PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

बिग्रियो शव जलाउने मेसिन, वाग्मती किनारमै भिडिरहेछन् अर्को युद्धका योद्धाहरू



स्वेच्छा राउत

बिग्रियो शव जलाउने मेसिन, वाग्मती किनारमै भिडिरहेछन् अर्को युद्धका योद्धाहरू

बाँसबारीकी २४ वर्षीया श्रेया सिंह (नाम परिवर्तन) हातमा माटोको सानो घैला बोकेर उभिएकी थिइन्, बुवाको अस्तु थाप्न। अनुहार मास्क र भाइजरले ढपक्क ढाके पनि उनको आँखामा टिलपिलाइ रहेको आँशु प्रष्ट देखिन्थ्यो।

अन्तिम अवस्थामा बुवा नजिक जान नपाउनुको पीडा, अनि भक्कानो छुट्दा परिवारका कसैलाई अंगालेर रुन नपाउनुको छट्पटाहटमा पिल्सिइरहेकी थिइन उनी। त्यसमाथि बेलाबेला रुखो बोलीमा छेउबाट कोही भन्दै थियो – अलि पर-पर जानुस्।

स्थान – पिङ्गलास्थानस्थित वाग्मती पुल मुनि। विद्युतीय शवदाह गृहसँगैको किनारमै जल्दै थिए श्रेयाका बुवा सञ्जय।

४९ वर्षीय सञ्जय उच्च रक्तचाप र मधुमेहका बिरामी थिए। एक साताअघि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। टेकु अस्पतालमा उपचाररत् उनको सोमवार बिहान मृत्यु भयो।

सेनाले सञ्जयको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृह त पुर्‍यायो। तर, त्यसअघि नै शवहरू  जम्मा भइसकेका थिए। कारण – त्यहाँको दुईमध्ये एउटामात्र मेसिनले काम गर्नु।

कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाउनेहरुको शव थपिँदो छ। एउटा शवदाह मेसिनको क्षमताले धान्नै हम्मेहम्मे। त्यसैले खोला किनारमै अस्थायी चिता बनाएर अन्त्येष्टि थालिएको छ।

श्रेया आफ्नो बुवाको अस्तु लिन पुग्दा सञ्जयसँगै जलिरहेका थिए अन्य दुई शव। त्यतिनैखेर सेना आइपुग्यो थप एउटा शरीर बोकेर। शवदाह गृहका व्यवस्थापक सुवास कार्की उनीहरूतर्फ देखाउँदै बोले, 'छिनछिनमा शव ल्याइरहेका छन्। मेसिनले धान्न सक्दैन। बाहिरै जलाउनुको विकल्प छैन।'

+++

तह-तहमा प्लास्टिकले पोको पारेको शरीर। न परिवारले अन्तिम पटक मुहार हेर्न पाउनु, न ब्रम्हनालमा सुताएर संस्कार पूरा गर्न नै। पीपीइमा ढाकिएर आएका सेनाले शवदाह गृहमा राखिदिन्थे। धुँवा बन्नु र बिलाउनु संक्रमणपछि मृत्यु वरण गर्ने प्रायको साझा नियती  थियो। साविकमा यसरी अन्त्येष्टि गरिन्थ्यो भने धर्म, जात वा परम्परा अनुरुप नभएको भन्दै आक्रोशका स्वरहरु पनि सुनिन्थे होलान्। तर, यतिबेला सम्पूर्ण मानव जातिले नै घुँडा टेकिरहेको थियो कहालीलाग्दो समय थियो। सबै आफ्ना प्रीयजन गुमनाम जलेको पर बसेर हेर्न विवश थिए।

संक्रमणका कारण मर्नेको संख्या बढेपछि  सद्गतका लागि चाप बढ्दो थियो। आइतवारदेखि त झन् एउटा उपकरणले काम नै गर्न छोड्यो। चौबिसै घण्टा चलाउनु पर्ने बाध्यता र शव पोको पार्न प्रयोग प्लास्टिकका कारण मेसिन बिग्रिएको सङ्केत गर्छन् व्यवस्थापक कार्की। 'मान्छे त थाक्छ। त्यो त मान्छेले बनाएको सामान। त्यसमाथि मर्मत सम्भारबिना निरन्तर चलाउनु पर्ने यस्तो अवस्था आइपर्‍यो,' कार्कीले मेसिनको पीडा अभिव्यक्त गरे।

पशुपति क्षेत्र विकास कोषले शव व्यवस्थापनमा जोड दिँदै विद्युतीय अन्त्येष्टिको विकल्प खोजेको उनले बताए। आइतवार पहिलो पटक संक्रमितको शव वाग्मती किनारमै जलाइयो। त्यसदिन ल्याइएका ३२ मध्ये ९ शव बाहिरै जलाइएको हो।

संक्रमितको शव व्यवस्थापनका लागि बेग्लै जनशक्ति छैन। त्यसैले नियमित घाटमा शव जलाउन खटेकाहरूलाई नै आग्रह गरेर बोलाइयो। हाल उनीहरू सुरक्षा उपकरणको प्रयोगसहित संक्रमितको शव खरानी बनाइरहेका छन्।

जोखिम मोलेरै यस काममा खटेको बताउँछन् निराजन खड्का।

'हत्केलामा मुटु राखेको जस्तो हुँदो रै'छ। तर, पनि गर्नै पर्‍यो। हामीले नगरे कसले गर्छ? को आउँछ र घाटमा – राज्यलाई संकट पर्‍या छ म सहयोग गर्छु भन्दै,' खड्काले भने।

उनीहरू दाउरा राखेर चिता बनाउँछन्। त्यसमाथि पानीले भिजाएको पराल बिच्छ्याउँछन्। सेनाले त्यसमाथि राखिदिन्छन् शव। त्यसलाई पुन: दाउराले छोप्ने, जलाउने र खरानी नबनुन्जेल सम्हाल्ने जिम्मेवारी लिएका छन् निराजन र अन्य खटिनेहरु।

कोरोनाको डर त छँदैछ। जलिरहेको चिता नजिक जानुपर्छ। पीपीइ सहितको शरीर आगोले झ्याप्पै समात्छ कि भन्ने डर पनि रहेछ उनीहरूमा। 'अरु शव जलाउँदा त यस्तो केही लगाउनु पर्दैनथ्यो। लगाउँदा यो (पीपीई) नै सल्केला भन्ने डर। त्यसमाथि हपहप गर्मी। हातमा पञ्जा, अनुहारमा भाइजर र मास्कले गर्दा पसिनासमेत पुछ्न पाइँदैन,' उनले भने।

यो परिस्थितिमा डटेर लड्नुको भत्ता खोज्दै छैनन् उनीहरू। घाट सेवामार्फत् तलब पाउँछन्। त्यो रकमले काठमाडौंमा बस्न, खान धौधौ छ। बस्, केही भवितव्य परिहाले राहत चाहिँ पाइयोस् भन्ने आशा गरेका छन्।

+++

खोला किनारमा चिता बनाएर सङ्क्रमितको अन्त्येष्टि त थालियो। तर, दाउरा डिपोलाई नियमित घाटमा र अस्थायी घाटमा आवश्यकता अनुरुप दाउरा पुर्‍याउनै गाह्रो भएको बताउँछन् व्यवस्थापक कार्की। पहिले शवलाई मेसिनमा राखेपछि अन्यत्र सोच्नु पर्दैन थियो उनले। अब दाउरादेखि घाटेहरूको अभाव पूर्ति गर्नु परेको छ। कहिले दाउरा ओसार्ने गाडा लिन नियमित घाटतर्फ कुद्नु परेको छ त कहिले पराल खोज्दै।

संक्रमणका कारण मर्नेको संख्या बढ्दै गएपछि बिहान ७ बजे घरबाट निस्कनु र राति ११ बजेपछि मात्र फर्कनु बाध्यता बनेको छ। संक्रमणको त्रास र त्रासको असर नपरोस् भनेरै घरमा बताएका छैनन् – काम के हो? शवको कति नजिक जानुपर्छ? बुझेरै परिवार, छरछिमेकबाट पर बसेका छन्। सुवासका ९ वर्षीय छोरा बुवा खोज्छन्। तर, अहिले छोरालाई च्याप्नु भन्दा अलि टाढैबाट हेर्नुमा माया भोगेका छन् उनले। 'सम्भावित जोखिमबाट जोगाउन पनि परै बस्छु। हाललाई नजोगिएकाहरूको नजिक गएर आफ्नो जिम्मेवारी पूरा गरौं न,' उनले भने।

२०६६ देखि पशुपति आर्यघाटमा कार्यरत् उनले २०७२ सालको भूकम्पपछि फेरि एकपटक शवहरूको चाप भोगिरहेका छन्। व्यवस्थापनमा हम्मेहम्मे परेको अनुभव गरेका छन् यतिखेर। तर, यस पटक भूकम्पमा जस्तो भयरहित भने छैन व्यवस्थापनको पाटो।

सुरुसुरुमा त कोभिड-१९ संक्रमितको शव फाट्टफुट्ट मात्र आउथ्यो। शव ल्याउनुभन्दा दुई तीन घण्टाअघि खबर आउथ्यो। जानकारी आए लगत्तै विद्युतीय शवदाह क्षेत्र खाली गर्थे। सुरक्षा उपकरणको प्रयोग हुन्थ्यो। अब अवस्था त्यो रहेन।

ध्रुवतारा मुडभरी पनि त्रासैत्रास बिच घाटमा खट्न परेको बताउँछन्। स्थापनादेखि नै दर्ता शाखामा काम गर्ने उनी यस पटक चितासम्मै पुग्नु परेको छ। सुरुमा त कोरोना भाइरसको संक्रमणले तर्सायो उनलाई पनि। रातिको ड्युटी थियो उनको।

शव जलाउनका लागि आएकाहरू संक्रमण दर बढ्दै गएको र यो पटक मृत्युदर पनि बढेको कुरा गर्थे। ध्यान मोड्न कसैलाई फोन गर्‍यो, फोनको कलर ट्युनले पनि नयाँ भेरियन्ट झनै जोखिमपूर्ण छ भन्ने जानकारी दिने। त्यसैले काम छोड्ने योजना बनाएका थिए। पशुपति क्षेत्र विकास कोषसम्मै पुर्‍याए कुरो। तर, जिम्मेवारीवोध र नैतिकताले त्यसो गर्न उनलाई रोक्यो।

'अप्ठ्यारोसँग भागेर त कहीँ पुगिँदैन। यत्रो वर्ष तलब थापेरै काम गरेँ। अब निस्वार्थ भएर त्यही कामलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्यो,' मुडभरीले भने, 'सबै पन्छिएर त कहाँ हुन्छ र?'   

उनीहरूसँगै सेनाको रिजर्भ फोर्स पशुपति क्षेत्र विकास परिसरमै बसेको छ। त्यसले पनि आड दिलाएको रहेछ एउटा फरक युद्धमोर्चामा खटिन।

बाहिरै जलाएर पनि संक्रमितको शव व्यवस्थापनमा विकल्प खोजियो। मेसिन बिग्रिएको बहानामा अन्त्येष्टि रोकिएन। जिम्मेवारी बाहेकका काममा पनि उत्तिकै खटिएका छन् सबै। पहिले मृतकका आफन्तलाई सोधेर विवरण टिप्ने मुडभरी अहिले 'डेथ सर्टिफिकेट' हेर्छन् र प्रक्रिया पूरा गर्दैछन्। 'रित्तै आएका उनीहरू कस्ता छन् थाहा हुँदैन। तर नजलुन्जेल जिम्मेवारी हाम्रै हो भन्ने भान हुन्छ,' उनले भने।

यतिखेर अरुबेला जस्तो विधि पुर्‍याएर ज्यान गुमाउनेको सद्गत गर्न असम्भव नै छ। संस्कार अपुरो भएपनि अन्त्येष्टिको प्रक्रियामा जोखिम मोलेरै नथाकी पूर्ण मिहिनेत देखाइरहेछन् सुवास, निराजन, ध्रुवतारा र सेनाका जवानहरु। यसरी गुमनाम जलेका शवको महत्व तीनका प्रीयजनलाई कति हुन्छ नजिकबाट देखेका र भोगेका छन् उनीहरुले। र त अस्तु खोज्दै आउने श्रेया वा आफन्तलाई ल्याएर दिन्छन् मुट्ठीभर खरानी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell