काठमाडौं : गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई अविश्वासको प्रस्ताव पारित गराउन रिसोर्टमा राखेको छ। माओवादी र कांग्रेसका सांसदलाई एकै ठाउँमा लेकसाइडको कुटि रिसोर्टमा राखिएको हो।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्तावमा सत्तापक्षले चलखेल गर्न सक्ने भएकाले रिसोर्टमा राखिएको बताए। सत्ता पक्षले विपक्षी सांसदहरुलाई फ्लोर क्रस गरेर आफू जित्ने रणनीतिमा लागेकाले आफूहरुले सतर्कता अपनाउनु परेको उनको भनाई छ।
'फ्लोर क्रसको डर त हुन्छ नि। सतर्क त हुनै पर्यो नि। एउटा माइनस गर्न पाए सत्ता पक्षलाई पुगिहाल्छ नि। त्यो झिनो मार्जिन हो नि। विश्वासको मत ल्याएको भए त्यस्तो के गर्थे र सत्ता पक्षले। अविश्वासको प्रस्ताव हामीले दर्ता गरेको हुनाले एउटामात्र माइनस भयो भने असफल हुन्छ। असफल भए एक वर्षसम्म त्यसै जान पाइन्छ। हाउसलाई बन्धक बनाउन पाइँदैन,' उनले भने।
अविश्वासको प्रस्ताव सोमवार प्रदेशसभामा टेबुल भएको थियो। उक्त प्रस्तावमाथि आजदेखि छलफल प्रारम्भ हुने भए पनि सत्ता पक्षले अवरोध गरेको छ। पीसीआर परीक्षणको माग राख्दै सत्ता पक्षका सांसदहरुले अवरोध गरेका हुन्। नेता नेपालीले सत्ता पक्षको मनासय नै गलत भएकाले झुलाउन चाहेको बताए।
'अविश्वासको प्रस्तावमा अवरोध गरेका छन्। सत्ता पक्षको इन्टेन्सन नै खराब छ नि। लिङ्गरिङ गरेर अगाडि लान खोजिरहेको छ। पीसीआर टेस्टलगायतका कुरा लिएर। हामी त विपक्षी हो। सदन सभामुखले ह्यान्डल गर्ने हो। दुबै पक्षको राखेर कार्यव्यवस्थापन समितिको बैठक बस्दै छ,' उनले भने।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वासको प्रस्ताव आउने सुइँको पाएपछि वैशाख २ गते प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए। नेपाली कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्तापछि सांसदहरुले विशेष अधिवेशनको माग गरेका थिए।
गण्डकीमा नयाँ सरकार बनाउन ३१ सांसद आवश्यक छ। कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद छन्। एमालेका २७ सांसद छन्। जनमोर्चाका ३ र एक जना स्वतन्त्र सांसद छन्।
यसअघि गण्डकी सरकारमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले चैत २५ गते राजीनामा दिएका थिए। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले दलको निर्णयका आधारमा राजीनामा दिएका थिए।