PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भोकाहरूको पेट भर्न थालेको ३७९ औं दिन, सासको जुगाड गर्न अक्सिजन बैंकको सुरुवात



स्वेच्छा राउत

भोकाहरूको पेट भर्न थालेको ३७९ औं दिन, सासको जुगाड गर्न अक्सिजन बैंकको सुरुवात

मंगलवार डाक्टर केदार रायमाझीले केही युवालाई घरमै बोलाए। केहीबेर कुराकानी गरेपछि कोठाभित्र छिरे। फर्कँदा उनको हातमा 'फ्लो कन्ट्रोल भल्भ' र 'ह्युमिडिफायर' थियो। उनले अक्सिजन सिलिन्डरमा प्रयोग हुने यी सामान भेट्न आएकाहरूको हातमा थमाए। सँगै दिए केही रकम पनि। भने – 'अक्सिजन बैंकका लागि खर्चनु।'

रायमाझीलाई त्रसित बनाएको छ अहिलेको कोरोना भाइरसले निम्त्याएको अवस्थाले। झन् खबरका हरेक बुलेटिनमा उपचार, औषधी र अक्सिजनको अभावबारे सुन्दा निकै झस्कन्छन् उनी। खाटा बस्न लागेको उनको घाउ उप्के झै हुन्छ। बितेर गएकी श्रीमतीको छट्पटाहट सम्झन्छन्। उनलाई सास फेर्न गाह्रो हुँदा फेर्ने त्यो लामो सासको आवाज गुञ्जिन्छ उनको कानमा।

गत भदौमा हो उनकी श्रीमती उर्मिला बितेको। पाँच वर्ष अघिदेखि दुवै किड्नीले काम गर्न छाडेको थियो उनको। तर, पाटन अस्पतालले दिएको 'डेथ सर्टिफिकेट'मा मृत्युको कारण किड्न फेलिएर थिएन। थियो त – कोभिड-१९ को संक्रमण। ६३ वर्षीया उर्मिला मृत्यु विरुद्ध डायलासिस र नियमित औषधी खाएर जुधिरहेकी थिइन्। युद्ध चाहिँ हराइदियो कोरोनाले।

उर्मिला रहिनन्। तर, उस्तै रह्यो कोरोना भाइरसले निम्त्याएको महामारी। अनि उस्तै रह्यो उनको मृत्युले डाक्टर रायमाझीमा पारेको आघात। झन् पछिल्लो समय संक्रमितको संख्या र मृत्यदर भय लाग्ने गरी बढिरहेको छ। भारतमा अक्सिजन नपाएर बिरामीहरू छट्पटाइरहेको दृश्यले अत्याउँछ। नेपालमै पनि संक्रमितको उपचारका लागि शय्या अभावको खबर छरपस्ट भइरहेको छ। यस्ता खबरले फेरि ती दिन सम्झाउँछ उनलाई - ओछ्यानमा उस्तैगरी छट्पटाइरही उर्मिला।

अनि कामना गर्छन् – अरु कसैले कोरोनाका कारण आफ्नो प्यारो मानिस गुमाउन नपरोस्।

संक्रमण, मृत्यु, अभाव र समस्याहरूको खबर बिच एउटा आशा लाग्दो पोस्टमा उनको नजर पर्‍यो। त्यो पोस्ट जसमा लेखिएको थियो – 'अक्सिजन बैंकका लागि सहयोगको आग्रह। कोभिड-१९ का कारण सिकिस्त बिरामीका लागि।'

पोस्ट पढे लगत्तै उनको आँखा पुग्यो, श्रीमतीको मृत्युपछि थन्काएको अक्सिजन सिलिन्डरको कन्ट्रोल भल्भ र ह्युमिडिफायरमा। थप केही नसोची सम्पर्क गरे, पोस्टमा उपलब्ध नम्बरमा।

'सास फेर्न नसक्दा कति गाह्रो हुन्छ भोगेको छैन। तर, आफ्नो मान्छे सास फेर्न नसकेर लडिबुडी गरिराख्दा सहन निकै कठिन हुन्छ। श्रीमती त्यो अवस्थाबाट गुज्रिरहँदा मैले जे भोगेँ त्यो अरुले भोग्न पर्दैन भने सक्दो सहयोग किन नगर्ने? ,' उनमा त्यो पोस्टले गम्भीर प्रभाव पारेको सुनाए।

कोरोनाको संक्रमण कसैलाई नहोस्। भइहाले उपचार वा औषधी अभावका कारण कसैको प्रिय मान्छेको ज्यान नजाओस् भन्ने चाहन्छन् उनी। उनैको चाहना अनुरुप कसैले काम गरिरहेको थाहा पाए। र, अक्सिजन बैंकको अवधारणामा थोरै प्रेरणा थप्न सहयोग गरे। 

'संकटको घडीमा यसरी काम गरिरहेकाहरूलाई सहयोग गर्न आवश्यक लाग्यो। यी मानिसको जीवन जोगाउने प्रयास हुन्। प्रयासमा सकेको साथ दिएको हुँ,' उनले सुनाए।

मनोविद् समेत रहेका रायमाझीले यस विपद्को घडीमा यस्तै प्रयासहरूले मानिसमा आशा जगाउने, त्रास र चिन्ता कम गराउने बताए। 'अभावको बेलामा साथ र सहयोग गर्ने कोही छ भन्ने थाहा पाउँदा मानिसको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्छ,' उनले भने।

+++

हाम्रो सानो प्रयास नेपाल, हाम्रो टिम नेपाल र समानुभूति नेपालको संयुक्त प्रयासमा सुरु भएको हो सास जुटाउने अभियान 'कोभिड-१९ संक्रमितका लागि अक्सिजन बैंक।'

अभियानको पहिलो चरणमा अक्सिजनको सिलिन्डर जम्मा गर्दैछन् उनीहरू। खाली सिलिन्डरका लागि सार्वजनिक आह्वान गरेका छन्। त्यसमा उनीहरू प्लान्टमार्फत् अक्सिजन भर्छन् र अत्यावश्यक अवस्थामा उपलब्ध गराउँछन्। गम्भीर अवस्थामा पुगेका र आर्थिक एवं अन्य समस्यामा परेकाहरू प्राथमिकता रहनेछन्। अक्सिजन बैंकका लागि आउने आर्थिक सहयोगले आपतकालीन अक्सिजन क्यानहरू जुटाइरहेका छन्।

'अभाव र आवश्यकता हामीमध्ये जो कोहीले भोग्नुपर्ने हुनसक्छ। त्यसैले हाम्रो यो प्रयास अरु कसैका लागि होइन हाम्रै लागि हो। आज अरुको अभावमा साथ दिनसके भोलि हामीलाई पर्दा गर्नेहरू भेटिन्छन् नि,' हाम्रो सानो प्रयास नेपालका संयोजक पुकार बमले भने, 'राज्यको त के आशा गर्नु?'

परिस्थिति अनुरुप हरेक भूमिकामा आफूलाई ढालिरहेछन् युवाहरूको यो जमात। गत वर्ष लकडाउन लम्बिँदै गएपछि अभावसँग जुँधिरहेकाहरूलाई सहयोग गर्न यसैगरी जुर्मुराएका थिए उनीहरू। निरन्तर ३ सय ७९ दिन भयो उनीहरूले महामारीका कारण काम र गाँस खोसिएकाहरूलाई खुवाउन थालेको।

उनीहरूले लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरी गर्नेहरूको जीवनमा परेको असरबारे बुझे। र, सुरु गरेका थिए काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थल एवं सडकहरूमा 'दैनिक खाना खुवाउने' अभियान।'

त्यसरी खाना खुवाउँदा शहर अव्यवस्थित र फोहोर बनेको भन्दै महानगरले सार्वजनिक स्थलमा खाना खुवाउन रोक लगाएर सत्ताको असली रुप नदेखाएको होइन। भन्न त महानपालिकाले उनीहरूलाई पार्टी प्यालेस नै उपलब्ध गराउने बताएको थियो। तर, आश्वासन बाहेक मिलेन केही।

त्यसैले पुकारहरूसँग प्रश्न छ तर जवाफ दिने निकाय मौन। त्यसैले चुपचाप दाता र महामारी प्रभावितहरू बिच पुल बनिरहे। अस्पताल वा मठ मन्दिर वरपर खाना बाढिरहे। थापाथली प्रसुति गृह पछाडिको खुला चौरमा दैनिक खाना खान आउनेको लाम लागिरह्यो।

सहजै उपलब्ध गराउन सक्ने खानाको हकमा त पन्छिने निकायहरूले अक्सिजनजस्तो संवेदनशील वस्तुको अभावमा के गर्लान्? पैसा र पहुँच नहुनेहरूको लागि कसले गर्ला जुगाड? यस्तैयस्तै प्रश्न एकअर्का बिच सोधे उनीहरुले र समाधानको बाटो खोजे।

बिस्तारै प्रयोग विहीन वा आफूसँग भएको वैकल्पिक सिलिन्डर सहयोग गर्नेहरू उनीहरूको अभियानमा जोडिन थाले। केही पर्वतारोहीले हिमाल चढ्दा प्रयोग हुने सिलिन्डर पनि उपलब्ध गराए।

यस समूहले मेडिकल क्षेत्रका विज्ञसँगको सल्लाह अनुरुप काम गरिरहेको छ। आइसीयू, भेन्टिलेटर, रेम्डिसिभिर र अन्य औषधीहरूको सहज उपलब्धताका लागि पनि समन्वय भइरहको पुकारले सुनाए। उनीहरूको यस अभियानमा देशभर ४ सयभन्दा बढी स्वयंसेवक जोडिएका छन्। आफ्नै ज्यान जोखिममा राखेर भोक र रोग कोही मर्नुको कारण नबनोस् भनेर निरन्तर खटिरहेकाका छन् उनीहरू।
+++

आम मानिसको जीवन र बजार पुरानै लयमा फर्कँदै थियो। ज्यालादारी काम गर्नेहरूको दैनिकीमा पनि आशाका किरणहरूले उज्यालो भर्दै थियो। संक्रमणदर घट्दा त्रास पनि केही कम भयो। तर, एक वर्षपछि पुन: कोभिड-१९ को नयाँ भेरियन्ट देखियो। निषेधाज्ञा हुनुअघि संक्रमण दर ह्वात्तै बढ्यो। एकाएक नसोचेको रफ्तारमा स्थिति नियन्त्रण बाहिर गयो।

यतिखेर पुकार र उनको समूहका धेरैको फोनमा निरन्तर घण्टी बजिरहेछ – सहयोगको अपिल सहित।

दिनभर काम गरेर बेलुकी आधा किलो चामल र एक पाउ तरकारी किन्नेहरूका लागि एक साता लामो निषेधाज्ञा, एक वर्षजस्तै भइसक्यो।

'अब त झन् निषेधाज्ञा पनि लम्बिएको छ। केही हप्तामा सडकमा खाना खानेहरूको भिड लाग्छ। हामीले पनि सहयोग जुटेसम्म पारदर्शी रहेर खुवाउने हो,' उनले भने, 'सरकारी निकायले त बजेट छैन भनेर टारिहाल्छ।'

महामारीले निम्त्याएको अभावमा सामाजिक सञ्जाललाई यथार्थमा 'सामाजिक' प्रमाणित गर्दैछन् यिनै अभियन्ताहरू - सहयोग आह्वान र सघाउन तत्पर रहेको सन्देश दिएर। आफूहरूले गरेको प्रयास निरर्थक छैन भन्ने प्रमाण हुन् – वाग्मतीको किनारमा विपन्नहरूले खुशीखुशी खाना खाइरहेको तस्बिर, पोखरामा सिकिस्त भएका संक्रमितलाई हेलिकप्टरमार्फत् रेस्क्यु गरेको खबर र सहयोग आह्वान गरेको २४ घण्टा नबित्दै जम्मा भएका २० वटा अक्सिजन सिलिन्डर।

'अक्सिजन बैंक हाम्रो लागि पनि विल्कुल नयाँ विषय हो। आपतमा पर्न नदिऔं। अक्सिजन अभावकै कारण कसैलाई मर्न नदिऔं भनेर सहकार्य गरेका हौं,' उनले प्रष्ट्याए, 'यस प्रयासको अन्य आयाम हामीले पनि देख्‍न बाँकी छ। हेरौं कहाँसम्म पुगिन्छ।'

विद्यावारिधी गरिरहेका पुकार बम स्वयं अध्यापक हुन्। समय मिलाउन उनलाई पनि हम्मेहम्मे पर्छ। तर चाहेमा असम्भव छैन भन्ने पनि महसुस गरेका छन्। त्यसैले आजभोलि व्यस्तताका बाबजुद् अपरिचित नम्बरबाट आउने हरेक फोन उठाउँछन्। उनीहरूको बोली सुन्न आवश्यक ठान्छन्। के थाहा कसैको आन्द्रा भोकले बटारियो कि? वा कसैलाई फेर्ने सास नै चाहिएको पो हो कि?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell