PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

जीवनको 'आयाम' बुझाउने चार पात्र : कथा फरक, मर्म चाहिँ एक



स्वेच्छा राउत

जीवनको 'आयाम' बुझाउने चार पात्र : कथा फरक, मर्म चाहिँ एक

हात गुम्नुअघि मेघा घिमिरेलाई विश्वास थिएन – हत्केलामा भाग्य अडिन्छ।

२०७२ साल पुस २४ गते उनलाई करेन्ट लाग्यो। त्यही एउटा झट्काले खोस्यो उनको दुवै हात, पाखुरादेखि नै।

हातसँगै १० महिनाअघिको विवाह पनि टुट्यो। श्रीमान् टाढिए। अनि टुङ्गियो वर्षौ लामो प्रेम।  उनी खान र लाउन अरुको भर परिन्। आँशु पुछ्नसमेत अरुलाई गुहार्नु पर्दा लाग्यो -  हातसँगै गुम्यो भाग्य पनि।

ऐना हेर्थिन्। शरीर पूर्ण नहुँदा जीवन नै अपूरो देख्थिन्। धेरै पटक आफैलाई प्रश्न गरिन् – अब बाँच्नुको औचित्य के? घाउभन्दा बढी मन पोल्थ्यो। निद्रै नपर्ने रातहरूमा पनि सपनाजस्तै बनिसकेको थियो जिन्दगी।

दुई वर्ष हेरिन् श्रीमानको बाटो। खोजेको त साथ थियो तर पाइन् दोस्रो विवाहको खबर।

'मनमुटु नै साटेकाहरू पनि सधैं सँगै नहुने रहेछन्। स्वीकारेर अघि नबढी हुन्थ्यो त?,' यसो भनिरहँदा उनको मुहारमा हाँसो अलिकति पनि कम भएको थिएन।

आमाबुबा र भाइमा निर्भर हुन पुगेकी मेघालाई लाग्यो - हात नहुनु केही गर्न नसक्नु हो। बिस्तारै चम्चा उठाइन्, खुट्टाका औंलाहरूले। खाना नपोखी मुखसम्म पुर्‍याउन सक्ने भइन्। खुट्टाले नै कवितादेखि कपालसम्म कोर्न थालिन्।

'जीवन त कति सुन्दर रहेछ। आँट्ने हो भने गर्न नसकिने के रहेछ र?,' उनले निराशा त्यागेको त्यो क्षण सम्झिन्।

मेघाले फेरि एकपटक हेरिन् ऐना, श्रृङ्गारिन् आफैलाई। गुमेको मुस्कान फर्कन जो दिनु थियो। त्यसैले खोज्दै आइन् खुला परिवेश, विराटनगरदेखि काठमाडौं, संगीत सिक्ने रहर बोकेर।

यो शहरमा आफूजस्तै लडेर उठेकाहरू धेरै देखिन्। उठेपछि ठीक भएकाहरू बलिया अनि सुन्दर लागे। कसैको हात छैनन्, कसैको खुट्टा। कोही बोल्न सक्दैनन्, कोही सुन्न। कोही पुरुषजस्तो देखिए पनि स्वभावले महिला हुन्छन्, अनि कोही शरीरको भित्र कतै चोट बोकेर हाँसी रहन्छन्, अरुका लागि ऊर्जा बनेर।

+++

बाक्लै चहलपहल र प्रतिस्पर्धाको शहर काठमाडौं आए चितवनका आयाम, फरक जीवन बाँच्ने हुटहुटी बोकेर। बिरानो शहरमा आफ्नोपनको खोजी थियो त्यो यात्रा।

सन् २०१६ मा प्लस टूको पढाई सकियो। त्यसपछि भविष्य खोज्न हान्निए भारततिर। त्यहाँको घाममा उनले न्यानोपन पाएनन्, केवल पोल्योमात्र। हावापानीमा पनि कहाँ हुनु र शीतलता अनि मिठास? भाषाले समेत नजिक हुन दिएन उनलाई त्यहाँका मानिसहरूसँग। अथाह अवसर र सम्भावना बोकेको त्यो ठूलो शहरमा साँघुरो पाए भेटिएका धेरैको मन। अन्तत: फर्किए नेपाल नै।

हुन त काठमाडौंमा पनि चिनजानका कोही थिएनन्। तर, आत्‍मविश्वासले यसरी डोर्‍यायो कि यो महङ्गो शहरमा बाँच्ने, कमाउने र पढ्ने अठोट लिए। अठोटले भुलाइ दियो हिँडिआएको गोरेटो। खोज्न थाले पुग्नुपर्ने ठाउँ जाने बाटो।

साथीका साथीहरूसँग अटाए उनीहरुकै डेरामा। रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भए, अङ्ग्रेजी साहित्य पढ्न। कहिले ठमेलको रेस्टुराँमा वेटर बने त कहिले पर्यटकका लागि दोभाषे। कमाइ राम्रो थियो। आवश्यकता पूर्ति हुँदै जाँदा जिन्दगीको लय मिल्दै थियो। छिट्टै ल्यापटप र स्कूटी किन्ने योजना बुन्दै थिए। त्यत्तिकैमा भइदियो लकडाउन। उनले गर्दै आएको काम ठप्प भयो। त्यसपछि खर्च योजना सूचीको अग्रपङ्क्तिमा चढ्यो 'जीवन यापन।'

ल्यापटप र स्कूटर सपना त्यागेर खर्चनु पर्‍यो कोठा भाडा र रासन पानीमा। यसबिचमा दैनिकी केही कठिन बन्दै जान्छ कि? भन्ने भय दिनहुँजसो थियो। तर, आफ्नो भन्दा अप्ठ्यारो परिस्‍थिति भोग्नेहरू देखे, नजिकबाट। चिनजानका ८ जनाले आत्महत्या गरे लकडाउनकै बिचमा। कारण –  अभाव र दबाब।

अभाव पैसाको थियो। अनि दबाब, लैङ्गिक पहिचान लुकाउन। लकडाउनले फुर्सद दिलायो। फुर्सदले परिवारसम्म पुर्‍याएको थियो उनीहरूलाई। तर, बाह्य दुनियाँमा जस्तो सहज भएन आफ्नो लागि आफ्नासँगको लडाईं। ती सबै मरे। ती श्रृङ्खलावद्ध आत्महत्याले पिलरोल्यो आयामलाई। आफैलाई मार्ने निर्णय लिनुअघि कति लोभ लाग्यो होला त्यो सासको? उनले पनि समानुभूत गरे।

कारण – चितवन मंगलपुरका २२ वर्षीय आयाम पौडेल स्वयं 'गे' हुन्। समाजले तोकिदिएको महिला र पुरुषको व्याख्यामा समेटिँदैन उनको यौनिकता। निर्धारित मान्यतालाई स्वीकार्न र लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको आत्महत्यालाई सामान्यीकरण गर्न पनि तयार छैनन् उनी।

'आम महिला वा पुरुषजस्तो नहुनु, महसुस नगर्नु समस्या होइन। यो प्राकृतिक विषय हो। तर, फरक महसुस गर्ने भएकै कारण समाजले दुत्कार्छ। समस्याहरू सिर्जना गरिदिन्छ,' आयाम केही आक्रोशित सुनिन्छन्, 'एउटी केटीले छोटो लुगा लगाउँदा सयौं प्रश्न र दुर्व्यवहार सहनुपर्ने समाजमा हामी लैङ्गिक अल्‍पसङ्ख्यकको अवस्था झन् कस्तो होला?'

चुप रहनुलाई विकल्‍प मान्दैनन् उनी। लैङ्गिक, यौनिक पहिचान लुकाइरहेकाहरू 'आफू' बनेर प्रस्तुत होउन्। आवाज उँचो गरुन् भन्ने चाहन्छन्। दबाबविरुद्ध डट्ने आत्मविश्वास जगाउन 'फरक भएरै सुन्दर छौं' भन्ने सन्देश प्रवाह गर्नु उनको उद्देश्य।

आयामका लागि आफूलाई अंगाल्नु नै सुन्दरता हो।

'जीवन सुन्दर छ र त्यति नै सुन्दर छन् हरेक व्यक्ति। आफूभित्रको नराम्रो पक्ष त्यागेर आफ्नोपनलाई अंगाल्नु नै त हो सुन्दरता,' उनले अनुभव सुनाए, 'समस्या त फरकपनलाई अंगाल्न नसक्नेहरूमा छ।'

उनको कुरा सुनेर बसेकी नताशा नेपालीले भने फरक मत राखिन् - फरक भोगाइको परिणाम हुनसक्‍छ यो।

+++

मानिसहरू भन्थे - यसको हाउभाउ, बोली र व्यवहार छोराको जस्तो छैन। उनको हिँडाइको लचकता र हाँसोलाई अस्वभाविक देखे सबैले। कोही प्रश्न गर्थे, कोही गाली। फरक मिजासकै कारण साथीहरू कहिल्यै बसेनन् उनी नजिकै।

साथी बन्यो एक्लोपन। अनि आफैलाई बिर्सिएर हराउनु, आदत। अरुको सामुन्ने हाँस्न, बोल्न, हिँड्नमै सतर्क हुनुपर्ने। डर र अन्यौलताबिच जीवनको १८ वर्ष बाँचे उनले - 'छोरा मान्छे' भएर।

साथी बनेको मोबाइल र इन्टरनेटले बुझायो - आफूले देख्ने क्षितिजभन्दा पर पनि दुनियाँ छ। त्यसपछि चिने आफूभित्रको महिलालाई। जसलाई हुर्काउनु थियो, अनि गर्नु थियो प्रेम। बदलामा पाउनु थियो पहिचान।

प्लस टू सकेपछि उनी काठमाडौं आइन्। यहाँ उनले आफूजस्तै पारलिङ्गीहरू भेटिन्। लैङ्गिक पहिचानका आन्दोलनहरूको हिस्सा बनिन्। फराकिलो बन्दै गयो उनको बुझाइ। दुर्वचन लगाउनेहरूसँग सम्झौता गर्नतिर लागिनन्, तटस्थ रहिन्।

तीन वर्षअघि पहिलो पटक परिवारले दिएको नाम त्यागेर नताशा बनिन्। समाजले दिएको पुरुष पहिचान त्यागेर महिला हुनुको उत्सव मनाइन्। साथै निर्धक्क लगाइन् आफूलाई मन लागेको डिजाइनका लुगा। मनपर्ने रङको लिपस्टिक। कसैबाट नलुकी आफू हुन पाइन् उनी।

'घरबाट निस्किएको दिन जिन्दगी र आफैलाई चिनेँ। मैले आफ्नो लागि बाँच्नुपर्छ, बाँच्नलाई संघर्ष गर्नुपर्छ भन्ने महसुस गरेँ। जिन्दगी र संघर्ष मेरो हो भने निर्णय पनि मेरै हुनुपर्छ भन्ने लाग्यो,' उनले सुनाइन्।

कसैको इच्छा र आवश्यकता लैङ्गिक अल्पसङ्ख्यक र बाहुल्यता भएकाहरू बिचको विवादको विषय बनाउनेहरूसँग भने विमति छ उनको।

'मेरा इच्छा वा आवश्यकता अरुको भन्दा फरक हुन्। तर, म फरक होइन। म आफूलाई मेरो परिवार, आफन्त, साथीभाइजस्तै मान्छे ठान्छु। तर, उनीहरूले नै मलाई 'तँ फरक होस्' भन्ने महसुस गराउँछन्,' उनले आयामको भन्दा फरक विचार राखिन्। भनिन्, 'मलाई समाजले फरक होइन समान स्वीकारोस्।'

हरेक पटक आमाबाको यादले डोर्‍याउँदा उनी नवलपरासी पुग्छन् - पुन: छोरा बनेर। आफ्नाहरूसँग हुन आफूलाई पर कतै छोड्न बाध्य हुन्छन् उनी। किनकि परिवारले बुझेको छैन उनले लडिरहेको सामाजिक लडाईको औचित्य, जुन उनको पहिचानसँग गाँसिएको छ।

'पहिचानको लडाईं कठिन छ। तर, असम्भव होइन,' उनी बोलिसक्दा सहमतिको मुन्टो हल्लाउँछन् आयाम। उनीहरू दुवै यस लडाइँमा सँगै छन्- समाजले माग्ने प्रश्नको जवाफ काममार्फत् दिने सङ्कल्प बोकेर।

नताशा स्थापित हुन चाहन्छिन् कुशल मेकअप आर्टिस्टका रुपमा। मुहारहरूमा भर्न चाहन्छिन् समानता र समताको रङ। भन्छिन्, 'श्रृङ्गारले मानिसलाई परिवर्तन गराउने होइन। भइरहेको सौन्दर्यलाई बढाउने हो। हरेक लैङ्गिक समुदायका साथीहरूलाई त्यो सुन्दरता महसुस गराउन चाहन्छु।'

आयाम भने फेसन डिजाइनर बन्न चाहन्छन्। उनकी आमाले चलाएको लुगा सिउने कलको चाल, धागोहरूको रङ र कपडाका बुट्टाहरूले उनमा भरिदिएको रहेछ यस्तो रहर। त्यही रहर पूरा गर्न भर्ना भएका छन् फेसन डिजाइनिङको डिप्लोमा कोर्समा।

'सुन्दरता आफ्नो सबैभन्दा सशक्त पक्ष महसुस गर्ने अवस्था हो। अनि कमजोरी सुधार्ने। म हरेकलाई त्यो सौन्दर्य महसुस गराउन चाहन्छु, 'आयाम भन्छन्, 'अनि माध्यम चाहिँ लुगा।‘

आयाम बोलिसकेर कफीको चुस्की लिँदै थिए। एक्कासी सबैको कानमा गुञ्जियो चञ्चल आवाज – 'हाइ सबैजनालाई।'

त्यो आवाजसँगै बोकेर आएकी थिइन्, मेघा। उनको बोली र मुस्कानले फरक उर्जा सिञ्चित गर्‍यो सायद्। आयामले जवाफी मुस्कान दिँदै भने – 'बस न।'

मेघा नबसी बोलिन् – ‘कसैले मेरो पाइन्ट माथि तानिदिनु न हौ।‘

‘मेघाजस्तै साथीहरूलाई तानिराख्न नपर्ने पाइन्ट बनाउँछु,’ यति बोल्दा आयामको मुहारमा गम्भीरता र ठट्टा दुवै झल्कियो।

सबैको हाँसोमा हाँसो मिसाउँदै मेघाको पाइन्ट तानिदिइन् रेनुकाले। आँखा छोप्नेगरी अगाडि आएको कपाल कान पछाडि सिउँरिदिँदै बोलिन्, 'हामीलाई सहज हुने लुगा त आयामले बनाउला। हामीलाई हेर्न नसक्नेहरूका लागि चश्मा चाहिँ कसले बनाउँछ?'

+++

अनुहार, घाँटी, छातीदेखि हातसम्मै जलनको दाग बोकेकी छिन् रेनुका श्रेष्ठले। नौ वर्ष भयो। नुहाउन पानी तताउँदै थिइन्। ग्यास लिक भएर दन्किएको आगोको रापले उनलाई नराम्रोसँग पोल्यो।

पहिलो पटक पट्टी खोल्दा, अस्पतालको शय्या छेउ ऐना बोकेर उभिएका थिए उनका श्रीमान् सरोज। ऐनामा हेरिन्। त्यसपछि नजर पर्‍यो निहुरिरहेका श्रीमानतिर। केही बोल्न सकिनन् – आँशु पुछ्दै कोल्टे फेरिन्। मनमा प्रश्नको पहाड थियो – मेरो डढेको छालालाई पनि माया गर्लान् सरोजले?

जवाफ समयले दियो। अप्ठ्यारोमा पाएको आफ्नाको साथ साहस बन्यो। भत्भती पोल्दा सुन्दरता भन्दा अगाडि खोजिँदो रहेछ शीतलता। वर्षौ थला पर्दा पनि छेउमा बसेर हरेक गाँस जाउलो सेलाउन फु… फु… गरिदिने श्रीमानको मायाले मल्हमको काम गर्‍यो।

केही समय प्लास्टिक सर्जरीका लागि उपायहरू खोजिन्। अनेक ठाउँ धाइन्। त्यस विषयमा खोजिन्, पढिन्। बुझ्दै गइन् – पहिलेजस्तै देखिनु सम्भव छैन। चिलाइरहने अनि बल्झिरहने घाउले पनि बुझायो – आफूभित्रको संवेदना त हरेक पल फेरिन्छ भने बाहिरको छाला दुरुस्तै कहाँ पाउँला र?

कति पटक सहन नसकेर बेहोस भइन्। कति पटक चिलाइरहने भाग चक्कुले काटेर फालिन्। सहजै सास फेर्नु रहर बन्यो। अनि गौण बन्न थाल्यो रूप।

'जलनले रूप बिर्साइ दियो। हरेक पल सोच्थेँ - पोल्‍न छोडे संसार जित्छु,' उनले त्यो भोगाइ सुनाइन्। बोल्दाबोल्दै रसाएका आँखा छल्न अगाडि राखिएको लस्सीको गिलास उठाइन् र खुवाइन् कुरा सुनिरहेकी मेघालाई।

अभिनय रेनुकाको रहर रहेछ। चाहन्थिन्, कुनै दिन टिभीमा देखिन। तर, क्यामेरा अगाडि खोजिन्छ सफा छाला भन्ने कुराले पछिसम्मै बिझायो। सकार्दै गइन् चोट। खाटा बस्दै गयो घाउमा।

उनी आफू बिरामी हुँदा खाटमा बसेरै बुझेकी थिइन्, दुनियाँले हेर्ने नजर। थाहा पाएकी थिइन् - कोही डराउनेछन्, कोही घिनाउने। कोही तर्कने छन्। नजिकिनेसँग पनि हुनेछ प्रश्नका चाङ।

'म प्रश्न सामना गर्न तयार थिएँ। त्यसैले आफूलाई नछोपी हिँड्ने आँट बटुलेँ,' उनी आत्मविश्वासी सुनिइन्, 'खुल्दुली हुनेहरू आएर सोधुन्। के भयो? म मेरो कथा सुनाउँछु। तर, उपेक्षा नगरुन्। त्यसले अझै बढी पोल्छ।'

रेनुकाका बुबा हरेक पटक उनलाई भेट्दा रुन्छन्। उनी सम्झाउँछिन् – नभइदिएको भए हुन्थ्यो। तर, भइसकेको कुरामा किन चित्त दुखाउनु?  

बुबालाई त थुम्थुमाउँछिन् तर हरेक पटक एसिड वा आगोले कसैलाई पोलेको सुन्दा त्यो जलन बल्झन्छ। 'फेरि एउटा अनुहारलाई समाजले कुरुपको ठप्पा लगाइदिन्छ। विचरा भन्छ। उपेक्षा गर्छ वा क्षणिक सहानुभूति जताउँछ भन्ने कुराको डर लाग्छ,' उनी केही मलिन सुनिन्छिन्।

जलेकाहरूको भोगाइ – हिँड्दाहिँड्दै कसैले घाउ छोप्न सुझाउँछन्। कसैले नाक खुम्चाउँछन्। जलनकै कारण काम दिइँदैन। प्रेम र स्नेह कोबाट अपेक्षा गर्नु?

रेनुकाको आत्मविश्वासले भने पखेटा हाल्दै गयो। रुप पहिलेजस्तो बनेन तर उनी आमा बनिन्। आमा बन्नु जिन्दगीको सबैभन्दा सुखद् अनुभूति भएको महसुस गरिन्। प्रसव वेदनाले हो बिर्साइ दिएको त्यो पीडा जुन पाप्रा बनेर बसेका थिए शरीरमा। अनि छोरा जन्मिएको केही समयपछि देखि त उनले र्‍याम्पमा हिँड्ने अवसरहरू पाउन थालिन्, डिजाइनर पहरिनमा। सयौं मानिसका अगाडि, आफ्नो जलेको छाला देखाउन रत्तिभर पनि नधकाई।

'मनदेखि चाहेको कुरा पूरा हुँदै जाँदो रहेछ। पर्खन सक्नुपर्‍यो,' उनले भनिन्, 'सुन्दरता त क्षमता र आफैमाथिको विश्वास पो रहेछ।'

+++

रहर र अवसरले हो रेनुका, मेघा, आयाम र नताशालाई एउटा 'प्ल्याटफर्म'मा जोडेको। उनीहरू सन्देश बनेर प्रस्तुत भए, फरकपनकै कारण सुन्दर भएकाहरूको प्रतिनिधि बनेर। 'हाउस अफ फेसन नेपाल'ले 'अन भग् फेसन' प्रतियोगिताका लागि उनीहरूको सौन्दर्यलाई ठाउँ दिएको हो।

'यो समय सबैका लागि' भन्ने सन्देश बोकेर समेटेका यी मुहारहरू जुन चलिआएको बजार र फेसनको परिभाषामा कहिल्यै अटाएनन्। विविधतामा सुन्दरता छ र त्यो सुन्दरता फस्टाउने ठाउँ बनाएको आयोजकको दावी छ।

आयाम खुशी छन्, सन्देश बन्न पाउँदा। अवसरका लागि धन्य पनि। चित्त नबुझेको कुरा प्रष्ट भन्न पनि धकाउँदैनन्। 'नारा र हाम्रो तस्विर आकर्षक त देखिएला। तर, लैङ्गिक अल्पसंख्यकमध्ये कसैले प्रतियोगिताका लागि फारम भर्न खोजे उसले आफू महिला वा पुरुषमध्ये एक भएको जनाउनु पर्छ। खोइ त व्यवहारिक विविधता?,' उनले प्रश्न गरे।

'आयामहरू'ले पहिचान, शरीरको अङ्ग, परिवार र आफन्त गुमाएर पनि बटुलेका छन् अनुभवको खात। हन्डर, ठक्कर र घाउहरूबाट उठेर फक्रेका छन्। बनेका छन् धेरैका लागि मल्हम। समाजले खोज्नेजस्तै 'सबैकुरा मिलेका' र 'सिद्धान्त बुझेका'हरूबाट भोगेका छन् सबैभन्दा कुरुप व्यवहार। तर, पनि थाहा पाएका छन् - जिन्दगी सुन्दर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell