PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

बालुवाटारमा ओलीले डाके स्थायी कमिटी, यस्ता छन् आजका एजेन्डा



बालुवाटारमा ओलीले डाके स्थायी कमिटी, यस्ता छन् आजका एजेन्डा

काठमाडौं : बुधवारमात्र प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो दलको स्थायी कमिटी डाकेका छन्। बालुवाटारमा बस्न लागेको स्थायी कमिटीको बैठकलाई महत्वका साथ हेरिएको छ।

१० बजेका लागि बैठक बोलाइएको भए पनि केही ढिलो गरी मात्रै सुरु हुन लागेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

उनका अनुसार बैठक राष्ट्रिय सभाको उप-निर्वाचनका विषयमा केन्द्रित हुने छ।  राष्ट्रिय सभामा माओवादी छाडेर एमालेमा लागेका गृमहन्त्री रामबहादुर थापा बादलसँग कांग्रेस, एमालेको माधकुमार नेपाल र जनता समाजपवादीको उपेन्द्र यादव समूहको साझा उम्मेद्वारका रुपमा डा. खिमलाल देवकोटा मैदानमा छन्।

बादलविरुद्ध गठबन्धन बनेपछि ओली समूहले आफ्नो रणनीति बनाउन लागेको हो। ओलीले २७ गतेका लागि संसदको विशेष अधिवेशन बोलाएर विश्वासको मत लिन लागेका छन्। विश्वासको मतका लागि ओलीले नेपाली कांग्रेसका सभापति देउवालाई गुहारेको भए पनि देउवाले भने ओलीको प्रस्तावलाई बुधवार अस्वीकार गरेका थिए।

देउवासँगको भेटमा ओलीले चुनावमा जानसमेत आग्रह गरेको बताइएको छ। एमाले स्थायी कमिटीमा विश्वासको मत लिनका लागि कसरी अघि बढ्ने भन्ने विषयमासमेत छलफल हुनेछ। यदि विश्वासको मत असफल भएमा कसरी अघि बढ्ने भन्ने विषय पनि एमालेको महत्वको विषय हो। प्रधानमन्त्री ओलीले विश्वासको मत जुट्ने संकेत नदेखिएमा २७ गतेका लागि डाकिएको संसदको विशेष अधिवेशनसमेत स्थगित गर्ने शंका राजनीतिक वृत्तमा छाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell