भक्तपुर सूर्य विनायककी शान्ति श्रेष्ठका श्रीमानमा कोरोना भाइरसको संक्रमण देखियो। स्वास्थ्यमा समस्या देखिए पनि उनलाई घरमै आइसोलेसनमा राखियो। कारण – अस्पतालको बेहालबारे खबर र बाहिर निस्किँदाको जोखिम।
श्रीमानका लागि घरमै प्राथमिक उपचारको बाटो अपनाएकी शान्तिका लागि राहत बन्यो नीतु खड्काको फेसबुक पोस्ट।
वैशाख १९ गते, नीतुले लेखेकी थिइन् :
'म कोभिड-१९ शंकास्पद्/संक्रमितको अस्पतालमै वा घरमा पुगेर उपचार गर्न तयार छु। आवश्यक परेमा अप्ठ्यारो नमानी सम्पर्क गर्नुस्।'
उक्त पोस्ट देखेलगत्तै शान्तिले नीतुलाई सम्पर्क गरिन्। आफ्नो श्रीमानको अवस्थाबारे जानकारी दिइन्। र, उपचारका लागि सल्लाह लिइरहेकी छिन्। हाल उनको श्रीमानको अवस्थामा सुधार भएको छ। खोकीबाहेक अन्य समस्या बाँकी नरहेको सुनाउँदै नीतुलाई धन्यवाद दिइन् उनले।
भक्तपुरबाट ३ सय किलोमिटरभन्दा परको जिल्ला बाग्लुङमा बस्छिन् नीतु। तर, उनले फराकिलो बनाएकी छिन् साथ र सहयोगको सीमा। काठमाडौंबाट फोन गरेर सहयोग माग्छन्। कोही बुटवलबाट मेसेन्जरमा एक्सरे रिपोर्ट पठाउँछन्। कोही रुघा खोकी लाग्यो के यो कोरोना हो? भन्दै फोन गर्छन्। कोही संक्रमण पुष्टि भयो अब कसरी ठीक पार्ने? सोध्छन्।
जे होस् पोस्ट गरेलगत्तै उनलाई फोन र मेसेजको ओइरो नै लाग्न थाल्यो। त्यसयता आराम गर्ने फुर्सद बिरलै पाएकी छिन् उनले। वरपरकाले त घरमै डाक्छन्। उनी अबेर नगरी पुगिहाल्छिन्। किनकि मानिसलाई प्रत्यक्ष भेटेर कुरा गर्दा संक्रमणबारे डर केही कम हुने, मनोवैज्ञानिक असर कम गर्ने बुझेकी छिन् उनले।
समुदायमा संक्रमण फैलिएको छ। संक्रमणसँगै फैलिएको छ त्रास। त्यहाँका स्थानीय कसैको फोन आए कुद्दै जान्छिन्, बिरामीको अवस्था हेर्छिन्। आवश्यकता अनुसार औषधी वा प्राथमिक उपचार सुझाउँछिन्। कतिलाई सोझै कोभिड-१९ परीक्षणका लागि पनि पठाएकी छिन् उनले। तर, बढी जोड मनोसामाजिक परामर्शमा दिएकी छिन्।
'मान्छेसँग मान्छे डराउने अवस्था छ। यस्तोमा संक्रमणको लक्षण देखिएका वा संक्रमितको नजिकै गएर – सबैकुरा ठीक हुन्छ भन्न सके उहाँहरूको मनोविज्ञान बलियो बन्छ,' नीतुले भनिन्।
परामर्श र स्वास्थ्य सतर्कतासँगै के खाने? कस्ता व्यायम गर्ने? लगायत सन्देश बोकेर घरघर पुग्छिन् उनी। यसरी समुदायस्तरमा काम गर्दा धेरै बिरामी घरमै सतर्क रहने र अस्पताल एवं अन्य स्वास्थ्य संस्थामा पनि चाप कम हुने महसुस उनले गरेकी छिन्।
'कोरोना प्राणघातक होइन। सतर्क रहनसके संक्रमण नहुने र भइहाले पनि कसरी यसबाट मुक्त हुन सकिन्छ भन्ने कुरा बुझाउनु मेरो उद्देश्य हो,' उनले भनिन्, 'जटिल बनेको केसहरूमा त अस्पताल जान सुझाउँदै आएकी छु।'
अस्पताल धाउनैपर्ने अवस्थामा रहेकाहरूलाई स्थानीय तहको समन्वयमा धौलागिरी अञ्चल अस्पतालसम्म पुर्याउन पहल गर्दै आएकी छिन् उनले।
+++
गुणराज पाठक मेमोरियल नर्सिङ कलेजबाट पीसीएल नर्सिङ गरेकी हुन् नीतुले। होप इन्टरनेसनल कलेजबाट बीएन। नर्सिङसँग जोडिएका थिए उनका रहरहरू पनि। पढ्ने अनि नामी अस्पतालमा काम गर्ने। तर, कलेज पढ्दाताका देखेको एउटा घटनाले उनको बाटो मोडिदियो।
सन् २०१८ मा कलेजबाट एक सर्भेका लागि ललितपुरको कुनै बस्तीमा पुगिन् उनी। बारीमा काम गरिरहेकी स्थानीय महिलासँग कुराकानी गर्दै थिए उनीहरू। अचानक ती महिलाको खुट्टामा लाग्यो हातमा खेलाइ रहेको कुटोले। गहिरो चोट लाग्यो, रगत बग्न थाल्यो। उनले त काटेको घाउमा माटो हालिन्। समय नलगाइ धोतीको फेर च्यातिन् र बाँधिन्। नीतुहरूले सहयोग गर्न खोज्दा भनिन् – खुट्टा छुनु हुन्न। पाप लाग्छ। माटो हालेको छु, ठीक हुन्छ।
चोकचोकमा अस्पताल, क्लिनिक र मेडिकल भएको उपत्यका। यहीँ भित्रको त्यस बस्तीकी महिलाको चेत देख्दा छक्क परिन् उनी। सोचिन् – काठमाडौंबाट पर मेरो आफ्नो गाउँमा कस्तो होला अवस्था? जहाँ चार पाँच वटा वडाका लागि एउटा स्वास्थ्य चौकी छ। एउटा सिटामोल खान घण्टौं हिँड्न बाध्य छ बिरामी।
त्यतिबेला उनले प्रण गरिन् – कामको सुरुवात आफ्नो ठाउँमा प्राथमिक उपचारबारे सबैलाई बुझाएर गर्छु।
वेलनेस टिम नामक संस्था स्थापना गरेरै प्राथमिक उपचारबारे सचेतना अभियान सुरु गरिन् उनले। हरेक घरमा प्राथमिक उपचारको बाकस (फस्ट एड बक्स) अनिवार्य बनाउनु र त्यसको प्रयोगबारे सचेत गराउनु उनको मूल उद्देश्य थियो। सोही अनुरुप काम सुरु कार्यक्रमहरू आयोजना गरिन्।
प्राथमिक उपचारका लागि आवश्यक सामाग्री सहितको बाकस बनाइन्। बजारमा खर्च हुनेभन्दा कम मूल्यमा उपलब्ध गराइन्। डाक्टरको 'प्रेस्किप्सन'बिना प्रयोग गर्न सकिने औषधीको प्रयोग कसरी गर्ने? तालिम दिइन्।
घरघरमा सँगै लामो दूरीमा चल्ने बसहरू पनि समेटिन् उनले अभियानमा। धौलागिरी बस व्यवसायी समिति र बागलुङ भगवती बस व्यवसायी समितिसँगको समन्वयनमा बसहरूमा प्राथमिक उपचारको बाकस र औषधीलगायत सामाग्री प्रयोगबारे सिकाइन्।
यसरी समुदायस्तरमा प्राथमिक उपचारको अवस्था सुधार्न काम गरिरहेकी थिइन्। कोभिड-१९ को महामारी फैलियो। थाती राखिन् सचेतनाका काम अनि जोडिइन् कोरोनाविरुद्धको लडाइमा।
+++
ताराखोला गाउँपालिकामा कोभिड-१९ संक्रमित उपचारका लागि विशेष अस्पताल बनाइयो। गत वर्षदेखि त्यहीँ काम गर्न थालिन् नीतुले। त्यतिखेर बागलुङमा संक्रमितको संख्या बढ्दो थियो। अनि, अस्पतालमा जनशक्ति अभाव।
'जसरी हुन्छ समुदायप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्नु थियो। आवश्यकता अस्पतालमा थियो त्यसैले काम सुरु गरेँ। डर थियो। तर, मेरो पेशाले रोगसँग कहाँ डराउन दिन्थ्यो र?,' उनले अनुभव सुनाइन्।
संक्रमण दर घट्दै गयो। आम मानिस दैनिक क्रियाकलाप, यात्राहरूमा फर्किन थाले। सुनिन थाल्यो दुर्घटनाका खबरहरू। त्यसैले उनले पुन: आफ्नो अभियानलाई निरन्तरता दिने योजना बनाइन्। र, दुई महिनाअघि छाडिन्, कोभिड-१९ विशेष अस्पतालको काम।
'महामारी यसरी फर्किँन्छ भन्ने कहाँ अनुमान गरियो र? फेरि संक्रमण यसरी फैलिएको छ। अस्पतालमा जनशक्ति अभाव भएको खण्डमा म फेरि काममा फर्कन तयार छु,' उनले सुनाइन्, 'तर हालसम्म अस्पताल जानेले उपचार पाइरहेका छन्। बरु घरमा बस्नेहरू पो आत्तिएका छन्। उनीहरूमा डर र चिन्ता बढेको छ।'
उनी औषधीसँगै सुझाव र परामर्शले ठीक हुने समस्याहरू सुल्झाउन निस्किएकी हुन्।
'आत्मविश्वास जाग्छ र यो सबै गरिरहेको छु। संक्रमितको छेउमा जाँदा थोरै डर त हुन्छ नै तर आफैलाई सम्झाउँछु – मै डराए मेरो उद्देश्य कसरी पूरा हुन्छ,' उनी भन्छिन्, 'सुरक्षा उपकरणले जोगाइहाल्छ नि भनेर मन बुझाउँछु।'
आफू निकै सतर्क भएकै कारण हालसम्म आफूमा संक्रमण नदेखिएको बताउँछिन् उनी। शारीरिक र मानसिक स्वास्थ्य सबैको सबल रहोस् भनेरै लागिपरेको उनको कथन छ।
आजकाल उनी बागलुङ वरपर भेटिन्छिन् सुरक्षा उपकरणसहित। मास्क, पन्जा, सर्जिकल क्याप र जुत्ता त सजिलै उपलब्ध छ। पीपीई चाहिँ सहजै उपलब्ध नभएको र भए पनि महङ्गो भएको बताउँछिन् उनी। त्यसैले आफैँ प्लास्टिकको गाउन बनाएर लगाएकी छिन्। पेशागत् जिम्मेवारी त निभाएकी छिन् नै साथै मानवता मरिसकेको छैन भन्ने पुष्टि गरिरहेकी छिन्।
आफू सुरक्षित रहने र अरुलाई सुरक्षाको उपाय दिने उनको यस अभियानमा साथ छ परिवारको। जसले छोरीलाई केही भइहाल्छ कि? भन्ने प्रश्न गरेका छैनन्। बरु भनेका छन् – आफूले सक्दो गर्नु। त्यसैले त हरेक पटक कोही संक्रमणमुक्त भएपछि आउने 'धन्यवाद' सन्देशले नीतुको मुहारमा सँगै उनको घरमा पनि खुशी छाउँछ।
'ठूलो रोगको उपचार गर्न नसकुँला। ठूला समस्याको समाधान मसँग नहोला। तर, शरीर र मनमा लाग्ने स-साना घाउ ठीक पार्न त सक्छु नि। सानो प्रयासले दिने अथाह खुशीका लागि हो म जोखिम मोलेर लागि परेको,' उनले सुनाइन्, 'जबसम्म सक्छु गरिरहन्छु।'