PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

विराटनगरको नोबेल अस्पतालमा गरियो कोरोना संक्रमितको शल्यक्रिया



विराटनगरको नोबेल अस्पतालमा गरियो कोरोना संक्रमितको शल्यक्रिया

विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमितको शल्यक्रिया गरिएको छ। मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ बर्षीया कोरोना संक्रमित महिलाको शल्यक्रिया गरिएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलालाई अर्धचेत अवस्थामा नोबेल अस्पताल ल्याइएको थियो। उनको टाउकामा चोट लाग्नुका साथै मस्तिष्कमा रगत जमेको थियो। पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो। अप्रेसन ढिलो हुँदा बिरामीको ज्यान जानसक्ने खतरा बढेपछि नोबेल अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको चिकित्सकको टोलीले संक्रमित महिलाको शल्यक्रिया गरेको हो।  

डा काफ्लेले भने, 'बिरामीको ज्यान बचाउन नै हामी डाक्टर बनेका हौँ। हाम्रा लागि बिरामीको स्वास्थ्य ठूलो कुरा हो। अप्रेसन नगरेर बिरामीको मृत्यु कुर्नु भन्दा जोखिम मोलेरै भएपनि अप्रेसन गरेका हौं।'

अप्रेसन थिएटरमा खटिएका चिकित्सकसहित स्वास्थ्यकर्मीले उच्च सावधानी अपनाउँदै संक्रमितको अप्रेसन गरेका थिए। डाक्टरसहित अप्रेसन थिएटरमा खटिने सबैलाई उच्च स्वास्थ्य सावधानी अपनाउन लगाएर अप्रेसन गर्ने वातावरण मिलाइएको नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए।

'अस्पताल बिरामीको ज्यान बचाउने ठाउँ भएकाले जोखिम मोलेर भएपनि विरामीको अप्रेसन गर्ने वातावरण मिलाएका हौँ,' डा.शर्माले भने, 'हामीले नोबेलमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्न थालेका छौं। उहाँमा पनि कोरोना संक्रमण देखिएकाले अब कोरोनाको उपचार निःशुल्क गर्छौं।'

अप्रेसनपछि अहिले ती विरामीलाई कोभिड वार्डमा सारिएको छ। अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको नोबेल अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell