PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

निषेधाज्ञामा अत्यावश्यक वस्तु आपूर्ति कसरी हुँदैछ?



निषेधाज्ञामा अत्यावश्यक वस्तु आपूर्ति कसरी हुँदैछ?

काठमाडौं : आजबाट काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू भएको छ। योसँगै अत्यावश्यक वस्तु व्यवस्थापनका लागि सरकारले उद्योगहरुमार्फत नै पास वितरणको व्यवस्था मिलाएको छ। यस्ता वस्तु बोक्ने सवारी साधनलाई उद्योगले दिएको परिचयपत्रसहित पासका आधारमा चल्न दिइने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तीनवटै प्रमुख जिल्ला अधिकारीसहित निजी क्षेत्रका संस्थाहरुसँग भएको छलफलमा यो सहमति भएको हो। उद्योगको परिचयपत्र मात्रै हुँदा नक्कली बनाउने सम्भावना हुने भएकाले पास पनि चाहिने व्यवस्था गरिएको हो।

अत्यावश्यक बाहेकका उद्योग हकमा भने उद्योग विभागले सहजीकरण गर्ने सहमति भएको छ। ' अरु प्रकृतिका उद्योगका लागि विभागमा आवेदन दिनुपर्छ। उक्त आवेदनका आधारमा विभागले जिल्ला प्रशासनसँग समन्वय गरेर चलाउन दिनेछ,' छलफलमा सहभागी एक उद्योगीले भने।

अत्यावश्यक वस्तु ओसारपसार गर्ने ढुवानी गर्नेलाई सम्वन्धित उद्योगले दिएको पासका आधारमा चल्न दिइने निर्णय भएको वाणिज्य मन्त्रालया प्रवक्तानारायणप्रसाद रेग्मीले बताए। उनले भने, 'हामीले यो निषेधाज्ञामा अत्यावश्यक सामग्री ओसारपसार गर्न कुनै पनि समस्या नहोस् भन्नका लागि तयारी गरेका हौं।'

छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई, ललितपुरका ढुण्डीप्रसाद निरौला, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका पदाधिकारी र उद्योगमन्त्रालयका कर्मचारीहरु सहभागी थिए।

सरकारले बिहीबारदेखि उपत्यकाको तीन जिल्लामा निषेधाज्ञाको घोषणा गरेको छ। यो समयमा खानेपानी, दाल, चामल, नुन, तेल, औषधि, दुग्धजन्य तथा अन्य खाद्य सामग्री लगायतको निर्वाध ओसापसार गर्न दिइनेछ।

यदि अत्यावश्यक सामग्री ओसारपसारमा कुनै अवरोध आए सिधै फोन गर्न पनि उद्योग मन्त्रालयले भनेको छ। मन्त्रालयले यसको लागि र्‍यापिड रेस्पोन्स टिम बनाएको छ। यो टिमले कुनै समस्या आएमा तत्कालै समाधान गर्ने मन्त्रालयले जनाएको छ। गत वर्षको निषेधाज्ञामा तीन तहको सरकारबीच समन्वय नहुँदा अनुमति पाएका उद्योगीले समेत समस्या भोग्नु परेको थियो। योपटक सबै निकायबीच समन्वय गरी काम अघि बढाउने तयारी सरकारले गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell