PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

खेर गयो ओलीको प्रयास, बुढानिलकण्ठ पुगी विश्वासको मत माग्दा देउवाले भने, 'सहयोग गर्न सक्दिनँ'



खेर गयो ओलीको प्रयास, बुढानिलकण्ठ पुगी विश्वासको मत माग्दा देउवाले भने, 'सहयोग गर्न सक्दिनँ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ। आज सभापति शेरबहादुर देउवा निवास बुढानिकलकण्ठमा दलबलसहित पुगेर ओलीले आफूले विश्वासको मत लिन लागेकोले सहयोग गर्न आग्रह गरेका थिए।

'विश्वासको मत मैले लिइरहेको छु,लोकतन्त्रका लागि सँगै लडेका हौं। मिलेर जाउँ भन्ने प्रस्ताव ओलीजीबाट आयो' बैठकपछि काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने।

जवाफमा देउवाले ओलीमा विश्वास गर्ने किसिमको लोकतन्त्रिक आचरण नदेखिएको भन्दै ओलीको प्रस्ताव अस्विकार गरे। 'लोकतन्त्र व्यवहारमा आउनुपर्‍यो। त्यो देखिएन। विश्वासको मतमा सहयोग गर्न सक्दिनँ,' देउवाको भनाई उद्धृत गर्दै महतले भने।

कांग्रेसले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा वर्तमान सरकारले देखाएको काम र अध्यादेशबाट लोकतान्त्रिक आचरण नदेखिएको बताएका थिए। त्यसैगरी बैठकमा आफ्नो नेताहरुले कोभिड-१९ संक्रमणमा जनतालाई आश जगाउने खालको काम गर्न सरकारसँग माग गरेको महतले बताए।

झन्डै दुई घण्टा चलेको छलफलमा एमालेका तर्फबाट उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेललगायत सहभागी थिए। यता कांग्रेसको तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री महतलगायत सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell