PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओली दलबलसहित देउवाको द्वारमा पुगेको भोलिपल्टै कांग्रेसको कडा विज्ञप्ति : महामारीमा सरकार सबै हिसाबले असफल



ओली दलबलसहित देउवाको द्वारमा पुगेको भोलिपल्टै कांग्रेसको कडा विज्ञप्ति : महामारीमा सरकार सबै हिसाबले असफल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ महामारी नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुढानीलकण्ठ पुगेर सभापति शेरबहादुर देउवालाई भेटेको भोलिपल्टै कांग्रेसले कडा विज्ञप्ति जारी गरेर महामारीमा मानव जीवनको रक्षा गर्न सरकार सबै हिसाबले असफल भएको आरोप लगाएको हो।

संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सरकारको चरम लापरवाही, गैर जिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको राजनीति अनिश्चित, अन्योल र संकटग्रस्त देखिएको र अर्कोतिर कोरोना महामारीको दोस्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको उल्लेख छ।

पीसीआर परीक्षण गरिएका करिब ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि हुँदा महामारीको असर व्यापक र सघन हुने प्रस्ट भए पनि सरकार महामारीविरुद्धको लडाइलाई प्रभावकारी बनाउनुको साटो सत्ताको झिनाझपटीमै अलमलिएको कांग्रेसको आरोप छ।

‘कोभिड १९ को रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतामा ढाडस होइन् सन्त्रास फैलाउन र आफ्नो जिम्मेवारीवाट भाग्ने प्रयास गर्दैछ,’ विज्ञप्तिमा भनिएको छ।

बढ्दो संक्रमण नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तह बिच समन्वय गरि आइसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको निर्माण गर्न सरकार असफल भएको विज्ञप्तिमा उल्लेख छ।

‘दिनप्रतिदिन वृद्धि भइरहेका संक्रमितहरुको उपचारका लागि आवश्यक अस्पताल बेड, आइसीयू बेड, भेन्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार, अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न समेत सरकार असफल देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीको मौका छोपेर बजारमा आवश्यक बस्तुहरूको अभाव सिजना गरि मूल्य वृद्धि र कालाबजारी गर्ने कार्यलाई रोक्न सरकारले आवश्यक पहल कदमी लिन नसकेको देखिन्छ।’

सरकारले भारतसँग सीमा जोडिएका नाकामा हेल्थ डेस्क स्थापना गरि कोरोनाको एन्टिजेन परीक्षण गर्ने गरेको दावी गरे पनि नेपाल प्रवेश गर्नेहरुमध्ये शंकास्पद व्यक्तिको मात्र एन्टिजेन परिक्षण गर्ने, होल्डिङ्ग सेन्टरमा राख्दै नराखी सम्बन्धित ठाउँ पुर्‍याउने कार्यबाट देशको कुनाकुना कोरानाको संक्रमण फैलिए पनि सबै स्थानीय तहसँगको समन्वयमा कन्ट्रयाक ट्रेसिङ्ग गर्ने काम पनि यसपटक ठप्प भएको देखिएको कांग्रेसको दाबी छ।

अघिल्लो वर्ष २०७६ सालको पुस महिनामा नै शुरू भएको कोरोना महामारीले व्यापक रूपमा जनधनमा पुर्‍याएको क्षति र मुलुकको अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई यो सरकार नजरअन्दाज गरेको, पार्टीको आन्तरिक द्वन्द्वलाई मात्र महत्व दिएर विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने , शिलान्यास र उद्घाटन को नाममा प्रधानमन्त्री आफैँ भिड जम्मा गर्न उद्धत रहेको कारण पनि कोराना संक्रमण बढाउन सरकार आफै जिम्मेवार रहेको कांग्रेसको आरोप छ। कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘सरकारको यो गैर जिम्मेवारपूर्ण रवैया, चरम लापरबाही र स्वास्थ्य असम्वेदशीलताको भर्त्सना गर्दछ।’

सरकारलाई सुझाव

महामारी नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेको कांग्रेस केही सुझावसमेत दिएको छ।

पहिलो त स्थानीय तह र प्रदेश सँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल बेड, आईसीयू बेड, आइसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको व्यवस्थापन, संचालन र अनुगमन गर्नका साथै केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई ननकोभिड अस्पतालको रुपमा विकसित गरि आवश्यक बेड, आईसीयू बेड र भेन्टिलेटरको संख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना गर्न र कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधिको यथोचित प्रबन्ध गर्न माग गरेको छ।

साथै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र संघ, प्रदेश र स्थानीय तहको समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन कांग्रेसले सुझाव दिएको छ।

महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितहरुको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाईकर्मी सहित सबै तह र तप्काका राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मीहरुको विमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न पनि माग गरेको छ।

त्यसैगरी, सीमा नाकाबाट स्वदेश भित्रिरहेका नागरिकहरुलाई अनिवार्य पीसीआर परीक्षण गर्ने, परीक्षणको नतिजा नआउन्जेल होल्डिङ्ग सेन्टरमा राख्ने व्यवस्था गर्न र संक्रमण देखिएका व्यक्तिहरुलाई स्थानीय तहको समन्वयमा आइसोलेसन केन्द्रमा राख्ने व्यवस्था गर्नका साथै सबै तहमा नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख अद्यावधिक राख्न, संक्रमितहरुको पहिचान र कन्ट्याक्ट ट्रेसिङ्ग कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।

त्यसैगरी कांग्रेसले लकडाउनका कारण रोजगार गुमाएको आम नागरिक, श्रमिक र साना व्यवसायीहरुले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउनसमेत माग गरेको छ।

संकटको बेला कोभिड १९ महामारीविरुद्ध एकबद्ध भै लड्न कांग्रेसका सबै तह र तप्कालाई संक्रमितहरुको पहिचान , उपचार र व्यवस्थापनमा खटिन आह्वान पनि गरिएको छ।

साथै, स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सामग्रीको अभावमा भोग्नुपरेको कठिनाइलाई ख्याल गर्दै सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल, सभाहल, रंगशालालाई क्वारेन्टाइन, आइसोलेसन केन्द्र र होडिङ्ग सेन्टरको रुपमा उपयोग गर्ने कार्यमा अगुवाइ गर्न तथा आवश्यकता अनुसार पार्टीकै संरचनालाई समेत सो कार्यको प्रयोजनका लागि उपयोग गर्न आवश्यक पहलकदमी गर्नसमेत आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell