PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोभिड - १९ को चपेटामा प्रदेश २ : अस्पतालहरुमा स्वास्थ्कर्मीको अभाव, भेन्टिलेटर छन् जनशक्ति छैनन्



सुमित मिश्र

कोभिड - १९ को चपेटामा प्रदेश २ : अस्पतालहरुमा स्वास्थ्कर्मीको अभाव, भेन्टिलेटर छन् जनशक्ति छैनन्

जनकपुरधाम : प्रदेश २ मा कोभिड-१९ महामारीको दोस्रो लहरको प्रकोप सुरु भएसँगै कोभिड-१९ संक्रमितहरुको संख्या दिनदिनै बढ्न थालेको छ। पछिल्लो तथ्यांक अनुसार प्रदेश २ मा हाल संक्रिय संक्रमित एक हजार कटेका छन्। सरकारी तथ्यांक अनुसार हाल १ हजार ९८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

यद्यपि कोभिड-१९ संक्रमण रोक्नका लागि अपनाइने सावधानीहरु अझै सरकारी स्तरबाट अपनाउन ढिलाइ गरिएको देखिन्छ। आइतबार (हिजो) मात्रै भेन्टिलेटर अभावमा सर्लाहीका एक कोभिड-१९ संक्रमितको मृत्यु भएको थियो।

कोभिड-१९ संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ का  आठ वटै जिल्ला भारतसँग खुला सीमानाले जोडिएका छन्। भारतमा संक्रमण तिब्र रुपमा बढ्दै जाँदा रोजगारीका लागि भारतमा गएकाहरू फर्किन थालेका छन्।

कोभिड-१९ संक्रमितको संख्या बढिरहेको बेला रोकथाम गर्न आफुहरु पूर्ण रुपले तयार रहेको प्रदेश २ सरकारले  दाबी गरेको छ। तर, कोभिड-१९विरुद्धको लडाईमा प्रदेश २ अझै प्राविधिक रुपले तयार हुन नसकेको चिकित्सकहरु बताउँछन्।

प्रदेश २ मा दिनदिनै कोभिड-१९ संक्रमितहरुको संख्या बढिरहेपनि संक्रमितको उपचार गर्न अति आवश्यक मानिएको आइसीयू, भेन्टिलेटर लगायतका अत्यावश्यक उपकरणका साथै दक्ष जनशक्तिको प्रदेश २ मा अभाव रहेको चिकित्सकहरूको भनाइ छ। यद्यपि प्रदेश सरकारले कोभिड-१९ महामारीको पहिलो लहर देखिँदा प्रत्येक जिल्लामा भेन्टिलेटर तथा आइसीयुको व्यवस्था गरिएको थियो।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नवल झाका अनुसार प्रदेश २ मा जम्मा ४५ वटा भेन्टिलेटर उपलब्ध छन्। उनका अनुसार प्रदेश २ अन्तर्गत वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, विरगंजकै नेशनल मेडिकल कलेजमा १०, जनकपुरधामको प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको छ।

त्यस्तै महोत्तरीको जलेश्वरमा ५, सप्तरीको राजविराजमा ४, बाराको कलैयामा २, रौतहटको गौरमा ४, सिरहामा २ र लहानमा १ वटा भेन्टिलेटर रहेको छ। तर प्रदेश २ को सर्लाहीमा भने एउटा पनि भेन्टिलेटर उपलब्ध नरहेको स्वास्थ्य महाशाखाले जनाएको छ।

तर संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने प्रदेश २ मा ५६ आईसीयु र १९ भेन्टिलेटर छन्। वैशाख १२ गतेको तथ्यांक अनुसार हाल प्रदेश २ मा ४४ जना संस्थागत आइसोलेसनमा छन् भने ९ जना आईसीयुमा छन्। प्रदेश २ मा एक हजार ३१३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  

प्रदेश २ को सामाजिक विकास मन्त्रालयको दाबी अनुसार ४५ वटा भेन्टिलेटर रहे पनि भेन्टिलेटर चलाउने जनशक्तिको अभाव रहेको स्वास्थ्य महाशाखा प्रमुख झा बताउँछन्। 'विरगंजको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा मात्रै दक्ष जनशक्ति रहेका छ्न्। जनकपुरधामको प्रादेशिक अस्पतालमा जसोतसो भेन्टिलेटर चलिरहेको छ। यहाँ पनि दक्ष जनशिक्तको अभाव छ,’ झाले भने। 

प्रदेश २ मा कोभिड-१९ संक्रमण बढिरहेको समयमा ७१ बेडको आईसीयुको व्यवस्था गरिएको उनले जानकारी दिए। उनका अनुसार वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा १५, विरगंजकै नेशनल मेडिकल कलेजमा २६, जनकपुरधामको प्रादेशिक अस्पतालमा १०, रौतहटको गौरमा १० वटा आइसीयु बेडको व्यवस्था गरिएको छ  त्यस्तै जलेश्वरमा ५ र सिरहामा ५ बेडको आइसीयुको व्यवस्था गरिएको छ।

प्रदेश २ मा १ सय ८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडीयु)को व्यवस्था समेत गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए। उनका अनुसार विरगंजको नेशनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ बेडको एचडीयु रहेको छ। त्यस्तै विरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल र राजविराजमा २५/२५ बेडको एचडीयुको व्यवस्था गरिएको छ। त्यस्तै बाँकी जिल्लाहरुमा १५/१५ बेडको एचडीयुको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले जानकारी दिए।

उनले भेन्टिलेटर, आईसीयु तथा एचडीयुको व्यवस्था रहे पनि जनशिक्त अभावमा संचालन गर्न कठिनाई भईरहेको बताए। झाका अनुसार जनशक्ति आपूर्तीका लागि आठवटै जिल्लाका अस्पतालहरुलाई रिक्त दरबन्दीको जानकारी दिन शाखाले पत्र पठाएको छ। उनले प्रदेश सरकार करारमा भए पनि कर्मचारी भर्ना गरेर जनशक्ति अभाव सम्बन्धि समस्या समाधान गर्न तयार रहेको बताए।

सचिव विहिन सामाजिक विकास मन्त्रालय

प्रदेश २ मा कोभिड-१९ संक्रमणको दोस्रो लहर देखिए पनि सम्बन्धित मन्त्रालय भने सचिव विहिन रछ। सामाजिक विकास मन्त्रालयका सचिव रहेका कृष्ण कापरीको सरुवा भएको तस्रो हप्ता लाग्दासमेत संघीय सरकारले नयाँ सचिव नपठाएको मन्त्रालयका उपसचिव दिलीप ठाकुरले जानकारी दिए।

उनले सचिव नभएकै कारण मन्त्रालयको कयौँ काम प्रभावित भई रहेको समेत बताए। ‘घरको मुखिया नभएपछि घर चलाउन कठिनाई त हुन्छ नै, मन्त्रालयमा सचिव नहुँदा विभिन्न कामहरु व्यवस्थित रुपमा अगाडी बढाउन कठिनाई भईरहेको छ,’ उनले गुनासो गरे। कोभिड-१९को दोस्रो लहर शुरु भए पछि सचिव सरुवा भएर नयाँ सचिव नआउँदा झनै समस्या भईरहेको उपसचिव ठाकुरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell