सबैले कागजमा पाउँदैन रहेछन् देश। कोही हुन्छन् जो मुटुमा बोक्छन् देश। अनि मुटुमा देश अटाउनेहरूको प्रतिनिधि बनेर कवि प्रकाश आङदेम्बे सोध्छन् :
म भन्छु यो
यो देश मेरो हो
यो सत्य तिमीलाई पच्दैन
तिमी भन्छौ
यो देश मेरो हो
मलाई पनि यो सत्य पच्दैन
तिम्रो हुँदैन भने
मेरो हुँदैन भने
यो देश कसरी हाम्रो हुन्छ?
हाम्रो नभए
देश, कसरी देश हुन्छ?
सोध्न त सोधे तर जवाफ दिने को? प्रकाश दमकमा बसे। त्यही ठाउँका नेता सत्तामा पुगे, शक्ति बटुले। त्यही जिल्लाको अर्को कुनामा एउटा अर्को देश थियो जहाँका मानिससँग नागरिकता थिएन। भुटानबाट आएका उनीहरू नेपाललाई नै आफ्नो देश मान्थे तर देशले उनीहरूलाई कहिल्यै आफ्नो मानेन। सधैं शरणार्थी मान्यो।
'मनमा देश बाँच्ने ती मानिसहरू सँगको संगतले पनि म फरक सोच्ने भएँ,' प्रकाशले भने।
फरक सोंचको उपज हो प्रस्तुत कविता ' देश' जहाँ उनले एकआर्काको अस्तित्व र उपस्थिति नस्वीकारी देश, देश नरहे इंकित गरेका छन्।
आइतवार आङदेम्बेको कविता संग्रह 'म एउटा बिहान हिँडिरहेछु' सार्वजनिक भएको। जसमा ६५ कविता संकलित छन्।
ती कविताहरू भोगाईहरूका दस्तावेज भएको बताउँछिन् कवि विमल तुम्खेवा। पुस्तक विमोचन समारोहमा कविताहरू बारे विमलाले भनिन्,'शान्त र सरल भाषामा लेखिएका कविताहरू छन्। लेखकले चलाखी नगरी आफ्नो मनोदशालाई अभिव्यक्त गरिएको छ।'
जीवनवादी लाग्ने कविताहरू ले कविको स्वभाव र विचारको प्रतिनिधि गर्ने बताइन्। 'कविको जीवनजस्तै लाग्छन् कविताहरू सीधा रेखामा हिँडेको।'
कवि श्रवण मुकारुङले प्रकाशका कविताहरू अनुभूत गर्नुपर्ने बताए। भने,'सानो कथा र परिवेशमाथि लेखिएका छन् तर सुक्ष्म अनुभूतिहरू छन्। बोध गर्नुपर्ने खालका।'
अपूरो संसारलाई कविले पूर्ण बनाउने बताउँछन् लेखक भूपाल राई। कविले भाषाको छिनो प्रयोग गरेर वस्तुहरूको मुर्तिकरण गर्ने बताए। भने,'संसारको सबै वस्तुलाई सुन्दर बनाउँछन्।'
प्रकाशको कवितामा वस्तु र विषयमाथिको प्रेम झल्किएको बताए। उनका कविताहरूमा पहिचानको मुद्दा र विश्व दृष्टिकोण पनि महसुस हुने बताए। 'सुरुमा त अध्यात्मिक दृष्टिकोण हो कि जस्तो लाग्छ। तर, अन्तत भौतिकवादी हो भन्ने प्रस्ट हुन्छ।'
कविले किरात समुदायको दर्शनशास्त्र 'मुन्धुम'लाई सौन्दर्यको केन्द्र मानेर रचना गरेको र त्यसैको लय समातेर कविता लेखेको राईको कथन रह्यो।
प्रकाश स्वयं भने यस कविता संग्रहलाई आफैलाई खोज्ने अभियानको एउटा उपज मान्छन्। भन्छन्,'कविता के हो थाहा नभएसम्म मात्र हो लेख्ने। थाहा भएपछि किन लेख्नु?'
'म एउटा बिहान हिँडिरहेछु'लाई द नेसेन्स फेलेक्स र द मार्जिनले संयुक्त रूपमा प्रकाशन गरेको हो। संग्रहको बजार मूल्य ३ सय ५१ रहेको छ।