PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु, थपिए १३८ जना संक्रमित



वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु, थपिए १३८ जना संक्रमित
FILE PHOTO

वीरगंज : वीरगंजमा थप ५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

बिहीवार साँझदेखि शुक्रवार बिहान सम्म ३ जनाको वीरगंज हेल्थकेयर अस्पताल र २ जनाको नेशनल मेडिकल कलेज अस्पतालको बाबा होटलमा संचालनमा रहेको अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो।

नेशनल मेडिकल कलेजको बाबा होटलको कोभिड अस्पतालमा पर्सा,बहुदरमाई नगरपालिकाका ४० वर्षीय पुरुषको मृत्यु भएको छ। बैशाख १३ गते पीसीआर पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको बिहीवार साँझ साढे ५ बजे उपचारको क्रममा मृत्यु भएको थियो। यस्तै, वीरगंज २८ बगहीका ६१ वर्षीय पुरुषको सोही कोभिड अस्पतालमा साँझ ६ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनय श्रीवास्तवले जानकारी दिए। यस्तै, बगहीका वृद्धको २३ गते पीसीआर पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भएका थिए।

त्यसैगरी, वीरगंज गण्डकस्थित वीरगंज हेल्थ केयर अस्पतालमा मृत्यु हुनेमा वीरगंज ११ का ५४ वर्षका दुई जना पुरुष रहेका छन्। एक जनाको मृत्यु हिजो साँझ ६ बजे भएको थियो भने एक जनाको शुक्रवार विहान ७ बजे मृत्यु भएको हो। मृतक मध्ये एकजना बैशाख १८ गते पीसीआर परिक्षणबाट कोभिड १९ पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए। साथै अर्का ५४ वर्षीय पुरुष को २३ गते एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए।

पर्साको कालिकामाई गाउँपालिका २ का ५५ वर्षीय पुरुषको पनि उपचारको क्रममा वीरगंज हेल्थ केयर अस्पतालमा शुक्रवार विहान ८ बजे मृत्यु भएको छ। बैशाख २२ गते एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनी अस्पताल भर्ना भएका थिए।

यससँगै वीरगंजमा हाल सम्म दोस्रो चरणको कोरोनामा पर्सा,बारा,रौतहट,सर्लाही र एक भारतीय गरी ५४ जनाको मृत्यु भइसकेको छ।

१३८ जना थपिए संक्रमित

नारायणी अस्पताल वीरगंजको पीसीआर प्रयोगशालामा गरिएको बिहीवारको परिक्षण अनुसार थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका कोभिड फोकल पर्सन डा. सरोज रोशन दासका अनुसार १९२ जनाको परिक्षणबाट ११९ जना पिसिआर पोजेटिभ र १९ जना एन्टीजीन पोजेटिभ देखिएको हो। जसमा पर्साका १०८, बाराका २१, सर्लाहीका ३, रौतहटका ४ , महोत्तरीका २ जना रहेका छन्। जसमा ९६ जना पुरुष र ४३ जना महिला रहेका छन्। ९ वर्षदेखि ८२ वर्ष उमेर समुहका गरि १३८ जनाको सिटि भ्यालु १४ दशमलव १ देखि ३५ सम्म रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell