PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

भयपूर्ण अवस्थाको भेरी अस्पताल : खतरा घन्टी बजाएरै भित्रियो, आफैँ आत्तिने अवस्थामा चिकित्सक



स्वेच्छा राउत

भयपूर्ण अवस्थाको भेरी अस्पताल : खतरा घन्टी बजाएरै भित्रियो, आफैँ आत्तिने अवस्थामा चिकित्सक

गत फागुनमा बाँकेको भेरी अञ्चल अस्पतालमा जम्मा ६ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको थियो। ठीक एक महिनापछि अर्थात् चैत अन्तिम सातादेखि त्यो संख्या बढेर २० पुग्यो। त्यसपछि संक्रमितको संख्या बढ्नेक्रम रोकिएन। खतरा घण्टी बजाएरै आएको थियो तर केही गर्न सकेन प्रशासनले।

वैशाख १ गतेदेखि कोरोना भाइरस संक्रमणको लक्षणसहित उपचारका लागि आउने र संक्रमण पुष्टि हुनेको संख्या ह्वात्तै बढ्यो। त्यसपछि सुरु भयो शय्यादेखि जनशक्तिको अभाव। बढ्दै गयो मृत्युदर पनि।

वैशाख दोस्रो साता कोहलपुरका एक ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्‍टि भयो। नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गराएका उनी होम आइसोलेसनमा थिए। केही दिनमै उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। उपचारका लागि अस्पतालमा शय्याको खोजी गरे। तर, कहाँ पाउनु? वैशाख १२ गते खबर सार्वजनिक भयो – ती मानिसले घरमै आत्महत्या गरे।

त्यसै दिन बाँकेकै एक चिकित्सकलाई अञ्चल अस्पताल पुर्‍याइयो, संक्रमणपछि खराब बनेको स्वास्थ्य उपचारका लागि। तर, न उनले काम गर्ने अस्पतालमा शय्या थियो न पुर्‍याइएको भेरी अस्पतालमै। चिकित्सक हुनु, अस्पतालका मानिसलाई चिन्नु – शय्या पाउने आधार रहेन अब। अनेक प्रयास र याचनापछि निराशासहित अन्यत्र लगियो उनलाई।

अस्पताल नै पुग्नेहरू पनि अवस्था कहाँ मत्थर बनाएको छ र औषधी, उपचारले?  कोही शिथिल भएर लडिरहेका अनि कोही पीडाले छट्पटाइ रहेको देख्दा आफैलाई अत्यास लाग्ने बताउँछन् भेरी अञ्चल अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर राजन पाण्डे।

चिनजानका चिकित्सकलाई 'सरी' भनेर फर्काउनु पर्दा साह्रै हतोत्‍साहित महसुस गरे उनले।

'हामी पनि बाध्य छौं। बाध्यता र जिम्मेवारीलाई एकसाथ अघि बढाएका छौं,' डाक्टर पाण्डेले भने, 'यो कठिन परिस्थिति हाम्रा लागि चुनौती हो। म चुनौती स्वीकार्ने स्वभावको छु। तर यस पटक आफैँलाई असहाय महसुस भइरहेको छ।'

अस्पतालमा जम्मा एक सय ४२ शय्या छन्। त्यहीँ दुई सय भन्दा बढी संक्रमितको उपचार भइरहेको छ। उपचार गराइरहेका मध्ये ९० प्रतिशत बिरामीको अवस्था गम्भीर रहेको डाक्टर पाण्डेले बताए।

कोभिडबाहेक अन्य स्वास्थ्य सेवा नाजुक बनेको छ। बिरामीहरू अस्पतालको वातावरण देखेर झनै अत्तालिने अवस्थामा छन्। अन्‍य बिरामी उपचारका लागि छुट्याइएका वार्डहरूमा पनि संक्रमित र कुरुवाकै चाप। कुरुवाहरूको पनि परीक्षण गरे प्रायमा संक्रमण पुष्टि हुने निश्चित।

संक्रमितसँगै कुरुवा रहनुको कारण चाहिँ – अस्पतालमा स्वास्थ्यकर्मीको अभाव। हाल अस्पतालमा कुल ४० नर्स छन्। तीमध्ये अधिकांशमा संक्रमण देखियो। त्यसैले एक सिफ्टमा ३ देखि ४ जनाले आलोपालो काम गरिरहेका छन्। एक जना नर्सले ३ देखि ३५ जना बिरामीको सेवामा खट्नु परिरहेको छ।

भेरी अस्पतालमा हाल एनेस्थेसियोलोजिस्ट (बिरामीलाई बेहोस बनाउने डाक्टर) एक जनामात्रै छन्। उनलाई सघाउन चाहिने सहायक पनि छैनन्।

'परिस्थिति बिग्रिँदो छ। भावनात्मक हिसाबले एकदम कमजोर हुन्छु। तर हामीले जिम्मेवारी बुझेका छौं। आवश्यकता अनुरुप कर्मचारी प्रदेश सरकारसँग माग गरेका छौं,' पाण्डेले सुनाए, 'समस्या के हो भने, को आउन चाहन्छ यसरी मृत्युको आहलमा?'

बाँकेमा हालसम्म करिब ९० जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ।

अस्पताललाई ४० भन्दा बढी नर्स, ३ जना एनेस्थेसियोलोजिस्ट र उनीहरूका लागि १० देखि १२ सहायक आवश्यक छ। प्रदेश सरकारसँग जनशक्ति माग त गरेका छन् तर प्रक्रिया कति लामो हुन्छ टुङ्गो छैन। 'आवश्यक कर्मचारी आउन जति ढिला हुन्छ संक्रमितको मृत्युदर त्यति नै बढ्छ। यो तीतो यथार्थ हो,' पाण्डेले भने।

भेरी अस्पतालमा कर्मचारी अभाव र मागको खेल नौलो भने होइन।

गत वर्ष, प्रदेश सरकारले बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल 'कोभिड आइसोलेसन अस्पताल' बनायो। अस्पताल व्यवस्थापनको जिम्मेवारी लियो भेरी अस्पतालले। तत्काल पूर्वाधार समेत तयार पारियो, फिभर क्लिनिक, ४० वटा आइसोलेसन र ८ वटा आईसीयूसहित।

लगत्तै कोरोना संक्रमितको उपचारकै लागि कर्मचारी माग गर्‍यो। विशेषज्ञ चिकित्सक १७ जना, चिकित्सक २८ जना र नर्स ४२ जना। तर, माग गरे अनुरुप संख्यामा नर्सहरूले मात्र आवेदन दिए। चिकित्सकहरू पाँच जना तयार भए। तर, एक जना पनि विशेषज्ञले आवेदन दिएका थिएनन्।

गत भदौ ७ गते सरकारले कोभिड उपचारका लागि गरेको अस्पतालको वर्गीकरण खारेज गर्‍यो। सुरूमा संक्रमितको उपचारका लागि नसमेटिएका निजी अस्पताल र मेडिकल कलेजहरूमा पनि उपचार हुन थाल्यो। सरकारी अस्पतालहरूमा चाप घट्यो।

क्यान्सर अस्पतालमा कोभिड-१९ उपचारका लागि राखिएका पूर्वाधार भेरी अस्पतालमा सारियो। 'बिचमा संक्रमण दर घट्यो। अवस्था साम्यजस्तै बन्दै थियो। एकाएक संक्रमितको संख्या बढ्दा पुन: कर्मचारी अभाव खट्कियो,' पाण्डेले सुनाए।

प्रदेश ५ को हब अस्पताल हो यो। बाँकेसँगै बर्दिया, कैलाली, दाङ, सुर्खेतलगायत जिल्लाका बिरामीहरू उपचारका लागि धाउँछन् भेरी अस्पतालमा।  दुई वर्षअघि चैत वैशाखताका उस्तै भिड लाग्थ्यो अस्पतालमा। कारण - मौसम परिवर्तनसँगै देखिने ज्वरो, रुघा, खोकीका बिरामी।

गत वर्ष कोरोनाको त्रास उच्‍च थियो। संक्रमण संख्या सीमित भए पनि मानिसमा त्रास थियो। फोनमार्फत् परामर्श लिन्थे, बिरामीले। नजिकका स्वास्थ्य केन्द्रहरुमा जाँच गराउँथे। र,  अस्पतालमा चाप कम हुन्थ्यो। गत वर्ष पहिलोपोस्टसँगको कुराकानीमा अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट प्रकाश थापाले भनेका थिए, 'मानिस कम हुँदा कोरोना परीक्षणका लागि आएका शंकास्पद बिरामीको व्यवस्थापनका पनि सहज बनेको छ।'

तर, यसपटक चाप थामिनसक्नु छ। बिरामीले संक्रमणको लक्षणलाई सामान्य रुपमा लिएको र अवस्था गम्भीर बनेपछि मात्र अस्पताल धाएको डाक्टर पाण्डेको कथन छ। मृत्युदरले पनि तर्साएको छ सेवामा खटेकाहरूलाई। ड्युटीमा खटेका नर्सहरू रोइरहेको देख्दा आफूलाई छट्पटाहट हुने बताउँछन् उनी। 'संक्रमितहरूको पीडा, कुरुवाले भोगिरहेको अप्ठेरो एकातिर। जिम्मेवारी निभाइरहेकाहरू पनि गलेका छन्। आवश्यक कर्मचारी थप्न सरकारले जोड नदिए अवस्था झनै भयावह बन्नेवाला छ,' उनले भने।

संविधानसभा सदस्य मोहम्मद सिद्दिकीले त्यही अस्पतालमा ज्यान गुमाइन्। भेरी अस्पतालकै विकास समितिमा अध्यक्ष रहेकी डाक्टर उषा साहको संक्रमण पुष्टि पछि उपचार भइरहेको छ। आम मानिस डाक्टरसँग आफ्नाको जिन्दगी जोगाइदिन याचना गरिरहेका छन्। अस्पताल प्रशासन भने कर्मचारीको माग गरिरहेछ। थाहा छैन उनीहरुको माग सरकारले कहिले पूरा गर्छ। त्यो माग पूरा होउन्जेलसम्म यही रफ्तारमा संक्रमित र विरामीको मृत्यु हुने हो भने के होला भन्ने त्रासमा छन् त्यहाँ कार्यरत सबै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell