेल र सल्लाहकार दधिराज सुवेदीले धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell