PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

शव र हाहाकारका दृश्य : सर्तक बनाउँछ कि थप्छ सास्ती?



स्वेच्छा राउत

शव र हाहाकारका दृश्य : सर्तक बनाउँछ कि थप्छ सास्ती?

दिल्लीको समाधिस्थलमा जलिरहेका शवहरू। कतै जलाउनका लागि पालो पर्खिरहेका शवको लाम। कोही अस्पतालको शैय्यामा छट्पटाइ रहेका त कोही सडकपेटीमै लडिरहेका। तस्बिर र अत्यासलाग्दा समाचारका शीर्षक बनेर छाए – सबैखाले मिडियामा। अस्पतालमा छट्पटाइरहेका बिरामी। शैय्या नपाएर रोइकराइ गरिरहेका कोभिड-१९ संक्रमितका आफन्त।

यस्ता सबैखाले दृश्यले आफैमा भय बढाएको बताउँछन् शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ प्राध्यापक डाक्टर सरोज ओझा। देखिएका दृश्यहरु यहाँको होइनन्। नेपालको अवस्था पनि होइनन् ती। तर, संक्रमणले निम्त्याउने त्यो भयावह परिस्थितिसँग जुध्न तयारी के त? अवस्था नियन्त्रण बाहिर जाँदा गर्ने के? आफू जोगिने कसरी? यिनै प्रश्नले बारम्बार पिरोल्न थालेको छ उनलाई।

डाक्टर ओझालाई थाहा छ यस्तो त्रास उनमा मात्र होइन, अरुमा पनि छ। 'भारतको अवस्थाबारे समाचार आइरहेका छन्। नेपालमै पनि संक्रमण दर बढ्दो छ,' डाक्टर ओझाले सुनाए, 'केहीलाई मतलव छैन। धमाधम राजनीतिक समारोहदेखि बिहे भोजमा सरिक भइरहेछन्। जसलाई मतलव छ उनीहरू समाचार हेरिरहेछन्। हेरेर झन् आत्तिरहेका छन्।'

एक वर्षअघि संक्रमण र लकडाउनका कारण यसैगरी मनोवैज्ञानिक असर परेको थियो। त्यस समय कोभिड-१९ बारे कसैलाई केही थाहा थिएन। सबै आत्तिएमात्र। बिस्तारै संक्रमण दर बढ्दै गयो मानिस सतर्क र अभ्यस्त बन्दै गए। संक्रमण घट्दा डर कम हुँदै थियो।


प्राध्यापक डाक्टर ओझा


संक्रमण बढ्दा स्वास्थ्य सेवामा 'को कति पानीमा' छन् प्रष्ट भएकै थियो। संक्रमण घट्दा कमजोरी सुधार्ने काम नभएको बताउँछन् उनी। त्यसको असर हो – बेड सकियो, स्वास्थ्यकर्मी पुगेनन् भन्ने खबरहरू। अस्पतालहरूमा शैय्यादेखि, स्वास्थ्यकर्मीको अभावबारे खबर सार्वजनिक हुँदा मानिसहरू झनै आतंकित भएको उनको बुझाइ छ।

'मानिसहरूमा चिन्ता बढेको छ र रातमा निद्रा नपर्ने समस्या बढेको छ,' उनले भने, 'समस्या के भइदियो भने चिन्ताले निद्रा पार्दैन। अनि निद्रा नलाग्दा पनि हेरेर, पढेर सेयर गरेर बस्ने चाहिँ उस्तै चिन्ताजनक खबरहरू मात्र।'

कोभिड-१९ संक्रमण र मृत्युदरबारे खबरले मानिसमा चिन्ता र तनाव बढाउनेसँगै काममा ध्यान नपुग्ने, स्वस्थ जीवनशैलीमा ह्रास आउने र डिप्रेसन बढाउने उनको तर्क छ।

संकटसँगै बढ्दो बेरोजगारी, फुर्सद, अभाव र व्यापारमा हुने घाटाले पनि धेरै मानिसको मनोविज्ञान कमजोर बनाएको उनले बताए। संक्रमणको क्षति बढ्दै जाँदा मनोवैज्ञानिक असरको पारो पनि चढ्दै जाने उनको तर्क छ।

बढ्दो अभाव र तनाव

लकडाउनका कारण काम ठप्प तर भोक उस्तै। कोठा भाडा तिर्नै पर्‍यो। आयाम पौडेलले ल्यापटप र स्कूटी किन्न जम्मा गरेको पैसा खर्च हुँदै गयो। कोरोना भाइरसको संक्रमण कहिलेसम्म उस्तै रहन्छ पत्तो थिएन। आफूसँग भएको रकम भने सीमित समय सम्ममात्र पुग्ने निश्चित थियो।

नेपालमा हस्तकला सिक्ने पर्यटकका लागि दोभाषे थिए उनी। जुन काम संक्रमण साम्य भएपनि तत्काल सुरु हुँदैन थियो। पैसा सकिएपछि के गर्ने? तनाव बढ्दो थियो। दैनिकी कठिन बन्दै जान्छ कि भन्ने भय थियो उनमा।

लकडाउनकै समयमा उनीसम्म एकपछि अर्को मृत्युको खबर आए। चिनजानका ८ जना मानिसको। ती सबै आत्महत्याका खबर थिए। कारण – अभाव, दबाब र तनाव।


आयाम पौडेल


अभाव पैसाको थियो। किनकि लकडाउनका कारण सबैको गरिखाने बाटो बन्द भयो। जम्मा गरेको पैसाले कहाँ सधैँ पुग्नु? काठमाडौंमा दैनिकी चलाउन गाह्रो हुने भएकैले प्राय घर गएका थिए। त्यहाँ अवस्था झन् अप्ठ्यारो बनिदियो। प्रायलाई विवाहको दबाब। मरेका ८ जनामध्ये सबै लैङ्गिक अल्पसङ्ख्यक। उनीहरूलाई दबाब थियो – लैङ्गिक पहिचान लुकाउने।

'अभाव र दबाबले तनाव बढायो। तनावले आत्महत्यासम्म पुर्‍यायो। लामो समय एकै ठाउँमा, एउटा कुरा सुनेर, एउटै समस्या सहेर बस्दा गाह्रो भयो होला। त्यसैले आत्महत्या गरे,' आयाम अनुमान गर्छन्।

फेरि लकडाउन सुरु भयो। २२ वर्षीय आयाम हालसालै भर्ना भएको फेसन डिजाइनिङको कक्षा रोकियो। उनीसँग भएको पैसा सक्कियो। अब रासनपानी र कोठाभाडा कसरी जुटाउने? पीर बढ्दो थियो। चितवनबाट आमाले केही रकम पठाइदिइन्। हाल उनीसँग दुई महिनालाई पुग्ने रकम छ। त्यो सकिएपछि के गर्ने? भन्ने पीर त छँदैछ। सँगै अत्याएको छ संक्रमण र मृत्युदरको खबरले।

'भोकसँग भन्दा बढी डर रोगसँग लाग्दो रहेछ। आफू सुरक्षित रहँदा पनि संक्रमण भए कसरी म्यानेज गर्ने?,' उनले भने, 'समाचारहरू पढ्दा डर झनै बढ्छ।'

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्था कोसिसले मनोरोग उपचाररत् महिलाहरूमा कोभिड-१९ महामारी र अघिल्लो लकडाउनले पारेको असरबारे गरेको अध्ययन अनुसार नियमित हुने त्रास, सीमित मानिससँगको सम्पर्क र दैनिक उपभोग्य वस्तु अभावका कारण उनीहरूको मानसिक स्थिति झनै बिग्रिएको देखियो।

यस पटक पनि संक्रमण दर नघट्ने र निषेधाज्ञा लम्बिँदै जाने हो भने मानसिक स्वास्थ्यको क्षेत्रमा उस्तै दृश्य दोहोरिने त्रास छ। 'कहिलेसम्म कोठामा थुनिनु पर्ने हो भन्ने कुरा मात्र खेलिरहेको छ,' आयामले भने।

बालबालिका सोच्छन् : यस्तो मलाई नै वा मेरो आफन्तलाई भइरहेको छ

संक्रमण रोकथामका लागि विद्यालयहरू बन्द भए। अनलाइन कक्षा संचालन भइरहेका छन्। विद्यार्थीहरू अधिकांश समय मोबाइल, ल्यापटप वा ट्याबमा बिताइरहेका छन्। संक्रमणको जोखिमका कारण सिकाइदेखि खेलकुदसमेत इन्टरनेटमा समेटिएको छ। सँगै बढेको छ अभिभावकको चिन्ता। किनकि बालबालिकामा डराउने, रुने, निद्रामा तर्सिने समस्याहरू बढ्दो छन्।

कारण – सामाजिक सञ्जाल र मिडियामा प्रवाह भइरहेका सामाग्री।

डर लाग्ने तस्बिर र सनसनीपूर्ण शीर्षकसहित समाचार सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा ती सामाग्री देखेर बालबालिकामा डर बढ्नु स्वभाविक मान्छन् बाल मनोचिकित्सक अरुणराज कुँवर। पाका मानिसलाई पनि त्रसित पार्ने त्यस्ता समाचारबाट बालबालिकालाई टाढा राख्नुपर्ने आवश्यकता रहेको ठम्याएका छन् उनले।


डाक्टर कुँवर


'शव, हाहाकार वा छट्पटाहट देख्दा बालबालिकाले धैर्यता गुमाउँछन्। यो सबै मलाई वा मेरो आफन्तलाई भइरहेको छ भन्ने सोच्छन्,' उनले भने, 'इन्टरनेट आजको आवश्यकता हो। तर, बालबालिकालाई अभिभावकको निगरानीसहित ल्यापटप वा मोबाइल दिनुपर्छ।'

संक्रमित संख्या र मृत्युदरको खबरले बालबालिकालाई बढी संवेदनशील बनाउने कुँवरले बताए। आफ्नै वरपर संक्रमण हुनेहरूबारे सुन्दा उनीहरूले समाचार वा सञ्जालमा देखेको भयावह दृश्‍य आफ्नो वरपर कल्पने उनको बुझाइ छ।

'डराउने वा भयभित बनाउने सामाग्री हेर्न दिएर डराए भन्नु उचित होइन। बालबालिकामा कस्तो मनोविज्ञान हुर्काउने त्यो अभिभावकमा निर्भर हुन्छ,' डाक्टर कुँवरले भने।

कसरी बनाउने बलियो मनोविज्ञान?

मनोवैज्ञानिक असर देखिएका हरेक उमेर समूहका मानिसले सकारात्मक सामाग्री हेर्नु वा पढ्नु पर्नेमा मनोचिकित्सकहरू जोड दिन्छन्। त्यस्तै मनोवैज्ञानिक परामर्श पनि आवश्यक भएको तर्क राख्छन् मनोविद्।

'शवको तस्‍बिर हेरेर वा समस्याका खबर पढेर आफूमा चिन्ता र त्रास बढ्नेबाहेक केही हुँदैन। बरु कसरी सतर्क र स्वस्थ रहनेबारे खोजौं, बुझौं,' डाक्टर सरोज ओझाले भने।

उनले रोग प्रतिरोधी क्षमता बढाउने उपाय, सुरक्षा सामाग्रीको प्रयोगबारे खोज्न र अरुमा पनि त्यही सन्देश प्रवाहमा ध्यान दिनु मानसिक स्वास्थ्यका लागि सकारात्मक पहल बन्ने बताए।

त्रास र चिन्ता बढेको अवस्थामा मनोवैज्ञानिक परामर्शले राहत दिने तर्क छ मनोविद् सन्देश ढकालको। संक्रमणको सुरुवाती चरणदेखि आम मानिसमा देखिएको मनोवैज्ञानिक असर निरन्तर उस्तै रहेको बताउँछन् उनी।

'संक्रमण दर कम हुँदा मानिसमा मनोवैज्ञानिक समस्या पनि केही कम भयो होला। तर त्रास सक्किएको स्थिति छैन। मानिसमा अनिश्चितता छ,' उनले भने, 'पहिले देखिएको लक्षण र समस्याहरूसँग अभ्यस्त हुँदाहुँदै नयाँ भेरियन्ट देखियो। यसले झन् समस्यामा पार्ने भन्ने खालका सन्देशले मानिसलाई आतंकित बनाएको छ।'

यस्तो अवस्थामा त्रास कम नभए, निरन्तर चिन्ता लागे, समस्याहरू सामना गर्नै नसक्ने गरी कमजोर महसुस भए मनोपरामर्श लिन आवश्यक भएको उनको सुझाव छ।

त्यस्तै, संक्रमणबारे सतर्क र सचेत रहनु आवश्यक भए पनि कति र कुन समयमा खबरहरूमा लिने भन्नेमा ध्यान दिनुपर्ने बताए। बिहानै कतिलाई संक्रमण भयो? र कतिजना संक्रमित मरे? भन्ने खालका समाचार पढ्दा दिनभर विचलित पार्ने उनको बुझाइ छ। राति सुत्नुअघि पनि निद्रालाई असर नपर्ने खालका सामाग्री पढ्न सुझाए।

'माध्यम धेरै छन्। त्यसभन्दा धेरै छन् पढ्ने, सुन्‍ने, हेर्ने कुरा। हामीले के हेर्ने र दिमागलाई कता मोड्ने त्यो हाम्रै नियन्त्रणमा छ। माध्यम आधिकारिक र भरपर्दो साथै सामाग्री तनाव नदिने हुनुपर्‍यो,' उनले सुझाए।

सामाजिक सञ्जालमा कम समय व्यतित गर्दा अफवाह र मिथ्या समाचारबाट जोगिने उनको राय छ।

महामारीका समयमा राज्यस्तरबाट मनोवैज्ञानिक परामर्शका लागि कुनै तयारी थिएन। गत वर्ष लकडाउन थपिँदै गएपछि आम मानिसमा चिन्ता, त्रास, अनिद्रा लगायत समस्या बढ्दै गयो। बिस्तारै गैर सरकारी संस्थाहरूसँगको समन्वयनमा भर्चुअल परामर्शका लागि बाटो खुला राखिए।

'भर्चुअल परामर्श प्रत्यक्ष भेटेर गरिने परामर्शजस्तो प्रभावकारी नभए पनि समस्या सामनाका लागि सहयोग पुर्‍याउँछ,' ढकालले भने।

बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ)का अनुसार कोभिड-१९ को महामारीसँगै मानिसमा अधैर्यता, डर, चिन्‍ता, छट्पटी बढेको छ। संस्थाले गत वर्ष भएको लकडाउनमा १५ सय सहभागी बिच गरेको सर्वेक्षणका अनुसार ४२ प्रतिशतलाई कुनै एक किसिमको मनोसामाजिक असर देखिएको थियो। त्यस्तै, २६ प्रतिशतमा दुई वा सोभन्दा बढी लक्षण देखिएको थियो। २५ प्रतिशतले आफूमा समस्या महसुस भएको बताएका थिए। टीपीओका मनोविद्ले महिला, विद्यार्थी, प्रभावित व्यवसायी र दैनिक ज्याला मजदुरी गर्नेहरूमा मनोसामाजिक समस्या बढी देखिएको बताए।

यस्ता समस्या न्यूनिकरणका लागि टीपीओले हेल्पलाइन सेवा बिस्तार गरेको छ। टोल फ्री नम्बर १६६००१०२००५ मार्फत् आवश्यक मनोवैज्ञानिक परामर्श दिइरहेको छ।

कोसिस नेपालले पनि यस परिस्थितिमा मनोवैज्ञानिक परामर्श दिइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell