PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

काठमाडौं उपत्यकामा मात्रै छन् करिब ४५ प्रतिशत सक्रिय कोरोना संक्रमित



काठमाडौं उपत्यकामा मात्रै छन् करिब ४५ प्रतिशत सक्रिय कोरोना संक्रमित

काठमाडौं: कोरोना भाइरस संक्रमणको 'चेनब्रेक' गर्न भन्दै काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको छ। जसकारण दैनिक जनजीवन ठप्पै बनेको छ। अत्यावश्यक बाहेक अन्य सेवा बन्द छन्। स्थानीय प्रशासनले निषेधाज्ञा थप कडा बनाउँदै लगेको छ।

निषेधाज्ञा लगाइएको आठ दिनमा काठमाडौं उपत्यकामा संक्रमणको दर ह्वात्तै वृद्धि भएको छ। दैनिक दुईदेखि तीन हजार संक्रमित पहिचान भइरहेका छन्।

निषेधाज्ञाको पहिलो दिन उपत्यकामा १ हजार ५६१ जनामा संक्रमण देखिएको थियो। निषेधाज्ञाको आठौं दिनसम्म पुग्दा करिब ४ हजारमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० जना कोभिड १९ संक्रमित पहिचान हुँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९९२ जनामा संक्रमण देखिएको छ। आज देशभर पहिचान भएका संक्रमितमध्ये उपत्यकामा मात्रै करिब ४४ प्रतिशतमा संक्रमण देखिएको छ।

आज काठमाडौंमा ३ हजार १६३ जनामा संक्रमण देखिँदा ललितपुरमा ५६७ र भक्तपुरमा २४२ यतिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।   

मन्त्रालयको तथ्यांक अनुसार देशभर हालसम्म ७२ हजार ५६१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा मात्रै कूल सक्रिय संक्रमितमध्ये करिब ४५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा २४ हजार ५३३ जना, ललितपुरमा ४ हजार ९७४ जना र भक्तपुरमा २ हजार ९४५ जना गरि उपत्यकामा ३२ हजार ४५२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।  

आजसम्म देशभर ३ लाख ३८ हजार ५८० जनामा संक्रमण देखिँदा  उपत्यकाका मात्रै १ लाख ७१ हजार ९९१ जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये १ लाख ३८ हजार २०५ जना निको भइसकेको मन्त्रालयले जनाएको छ।

हालसम्म काठमाडौंमा १ लाख ३६ हजार ४६७ जना, ललितपुरमा २२ हजार ६५३ जना र भक्तपुरमा १२ हजार ८७१ जनामा संक्रमण देखिएको छ।

देशभर पहिचान भएका संक्रमितमध्ये उपत्यकामा मात्रै ५० प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

संक्रमणका कारण देशभर हालसम्म ३ हजार ५२९ जनाको मृत्यु भइसकेको छ। ती मध्ये उपत्यकामा मात्रै १ हजार २०४ जना संक्रमितको मृत्यु भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell