PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कर्णालीमा पाँच र भरतपुर अस्पतालमा दुई जना संक्रमितको मृत्यु



कर्णालीमा पाँच र भरतपुर अस्पतालमा दुई जना संक्रमितको मृत्यु

काठमाडौं: कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए। सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताए।

उनका अनुसार दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ३५ वर्षीय एक पुरुषको सोमवार मृत्यु भएको छ। आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

सोमबार पाँच र आइतबार तीन जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० (४० प्रतिशत) मा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक डा खड्काले बताए।

त्यस्तै यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार १२८ सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६२२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन्। दुई हजार १९४ सङ्क्रमित प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

भरतपुर अस्पतालमा दुई संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन्।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२:४५ बजे मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६:४५ बजे मृत्यु भएको हो। (रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell