PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दोलखाको चरिकोटमा पनि पीसीआर प्रयोगशाला सुरु, प्रदेशले जनशक्तिको व्यवस्था गर्ने



दोलखाको चरिकोटमा पनि पीसीआर प्रयोगशाला सुरु, प्रदेशले जनशक्तिको व्यवस्था गर्ने

हेटौंडा : दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पीसीआर परीक्षणका लागि प्रयोगशाला संचालन भएको छ। दोलखाको भीमेश्वर नगरपालिकास्थित चरिकोट अस्पतालमा आज प्रयोगशालाको उद्घाटन गरिएको हो। प्रयोगशालामा दैनिक ५०० सय स्वाब परीक्षण गर्ने क्षमता रहेको जनाइएको छ।

वाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा. नारायण बहादुर कार्कीले सो प्रयोगशालामा दोलखासहित रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट स्वाब संकलन गरेर ल्याउन सकिने कार्कीले बताए।

चरिकोटमा प्रयोगशाला सुरु गरिएसँगै वाग्मती प्रदेश अन्तर्गत पीसीआर परीक्षण गर्ने प्रयोगशालाको संख्या ६ पुगेको छ। यसअघि धुलिखेल, नुवाकोट, भक्तपुर, हेटौंडा, सिन्धुलीमा प्रयोगशाला संचालनमा रहेको छ।

प्रयोगशाला निर्देशक डा. कार्कीका अनुसार आज जडान गरिएको संसारमै मेसिनमा कोभिड १९ सँगै अन्य रोगहरुको परीक्षण समेत गर्न सकिनेछ। पीसीआर विधिबाट स्वाब परीक्षण गर्ने मेसिनमा विश्वमा सबैभन्दा राम्रो गुणस्तर भएको मेसिन जडान गरिएको उनले दाबी गरे।

प्रयोगशालामा माइक्रोबाइलोजिस्ट सहितको जनशक्ति अहिले भए पनि पुग्ने जनशक्ति नभएकाले प्रदेश सरकारसँग माग गरिएको डा. कार्कीले बताए।

‘थप जनशक्ति प्रदेश सरकारले पठाउँछ’

वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोना संक्रमण बढ्दै गएकाले दोलखासहित आसपासका जिल्लाको पीसीआर परीक्षणका लागि सहज हुने भएकाले प्रयोगशाला संचालनमा ल्याएको बताइन्।

मन्त्रालयले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर तत्कालै प्रयोगशाला संचालनमा ल्याएको र अहिले न्यूनतम जनशक्ति भए पनि थप जनशक्ति प्रदेश सरकारले पठाएर प्रयोगशालालाई पूर्ण क्षमतामा संचालन गर्ने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell