PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेस पदाधिकारी बैठक : ओलीको विपक्षमा मत दिने, संसद छलेर अध्यादेश ल्याएकोमा भर्त्सना



कांग्रेस पदाधिकारी बैठक : ओलीको विपक्षमा मत दिने, संसद छलेर अध्यादेश ल्याएकोमा भर्त्सना
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ। आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा २७ गतेका लागि डाकिएको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन्। सोही विषयमा बैठकमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले बताए। उनले पहिले प्रधानमन्त्री ओलीको योजना फेल गराउने र त्यसपछिमात्र वैकल्पिक सरकारको बाटो खोज्ने बताए। उनले भने, 'पहिलो ओलीजीको लक्ष्य फेल गराउने हो। त्यसपछि बाटो खोल्छ नि। वैकल्पिक सरकार बनाउनका लागि।'

वर्तमान कम्युनिस्ट सरकारले अल्पमतमा पुगिसके पनि जबरजस्ती सरकारमा बस्ने रणनीति बनाएको उल्लेख गर्दै पदाधिकारी बैठकमा यसबारे गम्भीर छलफल भएको महतले बताए। 'अल्मतमा पुगेपनि जबरजस्ती सरकारमा बस्ने जुन तिकडम छ। लुम्बिनीमा पनि यस्तै भयो। यसको व्यापक समीक्षा र भर्त्सना भयो,' उनले भने, 'अहिले संसद पनि विश्वासको मत त्यही प्रयोजनका लागि बोलाइएको छ। अरु विषय हुँदा हुँदै संसद विश्वासको मतको प्रयोजनको लागि संसद बोलाउने काम भएको छ। विश्वासको मतमा ओलीलाई फेल गराउने हाम्रो निर्णय भएको छ।'

यसैगरी आजै सरकारले ल्याएको अध्यादेशको पनि कांग्रेस पदाधिकारी बैठकले भर्त्सना गरेको छ। 'संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढेकोमा भर्त्सना गरेका छौं। संसदकै बैठक बोलाएर छलफल गर्नुपर्नेमा संसद छलेर अध्यादेश ल्याएको छ। नागरिकले उपचार नपाउने अवस्था आएको छ कोरोनाले। यो विषयमा पनि गम्भीर ध्यानकार्षण गराउने पार्टीको तयारी छ,' उनले भने।

त्यसैगरी सहमहामन्त्री डा महतले आजको बैठकमा पार्टीको महाधिवेशनको बारेमा पनि छलफल भएको बताए। 'संक्रमण फैलेको छ निषेधाज्ञाले पनि अप्ठेरो परेको छ। तैपनि समयमै महाधिवेशन गर्ने तयारीका साथ काम अघि बढाउने भएको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell