PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपचार अभावमा ज्यान गुमाउनु नपर्ने प्रम ओलीको दाबी : तर २४ घण्टा नबित्दै उपचार नपाएरै गयो लोकबहादुरको ज्यान



सुमित मिश्र

उपचार अभावमा ज्यान गुमाउनु नपर्ने प्रम ओलीको दाबी : तर २४ घण्टा नबित्दै उपचार नपाएरै गयो लोकबहादुरको ज्यान

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको अभावमा कुनै पनि बिरामीले मर्नु नपर्ने दावी गरेको २४ घण्टा नबित्दै धनुषामा एक ४० वर्षिय पुरुषले उपचार अभावमा ज्यान गुमाएका छन्।

सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताएका थिए। कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको प्रधानमन्त्री भनाइ थियो।

तर धनुषाको मिथिला नगरपालिका घर भइ ससुराली बटेश्वर गाउँपालिका वडा नम्बर ४ मा रहँदै आएका ४० वर्षिय लोकबहादुर परियारको उपचार अभावमा सोमवार राती नै मृत्यु भयो। केही दिन यतादेखि रुघाखोकी तथा ज्वरोको समस्याबाट ग्रस्त रहेका परियारलाई सोमबार राति ८ बजे श्वासप्रश्वासमा एकाएक समस्या देखिएपछि उपचारका लागि जनकपुरधाम ल्याइएको थियो।

प्रादेशिक अस्पताल जनकपुर तथा जनकपुरकै अन्य अस्पतालहरुमा उपचारका लागि भर्ना गराउन पुग्दा बेड खाली नरहेको भनेर फर्काइएपछि अन्त्यमा बटेश्वरकै एक स्थानीय क्लिनिकमा पुगेपछि उनको मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए। उनलाई जनकपुरमा उपचार नपाएपछि बटेश्वर बजारको आरपी मेडिकल हलमा लगेपछि मृत्यु भएको एम्बुलेन्स चालक महतोले बताए। उनको अक्सिजन अभावका कारण मृत्यु भएको बताइएको छ।

बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा पहिले पैसा बुझाउनका लागि भनेको र बिरामीको आफन्तले आफूसँग पैसा नरहेको भनेपछि फर्कनका लागि भनेको एम्बुलेन्स चालक महतोले बताए।

यता आरपी मेडिकल हलका संचालक सुवोध साहले आफ्नो क्लिनिकमा भर्ना हुन नपाउँदै बिरामीको मृत्यु भएको दावी गरेका छन्। उनले बिरामीलाई एम्बुलेन्समा नभई आफन्तहरुले काँधमै ल्याएको बताए। काँधमा ल्याइरहेको अवस्थामा हिलोमा चिप्लिएर बिरामी झर्दा चोटका कारण मृत्यु भएको उनको दाबी छ।

मेडिकल हल संचालक सुवोधले भने ‘बिरामीलाई हामीले छोएका पनि छैनौं, मेडिकल हल पुग्न नपाउँदै हिलोमा चिप्लिएर बिरामीको मृत्यु भएको र आफन्तहरुले सो शव आफ्नो मेडिकल हल अगाडि राखेर घर फर्किसकेका छन्।’

मृतकको शव अहिले आरपी मेडिकलको बाहिरै रहेको छ। मृतकका आफन्त समेत शव क्लिनिक अगाडि छाडेर आफ्नो घर पुगेका छन्। आफन्त शव छाडेर गएपछि अहिले वेवारिसे अवसस्थामा शव त्यहीँ रहेको छ। मृतक परियार कोरोना संक्रमित रहे नरहेको अहिलेसम्म पुष्टि हुन सकेको छैन।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड अस्पतालका संयोजक डा. जामुन सिंहले बिरामीलाई भर्ना नलिएको कुरो स्वीकार गरे। उनका अनुसार प्रादेशिक अस्पतालमा २६ बेडको आइसोलेसन मात्रै रहेको र ३२ वटा बिरामी आइसकेकाले थप बिरामी भर्ना गर्न नसक्ने स्थिति रहेको छ। डा. सिंहले भने ‘२६ वटा आइसोलेसन मात्रै छन्, थप आइसोलेसन बेड निर्माणको कार्य जारी छ। त्यसैले हामी अहिले थप बिरामीलाई भर्ना लिन सकिरहेका छैनौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell