PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रादेशिक अस्पताल जनकपुरको भेन्टिलेटर बिग्रिएपछि कोरोनाका बिरामीको अवस्था गम्भीर बन्दै



सुमित मिश्र

प्रादेशिक अस्पताल जनकपुरको भेन्टिलेटर बिग्रिएपछि कोरोनाका बिरामीको अवस्था गम्भीर बन्दै

जनकपुरधाम : महोत्तरी मटिहानीकी एक महिलालाई कोरोना संक्रमण भएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड-१९ अस्पतालमा भर्ना गरियो। बुधवार दिउँसो भर्ना भएकी ती महिलाको स्वास्थ्य अवस्था नाजुक हुँदै जान थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। तर, महिलालाई भेन्टिलेटरमा राखिएको केही घण्टा नबित्दै भेन्टिलेटर बिग्रिएको छ।

भेन्टिलेटर नै काम गर्न छोडेपछि उनको स्वास्थ्य बिग्रिदै गइरहेको उनका छोरोले बताए। उनले भेन्टिलेटरका लागि चिकित्सकहरु समक्ष हारगुहार गर्दा समेत कुनै पहल नगरिएको आरोप लगाएका छन्।

प्रादेशिक अस्पताल जनकपुरधाममा कुल ९ वटा भेन्टिलेटर रहेको कोभिड अस्पतालका संयोजक डा जामुन सिंहले जानकारी दिए। जसमध्ये ५ वटा अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारका लागि प्रयोग गर्न सकिने र बाँकी ४ वटा ट्रान्सपोर्ट भेन्टिलेटर रहेको डा सिंहले बताए।

३ वटा भेन्टिलेटर पहिलेदेखि नै बिग्रिएको र एउटा यस वर्ष कोभिड अस्पताल सञ्चालनमा आएपछि बिग्रिएको उनको भनाइ छ। बुधवार मात्रै थप एउटा भेन्टिलेटर समेत बिग्रेको छ।

भेन्टिलेटर ठीक गर्ने बायो मेकानिकहरुको कन्ट्रयाक्ट समाप्त भइसकेकाले भेन्टिलेटर ठीक पार्न समस्या भइरहेको डा सिंहले बताए। यद्यपि भेन्टिलेटर ठीक गर्नका लागि पहल भइरहेको उनको भनाइ छ।

कोभिड अस्पतालमा धनुषा र महोत्तरीका ३२ जना कोरोना संक्रमितहरु भर्ना भएका छन्। प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेश सरकारबाट नयाँ भेन्टिलेटर माग गरिएको जानकारी दिए। मेसु यादवले प्रदेश सरकारबाट भेन्टिलेटर प्राप्त भए लगत्तै प्रयोगमा ल्याइने बताए।

निजी अस्पतालहरुबाट प्रदेशिक कोभिड अस्पतालमा बिरामी आउने क्रम बढेकाले अस्पतालमा भार थपिएको मेसु यादवको भनाइ छ। डा यादवका अनुसार प्रादेशिक कोभिड अस्पतालमा ६३ बेड तयारी अवस्थामा छन्। अस्पतालमा आईसीयू १२ र ४१ बेडमा अक्सिजन उपलब्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell