PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भूकम्प गएकै दिन काष्ठमण्डपका रक्षक अष्टभैरवको पूजा, निर्माण कार्य ९० प्रतिशत पूरा



भूकम्प गएकै दिन काष्ठमण्डपका रक्षक अष्टभैरवको पूजा, निर्माण कार्य ९० प्रतिशत पूरा

काठमाडौं: आजकै दिन ६ वर्षअघि गोरखाको भूकम्प केन्द्रविन्दु बनेर आएको भूकम्पले काठमाडौं उपत्यकाका धेरै सम्पदा क्षेत्रमा असर गर्‍यो। कयौं सम्पदा ढले। कयौं चिरा परे।

६ वर्षपछि यी सम्पदामध्ये केहीको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने अझै धेरै सम्पदा क्षेत्रको पुनर्निर्माण प्रक्रिया जारी छ। धेरैलाई याद छ ६ वर्ष अघि धरहरा ढलेको। तिनै व्यक्तिहरु त्यही भूकम्पमा ढलेको काष्ठमण्डप पुनर्निर्माणको अवस्था कुन चरणमा छ वा काष्ठमण्डप निर्माणबारे नै अनभिज्ञ छन्। हिजो काठमाडौं र नेपालको शान भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गरिरहँदा काष्ठमण्डप काठको खोजीमा थियो। काठ नपाएकै कारण काष्ठमण्डप निर्माण ढिलो हुन गएको हो। हाल करिब ९० प्रतिशत काम सकिएको काष्ठमण्डप निर्माण सकिन आवश्यक काठ आजदेखि मात्रै हेटौंडाका स-मिलहरुमा चिरान गर्न लागिएको छ।

काठमाडौंको नाम नै काष्ठमण्डपबाट रहन गएको कथन छ। काठमाडौंको त्यही चिनारी ढलेको ६ वर्ष पूरा भएकै दिन आज उद्घाटन हुन्छ भनेर केही मन्त्रीहरुले भनेका थिए। तर त्यो पूरा हुन सकेन। किनभने समयमा नै काठको उपलब्धता हुन सकेन। प्रदेश २ बाट काठ बाग्मती प्रदेशमा ल्याउन कठिनाइ हुँदा समयमा नै काम नसकिए पनि हाल त्यो समस्या टरेको छ।

सायद आउने केही महिनामा अब काष्ठमण्डपले मूर्त रुप पाउनेछ। आज बिहानदेखि त्यही निर्माणधीन काष्ठमण्डपभित्र भैरवको पूजा चल्यो। काष्ठमण्डप भित्रमात्रै होइन बाहिर पनि रहेका अष्टभैरवहरुको आज क्षमा पूजा गरियो।

रुरुक भैरव, संहार भैरव, प्रचण्ड भैरव, क्रोध भैरव, कपिल भैरव, असिताङ्ग भैरव, उन्मत्त भैरव, श्वेत भैरवलाई काष्ठमण्डपका रक्षकका रुपमा लिइन्छ। हाल यी भैरवहरु कुनै सडकले पुरिसके त कुनै हराइसके। तर, इतिहास खोज्दै जाँदा फेला परेका प्रमाण बटुल्दै भैरव रहेका स्थान पहिचान गर्दै पूजा गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell