PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना संक्रमित बिरामीसँगै बढ्यो अक्सिजनको माग, कति छ हाम्रो क्षमता?



कोरोना संक्रमित बिरामीसँगै बढ्यो अक्सिजनको माग, कति छ हाम्रो क्षमता?

-सरला सुवेदी र अनन्तराज न्यौपाने

काठमाडौंः कोभिडले गाह्रो पार्ने श्वासप्रश्वासलाई हो। शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएका गम्भीर बिरामीलाई कृत्रिम तरिकाले अक्सिजन दिनुपर्छ।
भारतमा अक्सिजन नपुगेर हाहाकार छ। नेपालमा पनि कोभिडका बिरामी बढेसँगै अक्सिजनको खपत बढ्न थालेको छ। बिरामीको संख्या दिनदिनै थपिँदा सर्वसाधारणमा त्रास छ- नेपालमा पनि भारत जस्तै अक्सिजन अभाव हुने हो की? तर नेपाल अक्सिजन ग्यास उत्पादक संघले  उद्योगहरुमा अक्सिजन  पर्याप्त रहेको जनाएको छ।सामान्य अवस्थामा खासै माग हुँदैनथ्यो। गत वर्ष कोभिड सुरु भएपछि अक्सिजनको माग बढ्न थालेको हो। माग बढेको देखिए पनि  अपेक्षित परिमाणमा खपत नहुँदा अक्सिजन कतिपय उद्योगका प्लान्ट अझै पूर्ण रूपमा सञ्चालन नभएको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव सारडाले बताए। 

हाल उपत्यकामा मात्र ८ वटा र उपत्यकाबाहिर १८ वटा प्लान्टहरुबाट अक्सिजन उत्पादन भइरहेको छ। जसमा दैनिक ८ हजारभन्दा बढी सिलिण्डर उत्पादन हुँदै आएको छ। 'अक्सिजनको अभाव छैन। अक्सिजनका बन्द हुन लागेको उद्योगलाई कोभिडले पुनः सञ्चालनमा ल्याए पनि पर्याप्त सिलिन्डर नपाउनु नै समस्या भएको छ,' उनले भने ।
'हल्लाको भरमा उपभोक्ताहरुल घरमा सिलिन्डर थुपारेर राख्दा बजारमा  अक्सिजनको अभाव भएको देखिएको हो,' उनले भने, 'नेपालका लागि पुग्ने अक्सिजन उत्पादन भएकाले आवश्यक परेको समयमा मात्र सिलिन्डर घरमा राख्न अनुरोध गरेका छौं।' उद्योगको उत्पादन क्षमता पर्याप्त भए पनि खाली सिलिन्डर नफर्किँदा भने रिफिल गरेर पठाउन गाह्रो हुने  अध्यक्ष सारडाले बताए।

 
हाल संघले उत्पादन भएको ३० प्रतिशत अक्सिजन औद्योगिक क्षेत्रमा दिने गरेको छ।   केही गरी अक्सिजनको मात्रा बढी आवश्यक परेको खण्डमा नेपाल सरकारको समन्वयमा संघले त्यताबाट सिलिन्डर ल्याएर स्वास्थ्य क्षेत्रमा दिन सक्ने जनाएको छ।
 अक्सिजन उत्पादनका लागि कुनै समस्या नभएको शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले बताए। 'पहिले भन्दा उत्पादन बढ्ने क्रममा छ। हाल बजारमा अक्सिजनको अभाव भएको भन्दै हाइलाइट गरियो, त्यो हुँदै होइन,' उनले भने, 'त्यस्तो अवस्था आइसकेको छैन।' काठमाडौं उपत्यकामा मात्रै ८ वटा प्लान्टले उत्पादन गर्ने भएकाले अभावको अवस्था नआउने उनले दाबी गरे। 
'अक्सिजनको अभाव हालसम्म भएको छैन। हाम्रो उद्योगको मात्रै दैनिक १२ सयदेखि १५ सय सिलिन्डर उत्पादन  गर्ने सक्ने क्षमता छ,' उनले भने, 'पहिले १५ हजार सिलिन्डर थियो। कोभिड सुरु भएपछि एक हजार सिलिण्डर थपेका थियौं। समय र बजारको मागअनुसार थप्दैछौं।' दुइवटा प्लान्टबाट उत्पादन भइरहेको उनले बताए। 'सामान्य अवस्थामा दैनिक २ सय सिलिण्डर पनि खपत हुँदैन,' उनले भने। 
उपत्यकासँगै बाहिर भैरहवा र नारायणगढमा पनि अक्सिजनको उत्पादन भइरहेको छ। नेपाली उद्योगको उत्पादन क्षमताअनुसार अक्सिजन खपत नभएको उद्योगीको भनाइ छ। गत कात्तिकमा कोभिड संक्रमित बढ्दा अक्सिजनको माग ह्वातै बढेको थियो। पछि संक्रमण दर कम हुँदै जाँदा अक्सिनजको मागमा कमी आएको थियो। त्यसैले अहिल्यै अक्सिजनका लागि चिन्तित हुनुपर्ने अवस्था नभएको भण्डारीको भनाइ छ। 
स्वास्थ्य मन्त्रालयबाट दैनिक  ६ हजार सिलिन्डरको माग 
कोभिडको संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना हुने बिरामीको संख्या दैनिक थपिँदा स्वास्थ मन्त्रालयबाट अक्सिजन उद्योगमा समन्वय गरी दैनिक ६ हजार सिलिण्डरको माग गरेको संघले जनाएको छ। संघका अनुसार मन्त्रालयले हालका लागि दैनिक ५ देखि ६ हजार सिलिन्डर पर्याप्त  रहेको जनाएको छ।
मुख्य समस्या सिलिन्डर आयात
अक्सिजन नेपालमै उत्पादन हुने भएपनि अक्सिजनका भर्नका लागि चाहिने सिलिन्डर भने भारत र चीनबाट आयात हुँदै आएको छ। संघले स्वास्थ मन्त्रालयलाई २० हजारदेखि ४० हजार सिलिन्डर ल्याउन दिन माग गरेको छ । 
तत्कालको लागि समस्या छैन। पछिको लागि चाहिन सक्ने  हुनाले सिलिन्डरको व्यवस्था पहिले हुनुपर्छ।  उद्योगीका अनुसार पर्याप्त संख्यामा सिलिण्डर भइदिए  आगामी दिनमा जस्तोसुकै माहामारी  भए पनि अक्सिजनको आपूर्ति व्यस्थामा संकट आउँदैन।  
यतिबेला भारतमा अक्सिजनको अभाव छ। जसले गर्दा सप्लायर्सहरुले ४ देखि ५ महिना  नयाँ सिलिन्डरको अर्डर नै बन्द गरेका छन्। चीनबाट सिलिन्डर आयात गर्न सबै भन्दा ठूलो समस्या भएको नेपाल अक्सिजन ग्यास उत्पादक संघले जनाएको छ। चीनबाट सिलिन्डर ल्याउन सिपिङ समय धेरै लाग्ने भएकोले यसलाइ कसरी घटाउने कुरा भइरहेको उद्योगीले बताएका छन्।
कोभिडका लागि भनेर सिलिण्डर आयात गर्दा समय लाग्छ। यसकारण समय समयमा उद्योगहरुले केही संख्यामा सिलिन्डर किनेर राख्ने गरेको बताएका छन्। गत वर्षभन्दा थपे पनि अस्पतालहरुमा पठाएको सिलिण्डर लामो समयसम्म होल्ड बस्ने  गरेको छ।
अक्सिजन र सिलिण्डरको मूल्य यथावत 
महामारीको समयमा अक्सिजनको माग बढे पनि  मूल्य भने बढेको छैन। आयातित   सिलिन्डरको मूल्य बढेर आएको छ।  गत वर्षदेखि नेपालमा मूल्य नबढेको संघले जनाएको छ।   यो समयमा कसरी माग अनुसारको  अक्सिजन पुर्याउने भन्ने चासो लिएर उत्पादन जारी राखेको उद्योगीले बताएका छन्।
हाल १० लिटर अक्सिजन सिलिन्डरको  रिटेल मूल्य २५० रुपैयाँ र ४७ लिटर सिलिन्डरको ६ सय रुपैयाँ नै कायम रहेको शंकर अक्सिजनले जनाएको छ। केही उपभोक्ताहरुले धरौटीमा पनि लग्ने गरेका छन् भने केहीले  १० लिटरको ९ हजार रुपैयाँ र ४७ लिटरको १८ देखि २० हजार रुपैयाँमा  खरिद गरेर समेत लाने गरेका छन्। 
सिलिन्डरको आयातमा भंसार छुट माग 
अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि उत्पादकहरूले सिलिन्डरको आयात गर्दा भंसार दरमा सहुलियत दिन आग्रह गरेका छन्।
कोभिड–१९ को दोस्रो झमटको महामारीलाई दृष्टिगत गर्दै भारत लगायतका मुलुकले अक्सिजन सिलिन्डर लगायतका सामग्रीको पैठारीमा छुट दिएको भन्दै व्यवसायीले नेपालमा पनि सहुलियतको माग गरेका हुन्।
नेपालका अक्सिजन उद्योगले चीनबाट सिलिन्डरको ल्याउँछन्। 
मारुती अक्सिजन उद्योगका सञ्चालक शंकरलाल अग्रवालका अनुसार फलामे वस्तुमा एक वर्ष यता विश्वव्यापी रूपमा भएको मूल्यवृद्धिले अन्तर्राष्ट्रिय बजारमा सिलिन्डर पनि महँगो भएको छ। सरकारले छुट दिए अक्सिजन आपूर्ति व्यवस्थापनमा सघाउ पुग्ने उनले बताए। 
‘सिलिन्डरको पैठारीमा सरकारले १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र भ्याट तोकेको छ,' उद्यमी अग्रवालले भने, ‘यसमा ढुवानी खर्च पनि जोड्दा ५० प्रतिशत मूल्य अभिवृद्धि हुन्छ। त्यसैले सरकारले अहिलेका महामारीका बेला शून्य वा १ प्रतिशत महसुलमा सिलिन्डरको आयात गर्न पाइने नीति निर्धारण गर्नुपर्छ।'
भारतमा अक्सिजन सिलिन्डरसित जोडिएका सवारी साधनदेखि सबै प्रकारका मालवस्तुको पैठारीमा सरकारले महसुल छुट दिएको उनले जिकिर गरे।
उनको भनाइ थियो, 'नेपालमा अझ भयावह अवस्था आउने अवस्था देखिएको छ। हामीले सिलिन्डरको एलसी खोलेको २ महिनापछि मात्र यहाँ आइपुग्छ। त्यसैले सरकारले अहिले नै सचेत हुनु आवश्यक छ। आजैदेखि तयारी तीव्र बनाउनु जरुरी छ।'
विनायक अक्सिजन उद्योगका सञ्चालक अमित शारडाले दुई सातायता घरघरमा व्यक्तिगत रूपले अक्सिजन सिलिन्डर खरिद गरेर फिर्ता नगर्ने प्रवृत्ति बढेको बताए।
‘व्यक्तिका घरमा गएका सिलिन्डर अधिकांश फिर्ता भएका छैनन्,' उद्यमी शारडाले भने, 'अर्कातिर अस्पतालहरूमा सिलिन्डरको माग ३ गुनाले बढेको छ। त्यसैले हामीले माग अनुसारको सिलिन्डर उपलब्ध गराउन सक्ने अवस्था छैन।'
मोरङका उद्योगहरूले विराटनगरसहित सुनसरीका इटहरी र धरान तथा झापाका दमक, बिर्तामोड, काँकडभिट्टा र भद्रपुरसम्म सिलिन्डरको आपूर्ति गरिरहेका छन्।विनायकले अक्सिजनका दैनिक ५ सय र मारुतीले दैनिक ३ सय सिलिन्डर रिफिल गर्ने क्षमता राख्तछन्।
‘सिलिन्डर फिर्ता आए पो रिफिल गर्नु,' मारुतीका शंकरलालले सुनाए, 'एकोहोरो माग मात्रै छ। त्यसैले हामीले व्यक्तिलाई अक्सिजन आपूर्ति गर्न केही कडाइ गर्न थालेका छौं। कसैका घरमा साँच्चिकै बिरामी रहेछ र उसलाई अक्सिजन नै चाहिएको हो भन्ने ठहराएपछि मात्र दिन थालेका छौं। पहिलेजस्तो अक्सिजन चाहियो भन्नेबित्तिकै पाइँदैन।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell