PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

हाउस पुलिङ प्रणालीबाट स्वयम्भू महाचैत्य परिसरमा बन्यो बुद्धाचार्य पुजारीको घर



हाउस पुलिङ प्रणालीबाट स्वयम्भू महाचैत्य परिसरमा बन्यो बुद्धाचार्य पुजारीको घर

काठमाडौं : स्वयम्भू महाचैत्य परिसरमा निर्माण भएको बुद्धाचार्य परिवारको घरहरु आज हस्तान्तरण गरिएको छ। काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आज सम्बन्धित घरधनीलाई घर हस्तान्तरण गरेका हुन्। यस्तै, भूकम्पमा भत्किएको कर्मराज महाविहारको पनि निर्माण सम्पन्न भइ आज हस्तानतरण गरिएको छ। कर्मराज महाविहारका १७ औं अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेको आर्थिक सहयोगमा घर र महाविहार पुनर्निर्माण भएको हो।

२०७२ सालको भूकम्पमा महाचैत्य रहेको क्षेत्रमा अवस्थित बुद्धचार्य पूजारीहरु बसोबास गर्दै आइरहेको घरहरु क्षतिग्रस्त भएको थियो। लामो समयसम्म ती घरहरु कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल भएको थियो। पछि स्वयम्भू पुनर्निर्माण समिति गठन गरि हाउस पुलिङ प्रणालीबाट घरहरु निर्माण गर्ने निर्णय गरिएको थियो। काठमाडौं महानगरमा हाउस पुलिङ प्रणालीबाट सम्पन्न भएको यो सम्भवत पहिलो योजना भएको समितिले जनाएको छ।  

महानगरका प्रवक्ता एवम् वडा १५ का अध्यक्ष इश्वरमान डंगोलको नेतृत्वमा गठन भएको पुनर्निर्माण समितिले पुरातत्व विभागको मापदण्ड अनुसार नै घरहरु निर्माण भएको जनाएको छ। सो स्थानमा पहिला पनि कंक्रिटको प्रयोग भएको थियो। हाल सबै संरचना कंक्रिटको प्रयोग गरि निर्माण सम्पन्न गरिएको हो। विश्व सम्पदा सूची क्षेत्रमा सूचिकृत स्वयम्भू महाचैत्य परिसरमा कंक्रिटको संरचना बनाउन लागेको भन्दै विरोध भएको थियो। तर पहिला घरहरु क्षेत्रफलमा निकै सानो रहेको र पुनर्निर्माण गर्दा निकै अप्ठेरो हुने देखेर सरोकारवाला र पुरातत्व विभागको स्वीकृतिमा नै कंक्रिटको प्रयोग गरेर घरहरु निर्माण गरिएको समितिका अध्यक्ष एवम् वडाध्यक्ष डंगोलले बताए। युनेस्कोले समेत उक्त योजनाले स्वयम्भू महाचैत्यमा कुनै असर नपर्ने भन्दै निर्माण कार्य अघि बढाउन भनेको थियो।

'घरहरु पहिला जसरी बनाउन प्राविधिक समस्या थियो। कुनै घरको लम्बाइ नै ६ -७ फिट थियो। त्यहाँ नयाँ संरचना बनाउन गाह्रो थियो। त्यसैले हाउस पुलिङबाट घरहरु बनाउन हामीले प्रस्ताव गर्‍यौं। सबैले स्वीकार गर्नुभयो' डंगोलले भने।

महाचैत्य परिसरमा बुद्धाचार्य परिवारका १७ वटा घरहरु थिए। भूकम्पमा क्षतिग्रस्त भएपछि हाउस पुलिङ प्रणालीबाट ती घरहरु निर्माण सम्पन्न गरि आज घरधनीलाई नै हस्तान्तरण गरिएको हो। काठमाडौं महानगरपालिका नगर परिषदको बैठकले हाउस पुलिङबाट घर निर्माण गर्न एकैपटक १७ वटा घरको नक्सा पास गरेको थियो। बाहिरबाट एउटै घर देखिपनि भित्रबाट १७ परिवारका लागि छुट्टाछुट्टै घरहरु निर्माण भएका हुन्। बाहिरबाट घरहरुलाई मौलिक स्वरुप दिइएको छ। घरभित्रको काम भने अझै बांकी छ। घर निर्माणको ३० प्रतिशत आर्थिक भार स्वयम् घर धनीले नै ब्यहोर्ने डंगोलले बताए।

'पुनर्निर्माण समितिबाट ७० प्रतिशत काम पूरा भइसकेको छ। घर भित्रको फिनिसिङ लगायतको काम घरधनीहरुले ने ब्यहोर्नुहुनेछ। ३० प्रतिशत खर्च घरधनीहरुको हुनेछ' डंगोलले भने।

हाउस पुलिङ प्रणालीबाट दुई वर्षमा नै घर निर्माण सम्पन्न भएको उनले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell