PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फेरि मोदीको बचाउमा कंगना, 'कम्युनिष्ट भाइरस भन्न नसक्नेले भारतलाई देश कसरी चलाउने भनेर सिकाइरहेका छन्'



फेरि मोदीको बचाउमा कंगना, 'कम्युनिष्ट भाइरस भन्न नसक्नेले भारतलाई देश कसरी चलाउने भनेर सिकाइरहेका छन्'

अहिले भारतमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको छ। आजमात्रै ४ लाख भन्दा बढीमा कोरोना संक्रमित पहिचान हुँदा ३५ सयभन्दा बढीको मृत्यु भएको छ। संसारभरबाट भारतको लागि सहयोग जुटिरहेको छ।

भारतको लागि सहयोग र सहानुभूति जति आइरहेको छ त्यही गतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको आलोचना भइरहेको छ। हाल भारतमा दैनिक हजारौंको मृत्यु हुँदा मसानहरुमा अन्तिम संस्कार गर्नेहरुको लाइन लागेको छ। अस्पतालमा अक्सिजन नहुँदा कोरोना संक्रमितहरुले उपचार पाउन सकेका छैनन्। संक्रमणबिच पश्चिम बंगालमा निर्वाचन भएको छ। यसलाई प्रश्रय भने मोदी सरकारले नै दिएको विश्लेषकहरुको ठम्याई छ।

लेखिका अरुनधती रोयले एक लेख मार्फत भारतमा आफूहरु महामारी नभइ मानवता विरुद्धको अपराधको साक्षी बस्नु परेको भन्दै मोदी सरकारको चर्को आलोचना गरिन्। टाइम्स म्याजिन, वासिङटन पोस्ट लगायत अन्तर्राष्ट्रिय संचार माध्यममा भारतको पछिल्लो अवस्था हेडलाइन बने।

भारतले भोगेको कोरोना कहरबाट अरु देशले पाठ सिक्नुपर्ने चिकित्सक र वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन्।

यसबिच मोदी सरकारको बचाउमा कंगना रनावत अघि सरेकी छिन्। भारतीय जनता पार्टी निकट र मोदी सरकारको समर्थकका रुपमा चिनिने कंगनाले अहिलेको अवस्थामा मोदी सरकारलाई केही भारतीयहरुले विदेशी मिडियाको मार्फत नराम्रो देखाउने खोजेको दाबी गरेकी छिन्।

कंगनाले यसअघि पनि मोदी सरकारको बचाउमा बोल्दै आएकी थिइन्। बलिउडमा नातावाद र कृपावादको मुद्दा उठाएर चर्चामा आएकी उनले सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा पनि रिया चक्रवर्तीमाथि कुनै प्रमाण बिना आरोपहरु लगाएकी थिइन्। हाल कंगनालाई केन्द्र सरकारबाट नै सुरक्षा प्रदान गरिँदै आएको छ।  

कंगनाले ट्वीट मार्फत भारतमा कुनै आपत् आए विश्वको सबै देश एक भएर भारतलाई नराम्रो देखाउने प्रयत्न हुने गरेको आरोप लगाएकी छिन्।

'अंग्रेजहरुले आएर नसम्झाएसम्म हामीले केही गर्न सक्दैनौं भन्ने बुझाइ छ। तिनीहरुलाई हाम्रै बुद्धिजिवीहरुले साथ दिएका छन्। उनीहरुले अन्तर्राष्ट्रियस्तरमा भारतको छवी बिगारिरहेका छन्' कंगनाले भनिन्।

मिडियामा प्रकाशित भारतमा लास जलाइरहेको फोटोहरु बेस्ट सेलिङ भएको भन्दै उनले अन्य देशहरुको अवस्था पनि त्यस्तै रहेको तर चर्चामा नआएको दाबी गरेकी छिन्।

चीनको वुहानमा उत्पन्न भएको भाइरसलाई 'कम्युनिष्ट भाइरस' भन्न सक्ने 'औकात' नभएकाहरुले भारतीयहरुलाई देश कसरी चलाउने भनेर सिकाइरहेको उनको आरोप छ।

 

कोरोनाको पहिलो लहरले अमेरिकामा धेरै प्रभाव पारेको र हाल बेलायत पनि संक्रमणसँग जुधिरहेको भन्दै उनले त्यहाँ कुनै नेता र प्रजातन्त्रविरुद्ध आवाज नउठेको तर भारतमा भने मोदी सरकारमाथि प्रश्नहरु उठाइएकोमा आपत्ति जनाइन्।

भारत यो महामारीसँग आफै लड्न समक्ष भएको भन्दै उनले भारत सरकारले देशको अवस्थाबारेमा बोल्नेहरुविरुद्ध कदम चाल्नुपर्ने समेत उनले माग गरेकी छिन्।

कंगनाको यो ट्वीटपछि उनको भारतभर र बाहिर आलोचना भइरहेको छ। कंगनालाई 'मोदी भक्त' भन्दै सरकारलाई जवाफदेही बनाउनुको सट्टा बचाउमा लागेको भन्दै विरोध भइरहेको हो। यसअघि अनुपम खेरले पनि 'फेरि आउने मोदी नै हो' भनेर ट्वीट गर्दा आलोचित बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell