PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

५५० जना पत्रकारलाई कोरोना संक्रमण, सात जनाको मृत्यु



५५० जना पत्रकारलाई कोरोना संक्रमण, सात जनाको मृत्यु

काठमाडौं : नेपाल पत्रकार महासंघका अनुसार ५५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। महासंघका महासचिव रोशन पुरीले सोमवार विज्ञप्ति निकाल्दै संक्रमणको दोस्रो लहरसंगै संक्रमितमध्ये सात जना पत्रकारको निधन भएको जनाए।

सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ। 'महासंघमा अभिलेखभएअनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ। संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको छ,' पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन्।    
    
विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ ।  'कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ । यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ', विज्ञप्तिमा भनिएको छ, 'सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ।'    

यस्तै महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसँग माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell