- कमल धिताल-
'माइजु बित्नु भयो। अस्पताल आउनु पर्यो।'
गएको पुस १० गते, दिउँसो करिब साढे एक बजे मनमोहन अस्पतालबाट खबर आयो। ती शब्दहरू कानमा गुञ्जिएसँगै रोयो मन। रसाए आँखा। म शून्यमा पुगें। किनकि ती ‘माइजु’ मेरी आमा थिइन्। नजिकै थिए मेरा ६६ वर्षीय बुवा। उहाँको आँशुले पनि माटो भिज्यो। उहाँसँगै जीवनमा अनेक वसन्त मिलेर पार गरेको मान्छे माटोमा मिल्दै हुनुहुन्थ्यो। दाइहरूको अवस्था उस्तै।
२०७७ सालको असारदेखि नै बिरामी पर्न थाल्नु भएको थियो आमा। त्यतिखेर काठमाडौंमा कडा लकाडाउन थियो। कोरोना भाइरस संक्रमणको त्रास उत्तिकै। जोखिम मोलेरै उपचारका लागि धायौं। नाम चलेका अस्पताल पुर्यायौं। डाक्टरलाई देखायौं। उहाँलाई दमको समस्याले सताएको रहेछ। बाँकी सबै सामान्य छ भनिदिएपछि केही ढुक्क भयौं। तर, आमाको अवस्था उही। अन्यत्र परीक्षण गराउँदा पनि अरु समस्या देखिएन।
यता आमाको शरीरमा अक्सिजन लेभल कम भएर घरमै अक्सिजन सपोर्टमा राख्नुपर्ने अवस्था आयो। केही समयमा थोरै सुधार नदेखिएको होइन। तर, भदौदेखि फेरि समस्या बल्झियो। शहीद अस्पताल कलंकीको पट्यार लाग्दो बसाइ, झोलाका झोला औषधी र उपचारपछि बोल्न सक्ने अवस्थामा फर्कनु भयो।
दशैँमा काठमाडौंमै आमाको हातको टिका थाप्न जुर्यो। तर, यो पटक दशैंको रौनक आएन। सधैँ फोटो खिच्न अगाडि सर्ने मेरी आमा यसपाली ‘फोटो नखिच्’ भन्दै हुनुहुन्थ्यो। आमाको वचन राख्न पनि फोटो खिचिएन। रहरहरू पनि आखिर फूल्न सक्नुपर्दो रहेछ। मनैदेखि फक्रन सक्नुपर्दो रहेछ। आमाको त शरीरसँगै गलेको थियो रहर पनि। दशैं तिहार सकियो आमा ओछ्यानबाट उठ्न समेत नसक्ने हुनुभयो। केही दिन अलि ठीक भएजस्तो हुने फेरि उस्तै। अब त डाक्टर मात्र नभइ धामीलाई पनि देखाइयो।
मेरो मास्टर्सको अन्तिम परीक्षा थियो। आमा ओछ्यानमै हुनुहुन्थ्यो। एकदिन बोलाएर भन्नु भयो 'हेर बाबु म बाँच्छु जस्तो लाग्दैन। दाजुहरू दुबैको बिहे भयो। मलाई तेरो पो चिन्ता लाग्छ।' आमालाई मेरो चाँडै रिसाउने बानीको पनि चिन्ता रहेछ। सुधार्न सुझाउनु भयो। 'ह्या ममी केही हुन्न। यस्तो कुरा नगर्नुस् है' भन्दै म परीक्षा दिन निस्किएँ। तर भन्नजस्तो सजिलो कहाँ हुँदो रहेछ र सहन? र मनलाई शान्त पार्न।
पुस ४ गते शनिबार। सबैजना घरमै थियौँ। आमा दिनभर खाटमै बसेर नातिनीहरूसँग खाजा खाँदै हुनुहुन्थ्यो। बहिनी भान्जा लिएर आएकी थिइन्। हामी आगो ताप्दै कुरा गर्दै थियौँ। आमा खाजा खाइसकेर आनन्दले सुत्नु भयो। करिब १ घण्टा पछि बोलाउँदा, आमा होसमा हुनुन्थेन। तुरुन्त मनमोहन हस्पिटल लग्यौं। इमर्जेन्सीमा उपचारपछि केही होस् आयो। शरीरमा कार्बनडाइअक्साइड लेबल १५० भन्दा माथि पुगेछ, जुन ५० जति हुनुपर्ने रहेछ। भर्ना गरेरै उपचार अघि बढ्यो। त्यतिखेर उहाँलाई कोरोना परीक्षणका लागि होल्डिङ आइसीयूमा राखिएको थियो।
पुस ५ गते आइतबार मेरो अन्तिम परीक्षा थियो। करिब १२ बजे अस्पतालबाट निस्कनुअघिसम्म आमाको कोभिड-१९ रिपोर्ट आएको थिएन। आमा होल्डिङ आइसीयूमै हुनुन्थ्यो। घर आएर खाना खाएर परीक्षा केन्द्रतर्फ हिँडे। तर, मन आमाले दिइरहेको जीवनको परीक्षामै थियो। मैले कापीमा के लेखेर भरेँ याद छैन। फर्कदाँ आमालाई गाह्रो भएको थाहा पाएँ। कोभिड-१९ को संक्रमण चाहिँ रहेनछ। सीपीसी दिएर भेन्टिलेटरमा राखिएको रहेछ। भेन्टिलेटरमा अर्थात् जीवन र मृत्युको दोसाँध। सास रहने आश ५ प्रतिशत मात्र हुन्छ भनेको सुन्दा भक्कानो फुट्यो। त्यही ५ प्रतिशत आशाले केही राहत पनि दिन्थ्यो।
कोभिड-१९ त्रासका कारण आमालाई दिनमा एकजनाले मात्र भेट्न पाउँथ्यौं। मेरो पालो भेन्टिलेटरमा राखेको तीन दिनपछि आयो। आमा मुडो जसरी लड्नु भएको थियो। मुखभरी जडित पाइप देख्दा मन कहाँ थाम्न सक्नु? एक मिनेट पनि अडिन सकिनँ त्यहाँ। खुरुक्क बाहिर आएँ। यो पटक मनले हरेस खायो। अब आमा बाँच्नु हुन्न भन्ने तीतो सत्य सल्बलायो मनमा।
बुवा पनि गलिसक्नु भएको थियो। सोध्नु हुन्थ्यो – आमालाई कस्तो छ? सुरुमा त जवाफ दिने आँट आएन। पछि सोचेँ – साँचो अवस्था भन्दै जानुपर्छ। त्यसैले भनेँ -खोइ बोल्नुहुन्न। त्यही पाइपको भरमा सास चलेको छ।
बहिनीसम्म पनि पुग्यो खबर। अस्पतालमा जम्मा हुने आफन्तहरूले भने भेन्टिलेटरबाट निकाल्ने सुझाव दिएछन्। भने, 'त्यहाँ रहुञ्चेल मात्र सास चलेको देखिने।' हाम्रो लागि त्यही नै त थियो आशाको त्यान्द्रो।
शुक्रवार सबैको सल्लाह बमोजिम भेन्टिलटरबाट निकालियो। सास रहेछ भने आइसीयूमा राखेर उपचार गर्ने योजनासहित। सोही अनुसार करिब १२:३० तिर भेन्टिलेटर छुटाउन हस्पिटलको पत्रमा दाइहरूले हस्ताक्षर गर्नुभयो। त्यो त आमाको मृत्यु पत्र रहेछ।
अब हामी आमाको जीवन र मृत्युको बिचमा उभिएका थियौं। कामना गर्दै। कसैले कल्पना गर्न नसक्लान् त्यो करिब ४५ मिनेटकति भयानक हुने रहेछ भन्ने। डाक्टरहरू बाहिर निस्किएलगत्तै सकियो हाम्रो आशा पनि। निभ्यो घरको दियो। आज पनि सम्झँदा मुटु गाँठो पर्छ। गाउँमा सबैले माइजु सम्बोधन गर्ने मेरी आमाको मृत्युको खबरले ‘ब्ल्याङ्क’ बनाएको थियो। बुबा अनि दाजुहरूको अवस्था पनि उही। आखिर हामी सबै अनाथ भएको दिन थियो पुस १०।
अन्तिम संस्कारका लागि आमाको शरीर पशुपति लगियो। आर्यघाट पुगेको समय याद छैन। तर, सन्ध्या आरतीको तयारी हुँदै थियो। निकै विरोधाभाषपूर्ण अवस्था थियो त्यो मेरा लागि। विगतमा गंगा आरती पुग्दा त्यहाँ थुप्रै लास देखिन्थ्यो। मर्नेको आफन्तको रुवाबासी सुनिन्थ्यो। आफू संगीतमा मग्न। तर, जब आफूलाई पर्छ तब महसुस हुनेरहेछ त्यही संगीत कति कर्कश लाग्दो रहेछ।
अन्तिम स्नानपछि आमाको देह उचालेर ७ नं को चितामा पुर्यायौं। अब आमा खरानी हुँदै थिइन्। त्यहीबेलादेखि गाँठो पर्न थाल्यो मुटु।
खुल्दै जान्छ कि भनेर घटनाक्रम लेख्दै गएँ। उस्तैगरी रसाइरह्यो आँखा, लेखुन्जेल।
थाहा छैन यो सास र देह त्याग गरेपछि कहाँ पुगिन्छ। कसैसँग कुनै रुपमा पुन: भेट हुन्छ या हुँदैन? तर पनि कहिले काहीँ चिच्याएरै भन्न मन लाग्छ-तपाईंले छोडेपछि छोरो एक्लो भएको छ। सबै छन् तर तपाईं हुनुहुन्न।
अनि अन्तमा आफूलाई पर्दा मात्र थाहा हुने रहेछ कि बुढा पाकाले किन भन्छन्- मर्दा र पर्दा मान्छे चाहिन्छ। धन्यवाद ती तमाम हृदयलाई जसले दुःखमा साथ अनि सान्त्वना दिनुभयो।