
काठमाडौं : गण्डकी प्रदेशका ३ जना प्रदेश सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलवार मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङविरुद्ध अविश्वासको छलफल चल्ने क्रममा सत्ता पक्षका सांसदले कोरोना परीक्षण गराउन माग गरेका थिए। त्यसपछि भएको कोरोना परीक्षणमा कांग्रेसका एक जना र एमालेका दुई जना प्रदेश सभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो।
तर अविश्वासको प्रस्तावमाथि आज पनि छलफल जारी रहनेछ। बैठकमा कोरोना संक्रमित सांसदलाई बोल्न नदिने बताइएको छ। बिहीवार अविश्वासको प्रस्तावमा मतदान हुँदैछ।
मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्ताव आउने सुइँको पाएपछि वैशाख २ गते प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए। नेपाली कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्तापछि सांसदहरुले विशेष अधिवेशनको माग गरेका थिए।
गण्डकीमा नयाँ सरकार बनाउन ३१ सांसद आवश्यक छ। कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद छन्। एमालेका २७ सांसद छन्। जनमोर्चाका ३ र एक जना स्वतन्त्र सांसद छन्।
गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई अविश्वासको प्रस्ताव पारित गराउन रिसोर्टमा राखेको छ। माओवादी र कांग्रेसका सांसदलाई एकै ठाउँमा लेकसाइडको कुटी रिसोर्टमा राखिएको हो।