PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निफको उद्घाटन आज, अनुराग कश्यपले अनुभव सुनाउने



निफको उद्घाटन आज, अनुराग कश्यपले अनुभव सुनाउने

काठमाडौं: नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) २०२१ आजबाट शुरु हुँदैछ। भर्चुअल माध्यमबाट शुरु हुने निफ २७ गतेसम्म चल्नेछ।

उद्घाटनमा बलिउड निर्देशक अनुराग कश्यपले दिउँसो साढे तीनदेखि डेढ घन्टासम्म फिल्म अनुभव सेयर गर्नेछन्। महोत्सवमा प्रतिस्पर्धामा रहेका फिल्महरु नेट टिभीबाट प्रदर्शन गरिने निफका अध्यक्ष केपी पाठकले बताए।

दोस्रो दिन २४ गते 'राजनीतिज्ञको दृष्टिमा चलचित्र' विषयमा छलफल र बहस सञ्चालन हुनेछ। जसमा विजय सुब्बा, विश्वप्रकाश शर्मा, सत्या पहाडी, गंगा नारायण श्रेष्ठ बोल्नेछन्। ११ बजेदेखि डेढ घन्टा चल्ने छलफललाई राजेश थापाले सहजीकरण गर्नेछन्।

२५ गते भने दुई विषयमा छलफल हुनेछ। पहिलो सेसनमा ‘नेपाली चलचित्रमा महिलाको सहभागिता’ शीर्षकमा करिष्मा मानन्धर, दीपाश्री निरौला, रक्षा सिंह रानासँग सम्झना उप्रेती रौनियारले छलफल चलाउनेछिन्। दुई बजेपछि निर्देशक प्रताप सुब्बाले नेपाली फिल्मसँग जोडिएका अनुभव सुनाउनेछन्।

२६ गते यादव भट्टराईले ‘कोरोना पछिको चलचित्र बजार’ शीर्षकमा रेखा थापा, अशोक शर्मा, अर्जुन कुमार, मनोज अग्रवालसँग बहस गर्नेछन्। छलफल ११ बजेदेखि साढे १२ सम्म चल्नेछ। 

अन्तिम दिन २७ गते ‘कहाँ छ नेपाली चलचित्र’ शीर्षकमा निर्देशक दीपेन्द्र लामाले कृष्ण धराबासी, बबिता बस्नेत, युग पाठक, अनुभव अजित, प्रकाश भट्टराईसँग छलफल गर्नेछन्। यो छलफल १ बजेदेखि चल्नेछ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको निफको चौथो संस्करणमा नेपालबाट लाटोकोसेरो, सरिता ११ वर्ष र आमाखाण्डो फिचर फिल्म छनोटमा परेका छन्।।

विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० फिल्म प्राप्त महोत्सवमा ३१ देशका ६३ फिल्म मात्र प्रतिस्पर्धामा छनोट भएका थिए। साथै नेपालबाट थप तीन फिल्म गरी कुल ६६ फिल्म महोत्सवमा प्रदर्शन गरिने छ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्महरुलाई छुट्टै विधामा प्रतिस्पर्धामा सहभागी गराइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell