PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

सधैंका लागि रोकियो पाइदान, अपूरै रह्यो प्यारा ओलम्पिकको त्यो सपना



स्वेच्छा राउत

सधैंका लागि रोकियो पाइदान, अपूरै रह्यो प्यारा ओलम्पिकको त्यो सपना

यो वर्ष अगस्‍ट २४ देखि हुँदै थियो प्यारा ओलम्पिक।

चार वर्षअघि आफ्ना दुई ठूला सपनाबारे सुनाएका थिए यमलाल रसाइलीले। भनेका थिए, 'पहिले देशका सबै जिल्ला साइकलमार्फत् टेक्छु। त्यसपछि प्यारा ओलम्पिकमा भाग लिन्छु। नेपालको झण्डा फहराउँछु।'

कोभिड-१९ ले बिस्तारै बिस्तारै झार्दै लग्यो ती सपनाको प्वाँख। सन् २०२० मै हुनुपर्ने थियो प्यारा ओलम्पिकको १६ औं संस्करण। महामारीका कारण एक वर्ष पछि सर्‍यो। यस वर्षको संक्रमणले यमलाललाई नै पर पुर्‍यायो, उनको साइकलका पाइदान सधैँका लागि स्थिर हुनेगरी।

पोहोर साल कोरोना भाइरसको त्रास बढ्यो। लकडाउन भयो। लाग्यो उनको साइकल यात्रामा ब्रेक। पेडल रोकिए पनि कहाँ अडिनु उनको जोश भरिएको मन। साइकलको पेडल घुमाउन थाल्नुअघि लुगा सिलाउने कल घुमाउनु दैनिकी थियो उनको। लुगा सिलाएर गुजारा गर्थे, त्यही सिप प्रयोग गरे। त्राससँगै बढेको थियो मास्कको अभाव। मास्क सिलाउन थाले – अरुको मुखका लागि। आफ्नो पेटका लागि।

'परिस्थिति अनुरुप ढल्न सक्ने मान्छे थिए। जे गरे पनि आत्मविश्वास सहित गर्ने। अरु धेरैका लागि प्रेरणा थिए उनी,' साइकलिस्ट देवेन्द्र बस्नेतले भने, 'अभावको बेलामा नधकाइ मास्क बनाएर बजारमा पुर्‍याउनु ठूलो योगदान थियो।'

संक्रमणविरुद्धको लडाइमा सियो धागो लिएर उभिएका यमलालले सोचेका थिए, अर्को वर्ष सबै ठीक हुन्छ। सम्बन्धित निकायको साथ र सहयोग मिले – प्यारा ओलम्पिक जाने हो। मेडल जित्ने हो।

तर, शुक्रवार उनी संक्रमणसँगको लडाइमा हारे। सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत् उनको मृत्यु समाचारको शीर्षक बन्यो।

+++

यमलाल रसाइलीले साइकल चलाउने सपना देख्न थाल्दा उनीसँग इच्छा शक्तिबाहेक केही थिएन। न कसैको हौसला न साइकल नै। अँ, सबैभन्दा महत्वपूर्ण, साइकलको पेडल चाल्न एउटा खुट्टासमेत थिएन उनीसँग।

पहिलोपटक साइकलको सिटमा बस्दा १८ वर्षका थिए उनी। लड्ला, केही भवितव्य पर्ला भन्ने चिन्ताले साइकल चढ्नबाट रोक्न खोजेको थियो परिवारले। तर, आफ्नो संकल्पबाट पछाडि भने हटेनन्। अन्तत: उनी एउटा खुट्टा बिनै साइकलिस्ट बनेर देखाउन सफल भए।

साइकल चलाउन सक्नुमात्र उनी 'साइकलिस्ट' कहलिनुको आधार थिएन। ठूलो साहस र सङ्कल्प बटुलेर लामो साइकलयात्रामा निस्किए उनी। फलत: दुई महिना अठार दिन लामो यात्रा गरे। नेपालका ३१ जिल्लाको भ्रमण थियो त्यो। करिब ३३ सय किलोमिटर लामो यात्रा एउटै खुट्टाले पेडल चालेर पूरा गरेका थिए।

+++

उमेरले चार वर्षको हुँदा खेल्दाखेल्दै लडेका थिए यमलाल। त्यतिखेरै भाँचियो खुट्टा। विपन्न परिवारमा जन्मिनुको पीडा - उपचारका लागि अस्पताल लगिएन। आमाले गाली गर्दै बाँसको काम्रोको लेप खुट्टामा दलिदिइन्।

एक सातापछि काम्रो त निकालियो। काम्रोसँगै उप्कियो उनको छाला पनि। अर्को दुर्भाग्य- उपचार गर्नका लागि अस्पताल लैजान नसकेको परिवारले खुट्टा काटेर फाल्न मिसन अस्पताल पाल्पा पुर्‍यायो उनलाई।

पर्वतबाट बसाइ सरेर कैलालीतिर झरेको थियो उनको परिवार। कैलालीको खगेन्द्र नवजीवन केन्द्रमा आश्रय पाएका थिए यमलालले। केन्द्रमा जीवन सहज भने थिएन। अपाङ्ग हुनुको अप्ठ्यारा एकातिर, जातीय विभेदले पनि छायाँसरी साथ छाडेन। बोझिलो मन बनाएर कैलाली झरेका उनको बाँकी जीवन पनि सकसपूर्ण नै रह्यो।

कैलालीबाटै एसएलसी पास गरेका थिए। लगत्तै सीटीईभीटीबाट सिलाइ बुनाइ सम्बन्धी तालिम लिए। तर, सियो, धागो र कलममा उनको मन रम्न भने सकेको थिएन।

खाली समय काकाको साइकल रिपेयरिङ सेन्टरमा बिताउँथे। त्यहीँ बिताएको एउटा समयले उनको जीवनमा आश्चर्यजनक परिवर्तन ल्यायो। साइकल रिपेयरिङ सेन्टरमा एक जना व्यक्तिभित्र छिरे जसको पैताला नै थिएन।

उनी छक्क परे। ऊ साइकल बनिसकेपछि आफैँ चलाउँदै बाटो लाग्यो। उनले तिनलाई हेरिरहे। उनीभित्र एक प्रकारको ऊर्जा सञ्चार भयो त्यतिखेरै।

बेलुकी घर पुगेपछि उनले बा'लाई भनेका थिए – 'म साइकल चलाउँछु।'

घरमा दाइको साइकल त थियो तर कहाँ छुन पाउनु यमलालले? कारण - लड्ला र अर्को खुट्टा पनि भाँच्ला भन्ने पीर। अनि लडाउला ठोक्काउला र साइकल बिगार्ला भन्ने चिन्ता।

उनको तीब्र इच्छा र जिद्दीसँग उनका बा हारे। अनुमति मिल्यो। दाइले साइकल दिए। सिक्दै गर्दा घरी लडे, घरी ठोक्किएँ। कतिपटक त जिउमा चोट लाग्यो। रगत बग्यो। हार चाहिँ मानेनन्। सिक्ने हुटहुटीलाई थोरै पनि विचलित हुन दिएन उनलाई।

त्यो संघर्षलाई उनले पहिलोपोस्टसँगको कुराकानीमा यसरी व्याख्या गरेका थिए।

'खुट्टा एउटा थियो। त्यो पनि देब्रे। सुरुवातमा वैशाखीले दाहिने पेडल चाल्ने प्रयास गरेँ। तर अहँ! साइकल अडिएन। लड्यो। दोश्रो पटक हात प्याडलमा लगेर चाल्न खोजेँ। तर अहँ! मिल्दै मिलेन। साइकलसँगै म पनि लडेँ। तेश्रो पटक प्याडलमा भारी बाँधेर ब्यालेन्स गर्न खोजेँ। पुरै सफल नभए पनि यो आइडियाले काम गर्‍यो। साइकलको पेडल एक खुट्टाले दबाउँदा भारीको सहायतले चल्न थाल्यो।'

यमलालले साइकल चलाउन त सिके तर उनीसँग एक थान साइकल थिएन। ठिक त्यसैबला उनले दुवै खुट्टा नभएका न्युजिल्याण्डका नागरिक मार्क इलिङ्सले सगरमाथा चढेको खबर पढे।

उनलाई पनि यस्तै केही एड्भन्चरस काम गर्न मन लाग्यो। तर मन भएर मात्रै के गर्ने? उनी केही खुम्चिए।

त्यतिखेर उनी कैलालीमै 'ब्लुमुन' नामक टेलरिङ सेन्टर चलाउथे। लुगा सिएरै पैसा जम्मा गर्ने र सस्तै भएपनि साइकल किन्ने प्रण गरे।

तर उनलाई विश्वले चिन्ने बन्नु थियो। कैलाली सानो ठाउँ थियो। उनलाई पहिचान बनाउनु थियो। यमलालले निश्चय गरेका थिए – कैलाली छाड्नुपर्ने।

अन्तत: आफूले सङ्घर्ष गरेर केही प्राप्त गरेको ठाउँ कैलाली छाडेर उनी केही गर्ने सङ्कल्पका साथ सपनाको शहर काठमाडौँ छिरेका थिए।

काठमाडौँको बसाइ झन् कहाँ सहज हुनु? जसको भर परेर आए उसैले अलपत्र छाडेपछि कहिले सहारा खोज्दै प्रहरी चौकी पुगे। कहिले रेडक्रसको ब्लडबैंकको भवनमा रात कटाए।

ब्लडबैंकमै भेटिए बागबजार टेलिरिङ सेन्टरका साहु जसले यमलाललाई काम मात्र दिएनन् बस्ने ठाउँ पनि दिए। करिव दुई वर्ष साइकलिस्ट बन्ने सपना दबाएर कैची चलाएका थिए उनले।

साइकलको सपना दबाए पनि मरेको भने थिएन। तर गाउँमा टेलर भएर अल्झिरहँदा मानिसहरूले सोधेका प्रश्नले उनमा साइकलिस्ट बन्ने 'इगो' जगायो। उनले आफ्नो क्षेत्रका सांसद, काठमाडौँ महानगरपालिका र एसओएस युकेको सहयोगमा साइकल प्राप्त गरे। उनको दबेको सपना पुन: जागृत भयो।

एक खुट्टाले उनको साइकल दौडियो। त्‍यसपछि हो २०५९ साल फागुनबाट सुरु भएको उनको यात्राले देशका ३१ जिल्ला पार गरेको।

+++

यमलाल  एउटा खुट्टा बिनै साइकलिस्ट भएका नेपालका पहिलो व्यक्ति हुन्। उनका भोगाइ केहीका लागि मार्मिक कथा मात्र हुनसक्छ। तर धेरैका लागि प्रेरणा। उनी सन्देश बने – शरीरको अङ्ग नहुनु कमजोरी होइन। अड्चन होइन। उनी उदाहरण बने – आँट र आत्मबलको।

उनको सपनाजस्तै फराकिलो थियो हृदय पनि।

२०७५ सालमा उनले कैलालीदेखि रारासम्म साइकल यात्रा गरे। उनले यात्रामार्फत् सहयोग जुटाएर अपांग बालक पुन्नबहादुर कुमाललाई विद्यालय भर्ना गराएका थिए।

उनका उद्देश्यहरू सधैं उत्प्रेरणासँग जोडिएका थिए। उनकै प्रेरणाले आफूलाई साइकलिस्ट बनाएको बताउँथे युवक लामा। लामाको पनि दुर्घटनाका कारण गुमेको थियो एउटा खुट्टा। आवश्यकता, बाटोमा ठोक्किनेहरूको दुर्व्यवहार र रहरैले जोड्यो उनलाई पनि साइकलसँग। यमलालसँगको चिनजान र सामिप्यताले उनलाई पनि बनायो साइकलिस्ट।

पहिलोपोस्टसँग युवकले भनेका थिए -  यमलाल दाइसँग नजिक भएपछि मेरो आत्मबल बुस्ट भयो। उहाँले नै मलाई पेडल चाल्ने सहज टेक्निक सिकाउनु भयो। खुट्टा नभएतिरको पेडलमा फलाम फिट गर्ने आइडिया उहाँले नै दिनुभएको हो। त्यसले तौल संतुलित भयो। एकापट्टी ढल्कने, लड्ने क्रम बन्द भयो।

यमलालले दिएको सुझाव र सम्पर्कले दिलाएको थियो युवकलाई साइकल र काम पनि। युवकको पनि लक्ष्य उही प्यारा ओलम्पिकमा देशको प्रतिनिधि बन्ने। रोचक के भने यमलालको दाहिने खुट्टा थिएन। युवकको देब्रे। एकपटक उनीहरू बिच साइकलिङका लागि आवश्यक 'राम्रो खाले जुत्ता' एक एकवटा लगाउने कुरासमेत भएको सुनाएका थिए युवकले।

दुर्भाग्य, २०७६ को साउनमा युवकले आत्महत्या गरे। यस वर्षको सुरुवातमै यमलाल पनि बिते। अब खुट्टाहरू बिना के काम प्रायोजित महङ्गो जुत्‍ताको? अब को पुग्ला जापानमा हुने प्यारा ओलम्पिकमा नेपालको झण्डा बोकेर? अलविदा यमलाल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell