PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु सरकारसँग असन्तुष्ट, ‘स्वास्थ्य अवस्थाबारे कुनै सोधखोज भएन’



सुमित मिश्र

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु सरकारसँग असन्तुष्ट, ‘स्वास्थ्य अवस्थाबारे कुनै सोधखोज भएन’

जनकपुरधाम : प्रदेश २ को पर्सा र धनुषामा सयौँको संख्यामा दिनहुँ कोरोना संक्रमितहरु थपिदै गइरहेका छन्। संक्रमितको संख्या दिनदिनै थपिन थालेपछि अस्पताल भरिभराउ भएको भन्दै स्वास्थ्य मन्त्रालयले अस्पतालमा बेड उपलब्ध गराउन नसकिने विज्ञप्ति नै जारी गरिसकेको छ। सोही अनुरुप प्रदेशका करिब ९५ प्रतिशत कोरोना संक्रमितहरु होम आइसोलेसनमा छन्।

तर, होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई सरोकारवाला निकायले बेवास्ता गर्दै आइरहेको पाइएको छ। संक्रमितलाई होम आइसोलेसनमा बस्न र स्वास्थ्यमा समस्या देखिए मात्र अस्पताल आउन सुझाब दिइए पनि होम आइसोलेसनमा बसेका संक्रमितसँग उनीहरुको स्वास्थ्य अवस्थाबारे कसैले कुनै सोधखोज नगरेको भन्दै संक्रमितहरु असन्तुष्ट देखिएका छन्। होम आइसोलेसनमा रहेका संक्रमितलाई सम्बन्धित निकायबाट एक कल फोनसमेत नआएको संक्रमितहरुको गुनासो छ।

जनकपुरधाम उपमहानगरपालिका-८ का ५१ वर्षीय मनोज मिश्र करिब एक साता अगाडि कोरोना संक्रमित भए। एक साता पश्चात सोमवार उनी संक्रमणमुक्त भएका छन्। उनी संक्रमित हुँदा होम आइसोलेसनमै बसेका थिए। तर, उनको स्वास्थ्य अवस्थाबारे कोभिड रेस्पोन्स टिमले उनी निको हुँदासम्म कुनै प्रकारको सोधखोज नगरेको उनले बताए।

मिश्रले भने, ‘गत आइतवार लगातार ज्वरो आउन थालेपछि मैले कोरोना चेक गराएँ। गत सोमवार नै रिपोर्ट पोजेटिभ आयो। आफू संक्रमित भएपछि होम आइसोलेसनमै बसेँ। संक्रमित भएदेखि हालसम्म सरकारी स्तरबाट मेरो स्वास्थ्य अवस्था बुझ्न कुनै सोधखोज नै भएन।’

यस्तै, जनकपुरधाम उपमहानगरपालिका-२० का अनिल झाको पनि मिश्रको जस्तै पीडा छ। झा संक्रमित भई पाँच दिनदेखि होम आइसोलेसनमा बसेका छन्। तर, उनको स्वास्थ्य अवस्थाबारे कसैले पनि अहिलेसम्म कुनै प्रकारको सोधखोज गरेका छैनन्।

‘संक्रमित भएपछि चिकित्सकले होम आइसोलेसनमा बस्न सुझाव दिए। संक्रमित भएको पाँच दिन बित्न लाग्यो, ज्वरो, रुघाखोकी लाग्ने, घाँटी दुख्नेलगायत समस्याले म ग्रस्त छु’, झाले भने, ‘तर, सम्बन्धित फोकल पर्सन वा केस ईन्भेस्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ (सीआइसी) टिमले मेरो स्वास्थ्य अवस्था बारे सोधखोज त के एक कल फोनसम्म गरेको छैन।’

थप कुनै समस्या परे कता जाने, के गर्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ।

जनकपुरधामका प्रभासचन्द्र पोखरेलको अवस्था झा र मिश्र झै छ। होम आइसोलेसनमा बसेको चार दिन भयो। तर, अस्पताल वा कोभिड रेस्पोन्स टिमका कुनै फोकल पर्सनले उनीसँग पनि अहिलेसम्म कुनै प्रकारको सोधखोज गरेको छैन। उनले आफ्नो सम्पर्कमा रहेका चिकित्सकको सल्लाहअनुसार घरमै औषधि खाइरहेका छन्।

यस्तै, महोत्तरी जलेश्वरका वरिष्ठ पत्रकार दशरथ भण्डारीले होम आइसोलेसनमा भोग्दै आएको पीडाबारे भने, ‘आफ्नो परिवारका सम्पूर्ण सदस्य संक्रमित भएको एक साता बित्यो। तर, स्वास्थ्य कार्यालय वा कोभिड रेस्पोन्स टिमबाट एक कल फोनसमेत आएको छैन।’

उनले थपे, ‘स्वास्थ्य कार्यालयलाई जानकारी गराएपछि त्यहाँबाट अस्पतालमै आएर उपचार गराउन भनियो। तर, त्यहाँ गएपछि यहाँ अहिले कोरोनाको उपचार बन्द रहेको भन्दै घर फर्काइदिए।’

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेश २ मा हाल ३ हजार ३० जना सक्रिय संक्रमित रहेकामध्ये २ हजार ८ सय ९२ जना होम आइसोलेसनमा बसेका छन् र १ सय ३८ जना संस्थागत आइसोलेसनमा छन्। तर, होम आइसोलेसनमा रहेकाहरुले अहिलेसम्म न कुनै उपचार पाएका छन् न त चिकित्सकीय परामर्श नै। कुनै निकायले अनुगमनसमेत गरेको छैन।

यस सम्बन्धमा स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डा कमलेशप्रसाद यादवले होम आइसोलेसनमा बसेकाहरुका लागि पहिला समस्या रहे पनि अहिले प्रत्येक स्थानीय तहमा सीआइसी टिम गठन गरी तिनीहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिइँदै आएको बताउँछन्।

यता, जनकपुरधाम उपमहानगरपालिका सीआइसी टिमका विनय पञ्जियारले केही दिन पहिलासम्म होम आइसोलेसनमा बसेकाहरुलाई समस्या रहे पनि अहिले त्यस्तो कुनै समस्या नरहेको बताए। जनकपुरधाम उपमहानगरपालिकामा ५ सदस्यीय सीआइसी टिम गठन गरिएको छ। प्रत्येक सदस्यलाई ५/५ वटा वडाको जिम्मेवारी दिइएको पञ्जियारले बताए।

उनले भने, ‘आफ्नो टिमलाई संक्रमित भएकाहरुको कन्ट्याक्ट ट्रेसिङदेखि अनुगमन गर्नेसम्मको जिम्मेवारी दिइएको छ। प्रत्येक वडामा गई होम आइसोलेसनमा बसेकाहरुको अनुगमन गर्दै चिकित्सकीय परामर्शअनुसार औषधि लिन सल्लाह दिइरहेको छौँ, थप उपचारको आवश्यकता भएकालाई अस्पताल पुर्‍याउने गरिएको छ।’

प्रदेशका आठ जिल्लामध्ये कुनै पनि जिल्लामा सम्बन्धित फोकल पर्सन तथा सीआइसी टिमले होम आइसोलेसनमा बसेकाको हेरचाह, अनुगमन वा उपचार नगरेको आरोप लाग्दै आएको छ।

यसवर्ष सरकारी बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहर निरन्तर बढिरहे पनि प्रदेशका कुनै पनि स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन अझै निर्माण गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell